नेपाली साहित्य, संस्कृति र वैचारिक फाँटका स्थापित प्रतिभा अमर गिरी मूलतः कवि व्यक्तित्व हुन्। हालै उनको रातमा कलम (२०८२) नामक छैटौं कविता कृति बेला पब्लिकेसन्सबाट प्रकाशित छ। यसमा ६७ ओटा कविताहरू सङ्ग्रृहीत छन् । यस सङ्ग्रहभित्रको एक कविता ‘रातमा कलम’बाट कृतिको मूल नामकरण गरिएको छ। ‘हिँडिरहेका मानिस र उडिरहेका चरा’ शीर्षकको कविताबाट आरम्भ भई ‘गाह्रो छ भन्न’ नामको कवितामा सङ्ग्रहलाई समापन गरिएको छ। यस कृतिमा समेटिएका कविताहरूमा यस्तै जीवन र प्रकृति बोध भएका आकर्षक, सार्थक र व्यङ्ग्यात्मक कोटिका प्रतीक र विम्बहरूको सुन्दर प्रयोग गरिएका छन्। शीर्षक चयन र कविताभित्र दुवैमा गिरीले साहित्यानुरागीको मन जित्ने काव्य शिल्पमा आलङ्कारिकता प्रस्तुत गरेका छन्। यसर्थ जीवन र जगत्को भाव, विचार र चिन्तन सम्प्रेष्य हुने गरी लाक्षणिक, व्यञ्जनात्मक स्वरूपको कवित्व कौशल यस कृतिको विशेष अभिव्यञ्जना बनेको छ।
‘हिँडिरहेका मानिस र उडिरहेका चरा’मा गतिशील जीवनको सकारात्मक चिन्तनका साथै बालमनोभावको सौन्दर्य चेतना व्यक्त भएको छ। ‘रातमा कलम’ शीर्षक रचनाले कविहृदयको विलक्षण प्रतिभा खन्याएको छ। सुख र दुःखको भावलाई काव्यमा चित्रण गर्दा कविमन आनन्दित बन्ने भन्दै संसारलाई उज्यालो पार्ने अक्षरहरू कोरिरहने चिन्तन यस कवितामा प्रकट भएको छ।
‘पुस्तक र स्त्री’मा नारी जीवनको असीम सौन्दर्य र उत्तिकै जीवन सङ्घर्षलाई सम्बोधन गरिएको छ। ‘भिन्नता’मा सफल राजनीतिज्ञ र किसानको तुलनात्मक मूल्य बोध गर्दा किसान वर्गमा देखिएको सार्थक कर्मवादी जीवनको रूपरेखालाई प्रतिविम्बन गरिएको छ । ‘ठेला’मा श्रमिक वर्गको अथाह लगनशीलताबाट यो संसार सुन्दर र सफल बनेको विचार व्यक्त भएको छ। ‘नदी र म’मा जीवनलाई गतिशील नदीको विम्बसित दाँज्ने प्रयास भएको छ। ‘मातृभाषा’मा मौलिक अस्तित्व रहने मातृभाषा र हृदयको मूल द्वार एकै भएकाले लेखकले यसको उपयोग गर्न सक्नुपर्ने धारणा प्रकट गरिएको छ। ‘सत्ताको वर्णमाला’मा कवि र सत्ताको चिन्तन फरक रहने आलोचनात्मक चिन्तन प्रस्तुत भएको छ। ‘नजिक भएर पनि’मा आज मानिस नजिक भएर पनि टाढा भएकोजस्तो परिवेश बनेकाले यसले मानव सम्बन्धमा पारेको प्रभावको सम्बोधन गरिएको छ। ‘न्याय’ शीर्षक कवितामा समकालीन न्यायशास्त्र र मानिसले याचना गरिरहेको न्यायिक भावलाई उतार्ने कोसिस गरिएको छ । ‘एकान्त’मा एकान्तपनको प्रतीकमा कविले मनोवादको महŒवलाई झल्काएका छन् । ‘दृश्य’मा व्यर्थताभित्र अर्थ खोजिरहेका मानिसका भावलाई साक्ष्य बनाउँदै निरर्थक नेतृत्वप्रति व्यङ्ग्य गरिएको छ । ‘स्मृति’मा मातृत्व प्रेमको विशाल भाव गहिराइमा ऊर्जाशील बनाउने स्मरण रहेको अनुभूतिलाई व्यक्त गरिएको छ । ‘जीवनको थुम्कोबाट’मा कविको बाल्य जीवनको स्मृतिसँगै वैचारिक जीवन चेतनासम्मको सौन्दर्य