इरानी विदेशमन्त्री अब्बास अराघची शुक्रबार साँझ पाकिस्तानको राजधानी इस्लामाबाद पुगेका छन्।
उनले शनिबार पाकिस्तानी सेना प्रमुख असिम मुनीर र विदेशमन्त्री मोहम्मद इशाक डारसँग छुट्टाछुट्टै वार्ता गर्नेछन्। यो भेटघाटलाई अमेरिका र इरानबिच हुन सक्ने सम्भावित वार्ताको तयारीका रूपमा हेरिएको छ।
यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुशनर पनि पाकिस्तानतर्फ प्रस्थान गरेका छन्। पाकिस्तानले यस मामिलामा मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ र यो बैठकपछि दुई देशबिच दोस्रो चरणको वार्ताको बाटो खुल्ने आशा गरिएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले भने, ‘इरान र अमेरिकाबिच कुनै प्रत्यक्ष भेटघाटको तालिका बनाइएको छैन, पाकिस्तानले दुई देशबिच सन्देश प्रवाहको माध्यमका रूपमा काम गर्नेछ।’
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको ‘आणविक धुलो’ अर्थात् ६० प्रतिशत प्रसोधित युरेनियमको भण्डार जफत गर्ने योजना बनाएका छन्। इस्फहान र फोर्डो जस्ता स्थलहरूमा रहेको करिब ४४० किलोग्राम प्रसोधित युरेनियम पत्ता लगाउनु र जफत गर्नु सैन्य तथा प्राविधिक रूपमा चुनौतीपूर्ण मानिन्छ। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले भनिन्, ‘हामी इरानीहरूको कुरा सुन्न चाहन्छौं।’ यदि वार्तामा ठोस प्रगति भएमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि इस्लामाबाद जाने सम्भावना छ।
जर्मन चान्सलर फ्रेडरिक मर्जले युद्ध अन्त्य गर्ने सम्झौता भएमा इरानमाथिको प्रतिबन्ध खुकुलो पार्न सकिने संकेत गरेका छन्। अर्कोतर्फ, अमेरिकाले इरानी तेल ढुवानी गर्ने ४० वटा कम्पनी र चिनियाँ तेल प्रशोधन केन्द्रमाथि नयाँ प्रतिबन्ध लगाएको छ। इरानी विदेशमन्त्री अराघाचीले पाकिस्तानपछि रूस र ओमानको भ्रमण गर्ने कार्यक्रम छ।
लेबनानमा तीन हप्ताका लागि युद्धविराम बढाइए पनि इजरायली आक्रमण रोकिएको छैन। शुक्रबार दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने गाजामा १२ जना प्यालेस्टिनी मारिएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्ना सेनालाई ‘कार्य गर्ने पूर्ण स्वतन्त्रता’ रहेको बताएका छन्।
इरानले वार्ताका लागि आफ्ना सर्तहरूको सम्मान हुनुपर्ने अडान राखेको छ। विज्ञका अनुसार दुवै पक्षले ‘अधिकतम दबाब’ को रणनीति छोडेर बिचको बाटो नअपनाएसम्म स्थायी सम्झौता हुन कठिन देखिन्छ। एजेन्सी
प्रकाशित: १२ वैशाख २०८३ ०६:५६ शनिबार





