१६ चैत्र २०८० शुक्रबार
समाज

संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका ५५ जनाको स्वाब संकलन

खोटाङको साकेला गाउँपालिकाले दुई संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका ५५ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेको छ। कोभिड–१९ को संक्रमण पुष्टी भएका साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका खत्री थरका ५३ वर्षीय र रोका थरका २० वर्षीय पुरुषको प्रत्यक्ष सम्पर्कमा पुगेको आधारमा मंगलबार ३९ जना पुरुष र १६ महिलाको स्वाब संकलन गरिएको हो। कन्ट्याक्ट ट्रेसिङका आधारमा संकलन गरिएको नमूना परीक्षणका लागि बुधबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइने साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताए।  

गाउँपालिकाभित्रका २६ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर शनिबार प्रादेशिक जनस्वास्थ्य कार्यालय बिराटनगर पठाएकामा सोमबार दुई जनाको पोजिटिभ रिपोर्ट आएको हो। काठमाडौंमा अध्ययनरत रोका बैसाख १५ गते र खत्री चितवनबाट बैसाख १६ गते घर आएका हुन्। जिल्ला भित्रिनेक्रममा संक्रमितसँगै यात्रा गरेका, गाउँमा भेटघाट भएका र सम्पर्कमा पुगेका व्यक्तिको पहिचान गरेर पिसिअआर परीक्षणका लागि नमूना संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत मगरले बताए।  

संक्रमित फेला परेसँगै बाँझेच्यानडाँडालाई सिल गरिएको छ। संक्रमितसँगको कन्ट्याक्ट ट्रोसिङमा परेका व्यक्तिको पिसिआर परीक्षणको रिपोर्ट नआएसम्मका लागि वडालाई सिल गरिएको हो। कोरोना संक्रमित फेला परेसँगै वडाको क्षेत्रभित्र प्रवेश गर्न र वडा क्षेत्रभन्दा बाहिर जान रोक लगाइएको छ। यस्तै, वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा पनि बन्द गरिएको छ।  

दुई संक्रमितलाई मंगलबार साकेला गाउँपालिका–२ रतन्छास्थित अस्थायी कोभिड अस्पतालको आइसोलेसन सेन्टरमा लगिएको छ। उनीहरुलाई कम्तीमा दुई हप्तासम्म पालिकाको आइसोलेसन सेन्टरमा राखिने छ। पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरु घर फर्कन पाउने छन्। हाल उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।

प्रकाशित: २१ वैशाख २०७८ १४:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App