coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गाउँमै अस्पताल हुँदा आयु बढ्ने रहेछ

९६ वर्षिया वृद्धाले कोरोना जितेपछि भत्ताको पैसा सहयोग गरिन्

म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामकी इनरुपी देवी पुन कोरोनामुक्त भएपछि विदाई गरिदैं । तस्बिरः हरिकृष्ण गौतमरनागरिक

उमेरले सतक नजिक पुगेकी म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामकी इनरुपी देवी पुन कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा बसिन् । कोरोना संक्रमणले स्वासप्रश्वास, ज्वरो लगायतका समस्या देखिएपछि पिप्लेमा रहेको गाउँपालिकाको कोरोना अस्पतालमा पुग्दा ९६ वर्षिया पुनको अवस्था निकै गम्भिर थियो ।

शरीरमा अक्सिजनको मात्रा ६६ प्रतिशतमा झरेको र अन्य जटिलता पनि उत्तिकै थियो । वृद्धा पुनको शरीरमा अक्सिजनको मात्रा घटिरहेको अवस्थामा डा.सन्तोष प्रसाद बोहराले तत्कालै हाइफ्लो अक्सिजन दिदैं अक्सिजनको मात्रा अझै घट्न सक्ने भएकाले निगरानी र निश्चित उपचारमा आवश्यक सबै तयारी गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिए । अस्पताल भर्ना भएको ७ दिनपछि अक्सिजनको तह ९० प्रतिशतबाट उकालो लागेसँगै पुनको स्वास्थ्यमा क्रमिक सुधार हुदैं गयो ।

आइतबार कोरोना संक्रमणमुक्त भएपछि खुसी हुदैं उनी घर मात्रै फर्किएनन् आफुले पाएको सामाजिक सुरक्षा भत्ता बापतको सातहजार रुपैयाँ नगद समेत अरु संक्रमतिलाई निशुल्क भोजन खुवाइरहेकालाई सहयोग गरिन् । गाउँकै अस्पतालमा कोरोनालाई जितेपछि वृद्धा पुनका छोरा खिमबहादुरले आफु बेरोजगार भएकाले आमाको कमाई सहयोग गरेको बताए । अस्पतालसम्म ल्याइपु¥याउँदा मानिस चिन्न समेत छाडिसक्नुभएकी वृद्धा आमाले कोरोना संक्रमण जितेर निको भएपछि पहिलेकै जस्तो सामान्य अबस्थामा देखेको उनले बताए ।  

‘वृद्ध आमाले पनि कोरोनालाई सजिलै परास्त गर्नुभयो, कोरोना भाइरसले आमालाई जित्न सकेन,’ खिमबहादुरले भने । उमेरले डाँडा काट्न लागिसकेको अवस्थामा आमालाई कोरोना संक्रमण भएपछि निकै चिन्तित भएपनि समयमै उपचार पाएकाले सजिलो भएको बताए । गाउँमै अस्पताल हुँदा आमाको आयु बढेको उनले बताए । ‘गाउँमा अस्पताल नहुँदो हो त सायद आमालाई पोखरासम्म लगेर पनि बचाउन मुस्किल थियो । तर, गाउँमा अस्पताल भएकै कारण बेलैमा उपचार गराउन पाउँदा ज्यान जोगियो,’ उनले भने ।

दग्नामको कान्छीगाउँकी पुन निको भएपछि गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उनलाई फूल  र रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक विज्ञहरुबाट सिफारिस भएका औषधीहरु उपलब्ध गराएर विदाई गरेका थिए । गाउँपालिकाको अस्पतालमै निको भएपछि गाउँपालिकाले समेत विदाई गरेको छ । कोरोना संक्रमतिको अक्सिजनको मात्रा घटिरहेकोले तत्कालै संक्रमितले जानकारी पाउन नसक्ने अवस्था आउने अस्पतालका डा बोहराले बताए । 

