सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र द्वन्द्वकालमा बाँच्ने र फौज बचाउने मुख्य चुनौती रहेकोमा शान्तिकालमा संगठनको औचित्यमाथि नै प्रश्न उठ्ने गरेको अनुभव सुनाएका छन्।
बुधबार नागरिक न्युजको ‘नागरिक फ्रन्टलाइन’ कार्यक्रममा कुराकानी गर्दै उनले शान्तिकालमा पनि सुरक्षाकर्मीको ज्यानको जोखिम भने नघटेको सुनाए।
प्रधानसम्पादक गुणराज लुइटेलसँगको संवादमा महानिरीक्षक अर्यालले भने, ‘द्वन्द्वकालमा आफू बाँच्ने र आफ्नो ट्रुप्सलाई बचाउने मात्र सोच हुन्थ्यो। तर, शान्ति आइसकेपछि यो फौज किन चाहिन्छ र भन्ने अवस्था पनि आयो।’
यद्यपि, विपद् व्यवस्थापन र अन्य अपरेसनमा खटिँदा अहिले पनि सुरक्षाकर्मीले उत्तिकै ज्यानको बाजी लगाउनुपरेको उनको भनाइ छ।
२८ वर्ष लामो सुरक्षा सेवाबाट बिदा हुन लागेका अर्यालले संगठनको नेतृत्व सम्हाल्नु निकै चुनौतीपूर्ण रहेको अनुभव सुनाए। आफ्नो कार्यकाल र अवकाशको सँघारलाई उनले भारी बोकेर उकालो चढेपछि चौतारीमा पुगेको अवस्थासँग तुलना गरे।
‘एकदमै ठूलो भारी बोकेर उकालो चढ्दै जाँदा चौतारी आइपुग्यो भने जस्तो आनन्द हुन्छ, अहिले मलाई त्यस्तै महसुस भइरहेको छ,’ उनले भने।
समाजमा हुने विभिन्न स्वार्थ र वर्गबीचको द्वन्द्व समाधानका लागि सम्झौता र संवाद नै उत्तम विकल्प रहेको उनले औंल्याए। आफ्नो कार्यकालमा सात जना गृहमन्त्री र सातै जना सचिवसँग काम गरेको स्मरण गर्दै उनले राजनीतिक नेतृत्वलाई कानुन र परिस्थितिको यथार्थ जानकारी गराएर अघि बढ्दा संगठनलाई सही बाटोमा हिँडाउन सफल भएको बताए।
कतिपय अवस्थामा राजनीतिक नेतृत्वले कानुन नबुझी निर्देशन दिने गरेको भए पनि आफूले त्यसको परिणामबारे प्रस्टसँग ‘ब्रिफिङ’ गर्ने गरेको उनले खुलाए। आगामी दिनमा आफू सरकारी संयन्त्रभन्दा बाहिर रहेर पूर्ण रूपमा नागरिक र सामाजिक सेवामा क्रियाशील रहने प्रतिबद्धतासमेत महानिरीक्षक अर्यालले व्यक्त गरेका छन्।
प्रकाशित: १६ वैशाख २०८३ १९:३८ बुधबार





