कांग्रेसको नयाँ पुस्ताले गरेको विद्रोह र हस्तक्षेपले संवैधानिक मान्यता पाएको छ । निर्वाचन आयोगले नेपाली कांग्रेस दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।
हप्तौंदेखि चल्दै आएको अड्कलबाजीपछि निर्वाचन आयोगले गगन थापालाई कांग्रेसको आधिकारिक अध्यक्षको रूपमा मान्यता दियो। राजनीतिक दलसम्बन्धी ऐनको धारा ५१ अनुसार पार्टीको अभिलेख अद्यावधिक गर्दै आयोगले थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक घोषणा ग¥यो। यसले देउवा पक्षलाई ठुलो झट्का दियो। शेरबहादुर देउवा समूह निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक संघर्षको मैदानमा निस्क्यो। सर्वोच्च अदालतले समेत गगन थापानेतृत्वको कार्यसमिति अवैधानिक भनेन। यद्यपि यसको अन्तिम सुनुवाइ बाँकी छ। सुरुमा यो विद्रोहलाई देशको सबैभन्दा पुरानो र ठुलो पार्टीको विभाजनका रूपमै हेरियो, यद्यपि दुई दिनपछि नयाँ नेतृत्वले आधिकारिकता पाएसँगै माहोल बदलियो।
अब कांग्रेसलाई पुनर्निर्माण गर्ने उचित समय आएको छ । नेपाललाई अब एउटा सशक्त दल कांग्रेसको आवश्यकता छ, जसले इतिहासमा मध्यमार्गी, समाजवादी झुकाव भएको लोकतान्त्रिक शक्तिको भूमिका निर्वाह गरेको छ। यो विभाजनलाई अवसरका रूपमा लिनुपर्छ।
गगन थापाले पार्टीका पुराना आदर्श– लोकतान्त्रिक समाजवाद र अन्य मूल लोकतान्त्रिक मूल्यहरूलाई पुनर्जीवित गर्नुपर्छ। यो उनका लागि ठुलो अवसर र चुनौती पनि हो। उनले पार्टी परिवर्तन भएको विश्वास दिलाउन सकेनन् भने यो पुरानो पार्टीप्रति जनताको विश्वास हराउँछ। नेपाललाई बलियो केन्द्रवादी शक्ति चाहिन्छ, जसले चरमपन्थीहरूको सन्तुलन राख्न सकोस्।
यो विद्रोह अघिल्ला आन्तरिक विवादभन्दा फरक सन्दर्भमा भएको छ। आज जनताको दलहरूप्रति विश्वास निकै कमजोर छ। दशकौंदेखि एउटै अनुहारले सत्ता ओगट्दा भ्रष्टाचार संस्थागत भएको अनुभूति आमनागरिकमा छ। राज्यका निकायहरूमा पारदर्शिता कमजोर भएको छ।
युवाहरूको निराशा केवल भावना होइन, तथ्यले पनि देखाउँछ। १६ देखि ४० वर्ष उमेर समूहको करिब ४२ प्रतिशत जनसंख्या युवाको छ, जसमध्ये ठुलो हिस्सा बेरोजगार छ। लाखौं युवा खाडी मुलुकमा पसिना बगाइरहेका छन्, जबकि देशभित्र अवसर सीमित छन्। यही निराशाबाट जेनजीको असन्तोष जन्मिएको हो।
हाल सडकदेखि अनलाइनसम्म देखिएका युवा आन्दोलनले परिवर्तनकै सन्देश दिएका छन्– जनता अब मौन बस्न तयार छैनन्। अराजकता, भ्रष्टाचार र जनतासँगको दुरी अब सह्य छैन। कांग्रेसले निर्वाचनको बेला मात्र जाग्ने बानी त्याग्नैपर्छ।
गगन थापाको नेतृत्व यही सन्दर्भमा आएको छ। उनलाई पार्टी परिवर्तनको प्रतीकका रूपमा हेरिएको छ। तर निर्वाचन आयोगको मान्यता नैतिक विजय मात्र हो। वास्तविक परीक्षा पार्टीभित्रको सामन्तवाद, पक्षपात, टिकट बेच्ने संस्कृति र गुटीय स्वार्थ तोड्न सक्ने क्षमतामा हुनेछ।
अब कांग्रेसले ठोस सुधार गर्नुपर्छ। उम्मेदवार छनोटको पारदर्शिता जनतालाई बुझाउनुपर्छ। आन्तरिक निर्वाचन अर्थपूर्ण हुनुपर्छ। आफ्नो मान्छे होइन, सक्षम मान्छे अघि ल्याउनुपर्छ। महिला, युवा र तृणमुल तहका कार्यकर्तालाई केवल नारामा होइन, निर्णय प्रक्रियामा स्थान दिनुपर्छ। पार्टीले जनतासँग निरन्तर संवाद गर्नुपर्छ, निर्वाचनका बेला मात्र होइन।
अब गगन थापामाथि पार्टी पुनर्निर्माण गर्ने विकराल चुनौती छ। उनले जनतालाई पार्टी परिवर्तन भएको छ र हुन्छ भनी विश्वास दिलाउनुपर्छ। यो केवल बोली र भाषणमा मात्र सीमित हुनुहुँदैन। लोकतान्त्रिक समाजवादका पुराना आदर्शलाई नयाँ सन्दर्भमा पुनर्जीवित गर्नुपर्छ। बेरोजगारी, युवा पलायन र आर्थिक असमानताबारे स्पष्ट दृष्टिकोण आवश्यक छ। जनताको दैनिक जीवनसँग नजोडिएको राजनीति अब टिक्दैन।
देउवा पक्षको तर्क पनि पूर्ण रूपमा अस्वीकार गर्न सकिँदैन। अनुभवको मूल्य हुन्छ। तर समय बदलिएको छ। पुरानो शैली र सोचले आजको असन्तोष सम्बोधन गर्न सक्दैन। यो विद्रोहले दुवै पक्षलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको छ।
यो कांग्रेसको मात्र होइन, मुलुकको विषय हो। कमजोर कांग्रेसले चरमपन्थी शक्तिहरूलाई बल दिन सक्छ। नेपाललाई सन्तुलित, जिम्मेवार र केन्द्रवादी लोकतान्त्रिक शक्ति चाहिन्छ। गगन थापाका लागि यो अवसर हो तर अवसरले सधैं कुर्दैन। अहिले परिवर्तन भएन भने यो कांग्रेसका लागि अन्तिम मौका पनि हुन सक्छ।
प्रकाशित: ८ माघ २०८२ ०८:१० बिहीबार

