coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लुम्बिनी प्रदेश : छट्पटाउँदै बिरामी , चुपचाप सरकार

दाङको कोरोना विशेष अस्पतालमा कोरोनाका बिरामी राख्ने ठाउँ छैन । अक्सिजनको स्टक नहुँदा बिरामीको ज्यान जतिबेलै ‘तलमाथि’ हुने खतरा छ । प्रति दिन खपत हुने अक्सिजनको मात्रा मात्रै नेपालगन्जबाट यो अस्पतालमा आयात भइरहेको छ ।  ‘यदि एक दिन अक्सिजन आईदिएन भने के गर्ने ?’ यो अस्पतालका व्यवस्थापक द्रोण ओली भन्छन् ‘अक्सिजनको स्टक राखौँ भनेर पटक पट भन्दा पनि केहि लागेन ।’

लुम्बिनी प्रदेश अन्य तीन सरकारी कोभिड अस्पतालहरुमा पनि बिरामी राख्ने ठाउँ छैन । बुटवलमा रहेको धागो कारखाना अस्पताल र भैरहवामा रहेको भिम अस्पतालले बिरामी भर्ना गर्न छोडेको साता दिन भैसक्यो । उता अर्को सरकारी अस्पताल बाँकेको भेरी अस्पतालको अवस्था झनै बिजोग छ । बेड अभावमा कैयन बिरामीहरु बाहिरै स्ट्रेचरमा पल्टिईरहेका छन् । यो अस्पताका शैया पनि भरिईसकेकाले गम्भिर समस्या भएकै बिरामी पनि अब यो अस्पतालले भर्ना गर्न सक्ने अवस्था छैन ।  

आफ्नो प्रदेश भित्र रहेका सरकारी कोभिड अस्पतालमा बेड नपाएर बिरामीहरु छट्पटाई रहँदा समेत लुम्बिनी प्रदेश सरकारले भने बिरामीको सहज उपचारका सम्बन्ध अहिले सम्म ध्यानै दिन सकेको छैन । मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण र उपचारका लागि सहयोग हुने आश्वासन दिएको खबर आईतबार बल्ल बाँड्न भ्याए ।  

दिनानुदिन बिरामीको चाप बढ्दै गईरहेको अवस्थामा मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमा लेखेको यो सन्देशले प्रदेश सरकार संघीय सरकारकै सहयोग कुरेर बसिरहेको आँकलन गर्न गाह्रो पर्दैन । उनले लेखेका छन् ‘बाँके लगाएत लुम्बिनी प्रदेशमा बढ्दो कोभिड १९ को नियन्त्रण र उपचारका लागि केन्द्रको थप सहयोगका लागि प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीसंग कुरा भएको छ, यथाशिघ्र सहयोग उपलब्ध हुने बचन दिनु भएको छ ।’

त्यसोत,हप्ता दिन देखि अस्पतालहरु भरिभराउ भैसक्दा समेत कुनै प्रदेश सरकारले कुनै पहल नथाल्नुको कारणपनि प्रदेश सरकार कोरोना व्यवस्थापन निरिह त छैन रु भन्ने प्रश्न उठाईदिएको छ ।‘बिरामीहरुलाई तत्काल बेड चाहिएको छ, सहयोगको बचन हैन,’ घोराहीका रमेश केसीले भने ‘ मुख्यमन्त्रीले कति गर्वका साथ प्रधानमन्त्रीको बचन सुनाए रु बचन हैन, बिरामीलाई बेड चाहिएको छ ।’  

प्रदेशमा भएका चारवटै सरकारी कोभिड अस्पतालमा बेड फूल भएर बिरामीको ज्यानै जार्ने अवस्था आउन लागिसक्दा समेत प्रदेश सरकारले अस्पताल वा बेड संख्या बढाउने तर्फ कुनै चासो नै देखाएको छैन । नत यस सम्बन्धी ठोस निर्णय गरेर एक्सनमा जानै सकेको छ ।  हाल सञ्चालित सरकारी अस्पतालहरुले बिरामीको चाप थेग्न नसक्ने बताईसकेका छन् ।  

उनिहरुले अन्य अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन नगरे स्थिती झनै भयावह बन्ने चेतावनी दिईरहेका छन् । तर प्रदेश सरकारले भने अस्पताल थप्ने बिषय सम्भवै नरहेको बताउँछ । ‘अरु अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपान्तरण गरेर अघि बढ्ने भन्ने कुरा सम्भव हुँदैन,’ प्रदेश सरकारका अर्थमन्त्री एबं सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने ‘अरु अस्पताललाई पनि कोभिड अस्पताल बनाएपछि त्यहाँ भएका अरु रोगका बिरामीहरुलाई कहाँ राख्ने ?’  

तर प्रदेशमा बेड थप्ने बिषयमा भने सरकारले बल्ल तयारी गर्दैछ । उनका अनुसार आईशोलेशन सञ्चालन गर्ने भनेर तयारी भैहरहेको छ । कोरोनाको संक्रमण उच्च रहेको बाँके र रुपन्देहीमा आईशोलेशन सञ्चालन गर्ने गरि तयारी भैरहेको उनले बताए । ‘अस्पताल निर्माण वा सञ्चालन गर्ने भन्ने बिषय सम्भव नहुने कुरा हो,’ मन्त्री चौधरीले भने ‘बाँके र रुपन्देहीमा आईशोलेशन सञ्चालन गर्ने भन्ने कुरा भएको हो, यसको तयारी भैरहेको छ ।’  

उनका अनुसार केहि दिन अघि मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षमा प्रदेश सिसिएमसीको बैठक बसेको थियो । उक्त बैठकले कोरोना सम्बन्धी सचेतनाका लागि प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको थियो । यसैगरि आईशोलेशन निर्माणको अर्को निर्णय गरेको थियो ।  

यो निर्णय भएको ५ दिन भैसक्दा सम्म पनि आईशोलेशन निर्माणको प्रकृया नै सुरु भैसकेको छैन । ‘बाँकेमा आईशालेशन निर्माणको तयारी भैरहेको भन्ने सुनेको छु,’ मन्त्री चौधरीले भने । उनका अनुसार सामान्य खालका बिरामीहरुलाई आइशोलेशनमा राखिने र गम्भिर प्रकृतिका बिरामीहरुलाई मात्रै अस्पताल भर्ना गरिने योजना प्रदेश सरकारको छ । यसो भए अस्पतालमा बेड अभावको समस्या हट्ने मन्त्री चौधरीले बताए । त्यसोत उनले अस्पताल सञ्चालन भन्दा पनि सीमा नाकामा कडाई नै कोरोना संक्रमण रोकथामको गतिलो उपाय हो । भारतीबाटै कोरोना संक्रमण फैलिएको भन्दै उनले भने ‘हामीहरुको बढि ध्यान समिा नाका कडाईमा केन्द्रीत हुन जरुरी छ ।’

त्यसोत, प्रदेशमा अक्सिजनको अभाव नहरने मन्त्री चौधरी बताउँछन् । फलतः अक्सिजनको स्टकका लागि पनि प्रदेश सरकारले कुनै योजना बनाएको छैन । ‘अक्सिजन अभाव भएको भारतमा मात्रै हो, हाम्रो यहाँ छैन,’ उनले भने ‘यहाँ अक्सिजनका लागि समस्या झेल्नु पर्ने छैन ।’

प्रकाशित: १२ वैशाख २०७८ ०६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App