मोफसलमै बसेर निरन्तर साहित्य सिर्जनामा सक्रिय युवा कवि जीवन चामलिङ राई ‘आरोही’लाई ‘मनमोहन स्मृति प्रतिष्ठान’ले नगदसहित सम्मान गरेको छ।
प्रतिष्ठानले वैशाख १३ गते शनिबार काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रव्यापी खुला कविता प्रतियोगिता ०८३’मा प्रथम हुँदै आरोहीले ‘मनमोहन स्मृति सम्मान’ प्राप्त गरेका हुन्।
‘मनमोहनका सपना’ शीर्षकको कविता वाचन गर्दै उनले अन्य २९ प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल गरेका थिए। प्रथम भएसँगै उनले नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्राप्त गरेका छन्।
प्रतियोगितामा लमजुङकी गोमा श्रेष्ठ दोस्रो तथा तनहुँका नरोत्तम श्रेष्ठ तेस्रो भएका छन्। दोस्रो र तेस्रो हुने स्रष्टालाई क्रमशः ३० हजार र २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ।
प्रतियोगिताका लागि प्रतिष्ठानले तीन सदस्यीय निर्णायक मण्डल गठन गरी देशभरका सर्जकबाट साहित्यिक रचना आह्वान गरेको थियो। प्राप्त सिर्जनामध्ये उत्कृष्ट ३० रचना छनोट गरी सर्जकलाई काठमाडौं बोलाएर वाचन प्रतियोगिता गराइएको थियो।
निर्णायक मण्डलमा प्राध्यापक डा. जगतप्रसाद उपाध्याय, कवि रामबाबु सुवेदी र डा. वीरेन्द्र शर्मा रहेका थिए।
उदयपुरको रौतामाई गाउँपालिका–५ रसुवाका ३३ वर्षीय अविवाहित कवि आरोही यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक प्रतियोगितामा कविता विधातर्फ पुरस्कार तथा उपाधिबाट सम्मानित भइसकेका छन्।
प्रकाशित: १३ वैशाख २०८३ २१:५७ आइतबार





