१२ वैशाख २०८३ शनिबार
image/svg+xml
राजनीति

नागरिक नायक सुशीला

नागरिक दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियाले ‘नागरिक नायक–२०८३’ सम्मान पूर्वप्रधानमन्त्री सुशीला कार्कीलाई प्रदान गरेको छ। मिडियाले १८ वर्ष प्रवेशका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा पूर्वप्रधानमन्त्री कार्कीलाई नागरिक नायक सम्मान प्रदान गरिएको हो। मिडियाकी अध्यक्ष शोभा ज्ञवालीले कार्कीलाई नागरिक नायक सम्मान प्रदान गरेकी हुन्। मिडियाले हरेक वार्षिकोत्सवमा नागरिक सम्मान प्रदान गर्दै आएको छ।

२००४ साल भदौ १३ गते मोरङको शंखरापुरमा जन्मिएकी कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश र प्रधानमन्त्री हुन्।

कार्की कानुन र राजनीतिशास्तमा स्नातककोत्तर हुन्। २०४८ सालमा अधिवक्ताको रुपमा कानुन व्यवसायमा प्रवेश गरेकी कार्की २०७३ वैशाख ११ गते नेपालको पहिलो प्रधान न्यायाधीशमा नियुक्त भएकी थिइन्। निडर, निष्पक्ष र हक्की स्वभावकी कार्कीलाई भ्रष्टाचार विरोधी अभियन्ताका रूपमा पनि चिनिन्छ। उनी जेनजी आन्दोलनपछि प्रधानमन्त्री नियुक्त भएकी हुन्। कार्की नेतृत्वको सरकारले गत फागुनमा प्रतिनिधिसभा सदस्यको चुनाव गराएको थियो।

नागरिक नायक सम्ममान कार्यक्रममा कार्कीले प्रधानमन्त्रीका रुपमा आफूलाई धेरै धम्की आए पनि चुनाव गराएरै छाडेको बताइन्। कार्कीले माथिल्लो तहमा रहेका व्यक्तिले भ्रष्टाचार नगरे देशमा भ्रष्टाचार रोकिने पनि बताइन्। आफू कुर्सीमा रहेका बेला भ्रष्टाचार कसरी हुन्छ भन्ने देखेको भन्दै नेतृत्वले भ्रष्टाचार नगरे त्यो रोकिने उनको विश्वास छ। कुनै पनि पदमा पैसा नदिईकन नियुक्ति पाइन्छ भनेर मान्छेले विश्वास गर्न छाडेको भन्दै उनले हरेक क्षेत्रमा भ्रष्टाचार हुने गरेको सुनाइन्। आफू कार्यकारी नेतृत्वमा पुगेपछि भ्रष्टाचारको जालोबारे थाहा भएको उनको भनाइ थियो।

उनले भनिन्, ‘तर घुस खाएर अथाह कमाएर के गर्नुहुन्छ? यसले भविष्य राम्रो हुँदैन। त्यसैले रोक्न आवश्यक छ।’

परिवर्तन र महिला सशक्तीकरणमा पनि धारणा राखेकी उनले वर्तमान सरकारबारे अहिले नै धारणा नबनाउने पनि बताइन्।

कार्यक्रममा नेपाल रिपब्लिक मिडियाकी अध्यक्ष शोभा ज्ञवालीले मिडिया केबल सूचना दिने माध्यममात्रै नभएको बताइन्। उनले मिडिया समाज निर्माण गर्ने शक्ति भएकाले यसले जनताको आवाजलाई बलियो बनाउनुपर्नेमा जोड दिइन्।

समाचार दिनु मात्रै नभई सचेत समाज निर्माण गर्नु पनि मिडियाको काम भएको उनले बताइन्। नेपाल रिपब्लिक मिडियाको १७औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा विशेष कार्यक्रम गरिएको हो। कार्यक्रममा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले समाज रुपान्तरणका विषयमा धारणा राखेका थिए।  

 

प्रकाशित: १२ वैशाख २०८३ ०७:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App