२० श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

पोखरा स्पोर्ट्स अवार्ड वैशाख मसान्तमा, ९ विधामा सम्मान गरिने

पोखरा स्पोर्ट्स अवार्ड आगामी वैशाख मसान्तमा आयोजना हुने भएको छ। खेलकुद पत्रकार मञ्च गण्डकीले हरेक वर्ष आयोजना गर्दै आएको अवार्डको दशौं संस्करण वैशाख ३१ गते बुधबार हुने जानकारी दिएको हो।

पोखरा–६ लेकसाइडस्थित पोखरा इभेन्ट सेन्टरमा हुने समारोहबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो। मञ्चका अध्यक्ष मानबहादुर घर्ती मगर (एमबी आस्था) ले कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढाइएको बताए।

हिमश्री फुड्स प्रालिको मुख्य उत्पादन रारा तयारी चाउचाउ को मुख्य प्रायोजनमा हुने अवार्डमा यस वर्ष ९ विधामा सम्मान प्रदान गरिने आयोजकले जनाएको छ।

वर्ष उत्कृष्ट पुरुष खेलाडी

वर्ष उत्कृष्ट महिला खेलाडी

वर्ष उदीयमान खेलाडी

वर्ष उत्कृष्ट प्रशिक्षक

उत्कृष्ट खेल संघ/क्लब

पिपुल्स च्वाइस अवार्ड

लाइफटाइम अवार्ड

उत्कृष्ट खेल पत्रकार

लगायत विधामा पुरस्कार प्रदान गरिनेछ। यसबाहेक विशेष अवार्डसमेत प्रदान गरिने अध्यक्ष मगरले जानकारी दिए।

यस वर्ष पिपुल्स च्वाइस अवार्ड थप गरिएको पनि उनले बताए।

मञ्चले छिट्टै मनोनित खेलाडीहरूको नाम सार्वजनिक गर्ने जनाएको छ। प्रत्येक विधामा तीन–तीन जनाको नाम मनोनयन गरी सार्वजनिक गरिने महासचिव परशुराम शर्माले बताए।

९ विधामध्ये उत्कृष्ट पुरुष, महिला तथा पिपुल्स च्वाइस अवार्ड विजेतालाई स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ। अन्य विधाका विजेतालाई नगद ३५/३५ हजार रुपैयाँ प्रदान गरिने उपाध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए।

अवार्डका सहप्रायोजकमा गुरुङ गहना घर र केल्मी रहेका छन्। यस्तै भोटिङ पार्टनरका रूपमा खल्ती डिजिटल वालेट तथा हस्पिटालिटी पार्टनरका रूपमा प्लाजा होटल ग्रुप रहेका छन्।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् (राखेप), गण्डकी खेलकुद परिषद् र पोखरा महानगर खेलकुद परिषद्को सहयोगमा कार्यक्रम आयोजना हुन लागेको आयोजकले जनाएको छ।

 

प्रकाशित: १६ वैशाख २०८३ १९:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App