व्यक्त भएको छ। ‘लय’मा प्रकृति लयमा लम्किरहेका बेला मानिसले आफ्नो गति र मति हराएको हो कि भनेर व्यङ्ग्य प्रश्न तेस्र्याइएको छ। ‘वृक्षहरू छन् र त’मा वृक्ष र जीवनका अमिट सम्बन्धमाथि प्रकाश पारिएको छ । ‘कालीगण्डकी’मा पर्यावरणीय चिन्तनलाई केन्द्रीय भाव बनाई स्रष्टाहरूलाई जागरुक बन्न र कालीगण्डकीजस्तै उत्पीडित वर्गको मुक्तिमा सामेल हुन आह्वान गरिएको छ।
अमर गिरीको रातमा कलम कविता कृतिमा मानव जगत् र प्रकृतिका भाव संवेदनालाई विभिन्न दृष्टान्तमा चित्रण गरिएको छ। ‘हे राम’मा वाल्मीकिको काव्य सिर्जनाको ऐतिहासिक चेतना र अन्य साहित्यकारहरूको सन्दर्भमाथि सम्बोधन गरिएको छ।
‘तुइन’ मा विकास हुन नसकेको जीर्ण अवस्थाको बोध, ‘एउटा मजदुरको डायरी’मा सर्वहारा वर्गीय उत्पीडनको चित्रण, ‘दियो निभेपछि’मा आत्मविश्वास र सामथ्र्यको नाजुकताको चित्रण, ‘दुःखदायी’मा विचारहीन हुनुको निरर्थक जीवनबोध, ‘प्रेम–१’मा प्रेमको महत्त्व, ‘प्रेम–२’मा काल्पनिक र सैद्धान्तिक प्रेमभन्दा जीवनको व्यावहारिकता आवश्यक रहेको भाव, ‘सौन्दर्य’मा समानता र समताको विचार, ‘रङहरू भर्न’मा कविले जीवन र जगत्को चित्र कोर्ने स्वाभिमानी चेतनाको सन्दर्भ, ‘मभित्र’मा कविता हृदयको कोमल सङ्गीत रहेको धारणा, ‘जीवनको तार’मा मनोवस्थाको विश्लेषणात्मक चिन्तन, ‘आँखा’मा विपन्नताको चित्रण, ‘बजार’मा उपभोक्तावादी चरित्रको समकालीनताप्रति व्यङ्ग्य प्रहार, ‘के निरर्थक छ मेरो डर’मा परिवर्तनप्रतिको निष्ठा भाव, ‘इतिहासले बनाएको घाउ’मा पुर्खादेखिको ऐतिहासिक योगदान एवम् मानव सङ्घर्षको सन्दर्भ, ‘साधारण सपना’मा वर्ग चिन्तन र विपन्नतामाथि गरिएको दमनप्रति आलोचना, ‘आश्वासनको हरितगृह’मा समकालीन राजनीतिक विकृति र बेथितिप्रति कटाक्ष, ‘एउटा क्रियाका नाममा’मा ठगाइका अनेक रूपहरूको वर्णन, ‘जूनमाया’मा निम्नवर्गीय उत्पीडनको आलोेचनात्मक स्वर, ‘झुटहरूका बिचमा’मा झुटको समाजशास्त्रको व्यङ्ग्यात्मक चित्रण, ‘बग्गीखोला’मा आञ्चलिक भावबोेध र परिश्रमी वर्गको चित्रण, ‘सपनामा बुद्ध’मा बुद्धदर्शनको सकारात्मक सौन्दर्य चिन्तन, ‘चक्र’मा हट्न नसकेको अन्यायको प्रतीकात्मक व्यङ्ग्य, ‘शब्दशाला’मा आलोचना र सकारात्मकताको सन्तुलित भाव बोध, ‘प्रश्न’मा राजनीतिक वृत्त सिद्धान्तहीन बनेको सन्दर्भ, ‘दुःख’मा कवि तथा स्रष्टाको विडम्वना भाव, ‘भेटिने छु म’मा कीर्तिशेषपछि कीर्ति रहने कल्पना, ‘एक साँझ’मा मार्मिक संस्मरण भावको चित्रण, ‘अनुभूति’मा वृक्षको विम्बमा मानवीय आशा र निराशाको भावबोध, ‘मसँग रहन देऊ’मा दुःखको भाव व्यापार गर्ने क्रियाविरोधी व्यङ्ग्य, ‘अनुपम’मा साधारण र विशिष्टताको तुल्य बोध, ‘विरोधाभास’मा सामूहिकताको मूल्यवत्ता, ‘बाटो’मा परिवर्तनकामी जीवनदर्शन, ‘साना साना’मा साना वस्तु र क्रियाको महान् योगदान रहने