८ वैशाख २०८१ शनिबार
समाज

समस्यामा रोल्पाः ५८ संक्रमित थपिँदा २ को मृत्यु

रोल्पा अस्पताल । तस्बिर : दिनेश/नागरिक

रोल्पामा पछिल्लो २४ घण्टामा ५८ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा संक्रमितको संख्या ३ सय ७७ पुगेको छ। यसैगरि गत राति रोल्पा अस्पतालमा उपचार गराई रहेका एक पुरुषको मृत्यु भएको छ भने सुनिलस्मृती गाउँपालिका ४ सुलिचौरमा एकजना गरि दुईजनाको मृत्यु भएको जिल्ला प्रशासनको तथ्याङ्कमा उल्लेख गरिएको छ। तथ्याङ्क अनुसार १८ जनाले कोरोना जितेका छन्।  

यसैबीच जिल्लाको एक मात्र अस्पताल रोल्पा अस्पतालमा अक्सिजन अभाव यथावत रहेको छ। ‘अक्सिजन र एन्टिजेन किटको अभाव छ। बेड संख्या पनि पर्याप्त छैन,’ अस्पताल प्रमुख प्रकाशबहादुर बुढाले भने, ‘अब बिरामी थप भएमा अक्सिजन दिन सक्ने अवस्था छैन।’ यतिखेर मात्रै नभएर इतिहास मै सत्ताको मुल ढोका नछोडेको रोल्पामा पछिल्लो समय अक्सिजनको समस्या सुरु भएको छ। कोरोनाको कहरले आम समुदायमा त्रास फैलिरहँदा जिल्लामा रहेको एक मात्र १५ शैयाको अस्पतालमा अक्सिजन नहुनु दुर्भाय पुर्ण देखिन्छ।  

रोल्पा जन्मेर रोल्पा मै हुर्केका हालका उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वसभामुखद्धय कृष्णबहादुर महरा र ओनसरी घर्ती, प्रायः मन्त्री मण्डलमा चिठ्ठा परिरहने बर्षमान पुन, भर्खरै शान्ति प्रकृयामा आएका क्रान्तीकारी भनेर चिनिएका नेत्रबिक्रम चन्द 'बिप्लव', मुख्यमन्त्रीको दौडमा रहेका कुलप्रशाद केसी मात्र नभएर प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र गोकुल घर्ती, कांग्रेस रोल्पा सभापति तथा पूर्वमन्त्री अमरसिंह पुन कोरोना कहरका समयमा गुमनाम जस्तै छन्।  

नेताजीको पहलमा अक्सिजन जिल्ला आएको वा पठाइएका भ्रामक फेसबुके समाचारको प्रचारबाजी गर्ने काम निरन्तर भइरहेपनि अस्पतालमा भने अक्सिजनको चरम अभावका बारेमा खासै चासो दिइएको पाइँदैन। भेन्टिलेटर र आइसियु एकादेशको कथा भएको यहाँका अस्पताल र बिभिन्न स्वास्थ्य संस्थामा पर्याप्त जनशक्ति र पूर्वाधार समेत नभएको अवस्थामा कोही कसैले महामारीसंग जुध्नका लागि ठोस योजना समेत बनाउन चासो दिइएको पाइँदैन।

प्रकाशित: ३१ वैशाख २०७८ ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App