२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

बैतडीमा सोमबारदेखि निषेधाज्ञा

बैतडीमा सोमबारदेखि निषेधाज्ञा जारी हुने भएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा निषेधाज्ञा जारी गर्नु पर्ने सिफारिस गरेपछि प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले निषेधाज्ञा जारी गरेका हुन् । जिल्लामा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेकाले संक्रमण रोक्नका लागि जेठ २ गतेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी बताए ।

सोमबार बिहानदेखि जेठ २ गते राती १२ बजेसम्म जिल्लामा निषेधाज्ञा लागू हुने उनले बताए । निषेधाज्ञाको समयमा सवारी साधन आवागमनमा पूर्ण रोक लगाइनेछ भने अनावश्यक कसैले पनि हिडडुँल गर्न पाइनेछ । खाद्यान्न तथा तरकारी पसल दैनिक बिहान ७ देखि १० बजेसम्म मात्रै खुला रहने छन् । अतिआवश्यकीय सेवा एम्बुलेन्स तथा औषधि पसल भने खुला रहने बताइएको छ ।

यस्तै कुनै निर्माणका कामहरु गर्नुपरेमा सम्बन्धित कार्यालय प्रमुख र योजना प्रमुखले सिफारिस गरेमा आवश्यकताका आधारमा ती कामहरु सञ्चालन गर्न दिने निर्णय भएको छ । विवाह, व्रतबन्ध जस्ता कार्यहरु थोरै मानिसको सहभागितामा जिल्ला प्रशासन कार्यालयको समन्वयमा गर्न पाइने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । कसैले निषेधाज्ञाको उल्लंघन गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने बताइएको छ ।

बैतडीमा कोरोनाका संक्रमितको संख्या बढ्दै गएपछि जनस्तरबाट समेत निषेधाज्ञा लागु गर्नुपर्ने आवाज उठेको थियो । जिल्लामा हालसम्म २ सय १३ जना कोरोना संक्रमित रहेका छन् भने ४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

प्रकाशित: १९ वैशाख २०७८ १०:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App