जटिल अवस्थापछि मात्रै अस्पताल पुग्न समस्याको एउटा उदाहरण भएको कोभिड–१९ अस्पतालका डा. बोहराले बताए । ‘शरीरमा अक्सिजनको कमी भएर अस्पतालमा आउँदा ६६ प्रतिशत थियो, उहाँलाई सम्भव भएका सबै विधिबाट उपचार गरियो, अक्सिजनको तह ९० बाट उकालो लागेपछि दोस्रोपटक परीक्षण गर्दा नेगेटिभ आएपछि घर फर्किनुभयो’ डा. बोहोराले भने, ‘समयमै अस्पतालमा आउनुभयो । हामीले भएभरको शक्ति लगाएर भएपनि उहाँलाई बचाउन सक्यौ ।’  

त्यस्तै कोरोना संक्रमणको कारण पोखरासम्म पुगेर उपचार गर्दा समेत निको नभएपछि रघुगंगाकै कोभिड अस्पतालमा फर्किएर उपचार गराएका  पिप्ले निवासी ५३ बर्षीय रत्नबहादुर शाहीले समेत कोरोना जितेर घर फर्किएका छन् ।  स्वास्थ्यमा थप अन्य समस्या देखिएपछि थप चेकजाँचका लागि बेनी हुँदै पोखराको गण्डकी मेडिकल कलेजमा रिफर गरिएको थियो । गण्डकीमा आईसीयु कक्षमा समेत राम्रो उपचार नभएपछि आफन्तले शाहीलाई गाउँकै कोभिड अस्पतालमा भर्ना गरेका थिए ।

 पोखरामा भन्दा गाउँमै राम्रो उपचार गाउँमै भएको शाहीले बताए । कोभिड अस्पतालमै उपचार गरि निको भएपछि शाही समेत आइतबार नै घर फर्किएका छन् ।  ‘ठुला अस्पतालमा समेत राम्रो उपचार पाइने देखिन,बरु यहिकै अस्पतालमा उपचार गराउने निधो गरेर फर्किएको थिए, यहाँ आएपछि उपचार गर्दै जाँदा मेरो स्वास्थ्यमा क्रमिक सुधार आयो, आज निको भएर घर फर्कदै छु, यहाँका डाक्टर र स्वास्थ्यकर्मीको यो गुन म कहिल्यै भुल्ने छैन्,’ शाहीले भने ।  

रघुगंगाको कोभिड अस्पतालमा विरामी र कुरुवालाई निःशुल्क खानाको समेत व्यवस्था गरिएको छ । स्थानीय नवसन्तोष सेवा युवा क्लब, सिवाईजी क्लब र रेडक्रस पिप्ले उपशाखाको अगुवाईमा स्थानीय युवाहरुले स्वयंसेवक रुपमा परिचालन भएर सहयोगदाता मार्फत सहयोग जुटाएर विहानदेखि बेलुकिसम्म नै भर्ना भएका विरामी र उनीहरुका कुरुवालाई निःशुल्क खाना, खाजा खुवाउँदै आएको पिप्लेका वडा अध्यक्ष जिवनकुमार मल्लले बताए । 

यसैबिच कोरोना जितेर घर फर्किएका शाहीले निःशुल्क खानाको व्यवस्थापनका लागि २१ हजार ५ सय ५ र अस्पतालका स्वास्थ्यकर्मीहरुको प्रोत्साहनका लागि समेत २१ हजार ५ सय ५ नगद सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । रघुगंगाको कोभिड अस्पतालमा अहिलेसम्म ५६ जनाको उपचार गरिसकिएको छ । वैशाख २१ गतेबाट रघुगंगाले कोभिड अस्पतालबाट सेवा सुचारु गरेको थियो । अस्पतालमा आएका अधिकाँश अक्सिजन लगाएर उपचार गराउनुपर्ने विरामीहरु निको भएर घर फिर्ता भएका छन् । गाउँपालिकाले दुई वटा सवारी साधन मार्फत विरामीहरुलाई अस्पतालसम्म ल्याउने र निको भएपछि घरमा पु¥याउने काम समेत गर्दै आएको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले बताए । 

प्रकाशित: १७ जेष्ठ २०७८ १०:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App