२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पिसिआर नगरेका यात्रु बोकेर पालिका प्रवेश गर्ने सवारी साधन नियन्त्रणमा

गाउँपालिकाले नियन्त्रणमा लिएको गाडी । तस्बिर : नागरिक

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पिसिआर परीक्षण गरेको रिपोर्ट नबुझाई पालिका प्रवेश गर्ने यात्रु बोकेको सवारी साधन नियन्त्रणमा लिएको छ । गत वैशाख २२ गतेको निर्णय विपरित काठमाडौंबाट मंगलबार पिसिआर परीक्षण गरेको रिपोर्ट नभएका ८ स्थानीयलाई बोकेर गाउँपालिका प्रवेश गरेको बा १३ च ५३८५ नम्बरको निजी गाडीलाई नियन्त्रणमा लिएको हो । 

गाउँपालिकाभन्दा बाहिरबाट पालिका प्रवेश गर्ने स्थानीयलाई ७२ घण्टाभित्रको पिसिआर परीक्षण गरेको रिपोर्ट बुझाएर मात्र प्रवेश गर्न दिने निर्णय गरिएको भए पनि पिसिआर चेक नगरेका स्थानीयलाई लिएर आएकाले गाडी नियन्त्रणमा लिइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । गाउँपालिकाले गाडीको ब्लु–बुक र चाँबी नियन्त्रणमा लिएको छ । यस्तै, पिसिआर परीक्षण नगरी पालिका प्रवेश गर्ने स्थानीयलाई १० दिन अनिवार्य होमक्वारेन्टिममा बस्ने शर्तमा घर पठाइएको गाउँपालिका अध्यक्ष राईले बताए ।  

कोभिड संक्रमण तथा नियन्त्रण कार्यदलको वैशाख २२ गते बसेको बैठकले कोभिड–१९ को महामारीको अवधिमा पालिका वा जिल्ला बाहिरबाट आउने जो सुकैलाई अनिवार्य ७२ घण्टाभित्रको पिसिआर परीक्षण गरेको रिपोर्ट पेश गरेपछि मात्र पालिका प्रवेश गर्ने अनुमति दिने निर्णय गरेको थियो । यस्तै, पिसिआर परीक्षण गरेको रिपोर्ट पेश गरेर पालिकाभित्र प्रवेश गर्ने व्यक्तिले थप १० दिन होम क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । 

प्रकाशित: ४ जेष्ठ २०७८ १४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App