२६ वैशाख २०८३ शनिबार
image/svg+xml
समाज

उदयपुरमा कोभिड अस्पताल ६ महिनापछि सुचारु

६ महिना बन्द रहेर सुचारु भएको उदयपुर कोभिड अस्पताल । तस्विरः महेश्वर

गतवर्ष कोभिड–१९ को संक्रमण उच्च भएका बेला निर्माण भए पनि संक्रमित सकिएसँगै बन्द भएको ‘उदयपुर कोभिड अस्पताल’ ६ महिनापछि सुचारु भएको छ । सेलाईसकेको कोभिड महामारीको संक्रमण पुनः फैलिन थालेपछि जिल्लाको चौदण्डीगढी नगरपालिका ६ सातधारेमा निर्मित कोभिड अस्पताल पुनः सुचारु गरिएको हो ।

हाल अस्पतालमा १ पुरुष संक्रमितको उपचार भईरहेको छ । भारतबाट फर्केका पुरुषमा संक्रमण देखिएपछि अस्पताल सुचारु गरी उपचार थालिएको चौदण्डीगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर पोखरेलले बताए । उनका अनुसार १ कोभिड संक्रमितको उपचार भईरहेको छ भने अन्य संक्रमित आउने संभावना भएकाले अस्पतालमा बेड र स्वास्थ्यकर्मी तथा अन्य बन्दोबस्त मिलाइएको छ ।

भारतको बिहारबाट आएका त्रियुगा नगरपालिका–१२ का संक्रमित पुरुषलाई भर्ना गरेर उपचार सुरु गरिएको हो । वैशाख ८ गते नेपाल आएका उनको कोविड अस्पताल विराटनगरमा स्वाव परीक्षण गर्दा संक्रमण देखिएपछि अस्पताल भर्ना गरेर उपचार थालिएको पोखरेलले बताएका छन् । पोखरेलका अनुसार हाल उनको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको छ ।  

गतवर्ष कोभिड संक्रमितको संख्या उच्च भएपछि जिल्लाका ८ वटै स्थानीयतह मिलेर सातधारेमा आईसोलेसन सेन्टर सञ्चालन गरेका थिए । संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि केही महिनापछि सोही परिसरमा कोविड अस्पताल निर्माण गरिएको हो । जिल्लाका स्थानीयहहरु मिलेर बनेको ‘उदयपुर विकास बोर्ड’को पहलमा सातधारेमै कोभिड अस्पताल बनाउन ४ नगरपालिकाले १५–१५ र ४ गाउँपालिकाले १०–१० लाख गरी १ करोडको कोष खडा गरेका थिए ।  

ट्रस प्रविधिको छानोसहितको एकतले पक्की अस्पताल भवन निर्माणमा अपुग स्रोतको खोजी गर्दा स्वीस सरकारले १ करोड ५० लाख र बाँकी अन्य स्रोत जुटाएर भवन बनाइएको हो । कम्पाउण्ड घेराबेरासहितको अपाङ्ग तथा बालमैत्री भवनमा ९ वटा फराकिला कोठा छन् भने पुरुष महिला र अपाङ्गतामैत्री शौचालय, खानेपानी र विद्युतको व्यवस्था गरिएको छ । अस्पतालका ८ कोठामा ३२ शैय्या (बेड) राखिएको छ भने एउटा कोठा डा. र स्टाफहरुको कार्यकक्ष बनाइएको छ ।  

अस्पताल सञ्चालनमा तत्कालका लागि ४० जनालाई एकैचोटी उपचार गराउन सक्ने व्यवस्था मिलाइएको छ । १ जना एमबिबिएस डा. चन्दनकुमार साह र ५ जना स्टाफ नर्स तयारी हालतमा राखिएको छ भने अपुग जनशक्ति व्यवस्था गर्न नगर अस्पताल र विभिन्न वडाका स्वास्थ्य चौकीका अनमी तथा अहेवलाई पालैपालो खटाउने गरिएको छ । स्वास्थ्य प्रमुख पोखरेलका अनुसार नगरपालिकामा १ नगर अस्पताल, ५ स्वास्थ्यचौकी तथा ४ वटा आधारभुत स्वास्थ्य केन्द्र गरी ११ स्वास्थ्य संस्थाहरु छन् ।  

अस्तापल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका मेयर राईले जनशक्ति अभाव हुन नदिन प्रत्येक स्वास्थ्यचौकीका एचए, अहेव तथा अनमीलाई १५ दिन कोभिड अस्पतालमा खटाइदै आएको बताए । बजेट अभावले जनशक्ति व्यवस्थापन गर्न नसक्दा यस्तो समस्या आएको बताउँदै उनले आवश्यक जनशक्ति भर्ना गरेर परिचालन गर्नका लागि प्रदेश र संघसँग अनुरोध गर्ने काम भईरहेको बताएका छन् । बजेट अभावकै कारण कोभिड अस्पतालका कर्मचारीलाई हाल चौदण्डीगढी नगरपालिकाबाटै सेवा सुविधा उपलब्ध गराउँदै आएको पनि राईले बताए ।  

उदयपुर विकास बोर्डका अध्यक्ष तथा त्रियुगा नगरप्रमुख बलदेव चौधरीले नेपालमा पहिलोपटक कोभिड आक्रमणको केन्द्र बनेको उदययपुरबासीका लागि उपचार गर्न कोभिड अस्पताल सुचारु गरिएको बताए । उनले तर, आवश्यक जनशक्ति र अस्पताल सञ्चालन गर्न आवश्यक बजेटको अभाव रहेकाले सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । भवन बनाउन सहयोग नगरे पनि आफैले बनाएको अस्पताल सञ्चालन खर्चका लागि आवश्यक बजेट व्यवस्था गर्न प्रदेश र संघीय सकारसँग मेयर चौधरीको अनुरोध छ ।  

प्रकाशित: १३ वैशाख २०७८ ०८:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App