नागरिक नायकबाट सम्मानित मुस्कान खातुनले समाजले हौसला र साहसले आफु एसिडको पीडाबाट निक्कै अगाडी बढेको बताएकी छिन् । आफू हारेमा अपराधीको जीत हुने ठानेर अहिले समाजमा एसिड आक्रमण विरुद्धको अभियानमा खुलेर लागि परेको बताईन् ।
‘मैले अब आफ्नो पीडामा अल्झीएर हैन, अरुको पीडा कम गराउन अभियानमा लाग्नु छ,’ नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १३ औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित सम्मान कार्यक्रममा बोल्दै उनले भनिन्, ‘अव अरु मुस्कानहरु एसिडले नपोलिउन् ।’
आमा बाबाले आफ्नो आत्मविश्वास बढाएको बताउँदै उनले पढाइलाई निरन्तरता दिने सुनाईन् । ‘केही समय मेराृे पढाइ रोकियो,’ उनले भनिन्, ‘अव फेरी नयाँ सिराबाट अगाडी बढ्ने छु ।’
आत्मरक्षाको लागी विभिन्न खाले तालिम जरुरी भएको बताउँदै उनले छोरीहरुलाई बलियो बनाउन सवै बा–आमालाई उनले अनुरोध गरिन् । ‘अहिले पनि छोरी चेलीलाई आत्मसुरक्षाको तालिम जरुरी छ,’ उनले भनिन्, ‘तव मात्र उनीहरु केही हदसम्म सुरक्षित रहन्छन् ।’
पीडितको घाउँ चोट हेरेर हैन अपराधीको सोच हेरेर सजाय दिनु पर्ने बताउँदै उनले कानुनमा आएको पछिल्लो बदलावले केही सन्तुष्ट मिलेको बताईन् ।
प्रकाशित: ११ वैशाख २०७८ १३:०८ शनिबार





-600x400.jpg)