ताप्लेजुङको फुङलिङ बजारमा प्रत्येक साता बन्द हुँदै आएका बजार तथा पसल तत्काललाई साविक झैं साप्ताहिक रूपमा शुक्रबार नै बन्द हुने भएका छन्।
सरकारले शनिबार र आइतबार दुई दिन बिदा दिँदा यसअघि शुक्रबार बन्द हुँदै आएका फुङलिङ बजारका पसलहरू शुक्रबारको सट्टा आइतबार बन्द गर्ने कि भन्ने विषयमा ताप्लेजुङ उद्योग वाणिज्य संघको बैठकमा छलफल भएको थियो। ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष विकास गौतमका अनुसार सरकारले पेट्रोलियम पदार्थको अभाव र आपूर्ति समस्याका कारण तत्कालका लागि मात्र सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेकोले वाणिज्य संघले पनि सरकारको तत्कालको निर्णयका आधारमा साविककै निर्णय कायम राखेको हो।
सरकारले शनिबार र आइतबार बिदा हुने स्थायी निर्णय गरेको खण्डमा आफूहरूले पुरानो निर्णय कायम गरी शुक्रबारकै बन्द कायम राख्ने वा आइतबार बन्द गर्ने विषयमा थप छलफल पछि आवश्यक निर्णय लिने सहमति कायम भएको गौतमले जानकारी दिए। ताप्लेजुङ उद्योग वाणिज्य संघले प्रत्येक साताको शुक्रबार बन्द गर्ने वा नगर्ने विषयको निर्णय मतदानद्वारा टुङ्ग्याएको थियो।
मतदानका क्रममा अधिक सदस्यले प्रत्येक शुक्रबार फुङलिङ बजारका व्यवसाय बन्द गर्ने पक्षमा मत दिएपछि करिब दुई दशकदेखि फुङलिङ बजारका पसलहरू प्रत्येक शुक्रबार बन्द हुँदै आएका छन्।
प्रकाशित: १२ वैशाख २०८३ १०:५५ शनिबार