विचार, ‘वषौंपछि’मा मनोवैज्ञानिक अनुभूतिको विशेष संरचना, ‘रातो गुलाफ’मा रातो गुलाफलाई अविरल क्रान्तिकारी विचारको प्रतीक, ‘शासक’मा सत्ताको प्रशंसा मन पराउने तर आलोचना नसुन्ने प्रवृत्ति, ‘मुचुल्का’मा सर्वहारावर्गीय जीवनको कठोर गरिबीले आत्महत्यामा पु¥याएको सन्दर्भ, ‘अनुभव’मा ग्रामीण सौन्दर्यचेतना, ‘चरैवेति’मा साहित्य सृजननाको अविश्राम यात्रा, ‘आगो’मा जिजीविषाको भाव, ‘इ्रन्द्रेणी’मा प्रकृतिको मानवीकरण र मानवको प्रकृतीकरणको सम्बन्धसूत्र, ‘पाठ’मा क्रान्तिसौन्दर्य, ‘अहङ्कारकी देवी’मा हिंसा एवम् युद्धविरोधी चिन्तन, ‘रातमा दियालो’मा उज्यालोका निम्ति गरिएका पुर्खाको सङ्घर्षशील गाथाको चर्चा, ‘टुकी र जिन्दगी’मा गरिबीमै बितेको समाजको संस्मरण, ‘सन्चो छैन कविजी’मा कोरोना र राज्यहीन राज्यसत्ताको विषयबोध, ‘कहाँ हेरौँ’मा गरिबीको उत्पीडन, ‘गाह्रो छ भन्न’मा विश्वका विपन्नता र विलासमय युद्धप्रतिको कटाक्ष जस्ता विषय, भाव, विचार, आलोचनात्मक दृष्टिकोण, जीवन र जगत्माथि ध्वन्यात्मक अभिव्यक्ति रहेका छन्।
अमर गिरीको ‘रातमा कलम’ कविता सङ्ग्रहका कविताहरूमा गहिरो जीवन चेतना प्रस्तुत भएको छ । समसामयिक जीवन बोधलाई कवि गिरीले आलोचनात्मक दृष्टिले नियालेका छन्। जीवन र जगत्को कुरूपताविरोधी चिन्तन र सकारात्मक पक्षहरूको प्रशंसापरक काव्यिक चित्रण यस कृतिको मूल अभिव्यक्ति हो । समकालीन साथै अतीतको तितो र मिठो जीवनको स्मृतिका विम्बहरू पनि प्रकट भएका छन्। प्रगतिशील र प्रगतिवादी सौन्दर्य चेतनाको वैचारिक, दार्शनिक पृष्ठपोषणमा रहेर मानवीय क्रियाकलापको अवलोकन गर्ने कविहृदयको उद्घाटन यस कृतिमा गरिएको छ। कविको प्रतिपक्षीय कर्तव्यबोधले राज्यका अन्याय, अत्याचारप्रति असन्तोष, आक्रोश, आलोचना र त्यसको परिवर्तन निम्ति सन्देशात्मक विचार प्रस्तुत भएको छ।
यस कृतिमा सामाजिक, सांस्कृतिक, राजनीतिक विभेद र विसङ्गतिमाथि प्रतीकात्मक दृष्टिमा प्रहार गरिएको छ । जीवन चेतनाको गहिरो स्पर्श र मानवतावादी संसारको निर्माणमा केन्द्रित हुनु नै कवि गिरीको विषय चयन रहेको छ। आलोचनात्मक यथार्थमा रहँदै परिवर्तनको स्वरलाई उन्मुख गराउनु र शोषणमूलक अवस्थामाथि व्यङ्ग्य प्रहार गरी उन्नतिको यात्रामा अभिमुख गराउनु उनको कवितात्मक सोद्देश्य देखिन्छ।
सरल भाषाशैलीको चयन, सुबोध प्रस्तुति उनको शिल्पगत चयन हो। यस कृतिमा मुक्त लयात्मक विषम आवृत्तियुक्त कविताहरू प्रतीकात्मक, विम्बात्मक लालित्ययुक्त भएर प्रस्तुत भएका छन्। समकालीन मानवजीवन र मूलतः नेपाली समाजको उज्यालो अँध्यारो पक्षमाथि सूक्ष्म र स्थूल दृष्टिले सौन्दर्यात्मक चित्रण गरिएको ‘रातमा कलम’ कविता सङ्ग्रह साहित्यानुरागी जगत्का निम्ति सुन्दर सिर्जनाका रूपमा प्रस्तुत भएको छ।
प्रकाशित: १२ वैशाख २०८३ ०७:३१ शनिबार





