८ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

अख्तियारका पूर्वप्रमुख अस्वस्थ, थुनामुक्त गर्न माग

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुखआयुक्त दीप बस्न्यातको स्वास्थ्य अवस्था जटिल बनेकाले थुनामुक्त गर्न मागसहित सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता भएको छ। ललिता निवास जग्गा काण्डको भ्रष्टाचार मुद्दामा फसेका बस्न्यातलाई कोरोना संक्रमण पनि भएकाले थप जटिलता आएको र थुनामुक्त हुनुपर्ने मागसहित रिट निवेदन दर्ता भएको हो।  

गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरीजवाइँ प्रज्वल अधिकारीले शुक्रबार रिट निवेदन दर्ता गरेका हुन्। उनको निवेदनमाथि आइतबार सुनुवाई हुँदैछ। बस्न्यातलाई चाबहिलस्थित ओम अस्पतालमा अक्सिजन दिएर उपचार भैरहेको रिट निवेदनमा उल्लेख छ।  

‘६९ वर्ष उमेर भैसकेको साथै मुटु रोगलगायत साविकदेखि नै विभिन्न रोगले पीडित छु। अहिले कोरोना संक्रमण भई चावहिल ओम अस्पतालको हाइकेयर युनिटमा भर्ना गरिराखेको छ। मुटुको पुनः सल्यक्रिया नगरे जीवन नै जोखिममा पर्ने अवस्था छ’ रिट निवेदनमा भनिएको छ। त्यसैले थुनामुक्त गरिदिनु भन्ने मागसहितको निवेदन दर्ता भएको हो।  

भ्रष्टाचार मुद्दाका अभियुक्त बस्न्यातलाई गत मंसिर २८ मा विशेष अदालत काठमाडौंले डिल्लीबजार थुनामा पठाउने आदेश दिएको थियो। उनले अस्वस्थ रहेको र विशेष अदालतको आदेश कानुन विपरित भएकाले थुनाबाहिरै रहेर मुद्दा लड्न पाउँ भन्ने मागसहितसर्वोच्चमा माघ १५ मा निवेदन पनि दर्ता गरेका थिए। 

उनको निवेदन विचाराधीन छ। कोरोना संक्रमण बढेसँगै अदालतले पनि सेवामा संकुचित गरेकाले बन्दी प्रत्यक्षीकरण र कोरोना महामारीसँग सम्बन्धित रिट निवेदन मात्र दर्ता र सुनुवाइ गर्ने सर्वोच्चले निर्णय गरिसकेको छ। बस्न्यातविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रूपैयाँ बिगो माग गरी २०७६ माघ २२ मा भ्रष्टाचार मुद्दा गरेको थियो। बस्न्यातलाई ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचारको अभियोग छ।

प्रकाशित: १९ वैशाख २०७८ ०१:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App