१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

कर छल्न पाउनु पर्ने माग गर्दै नारायणघाट बजार बन्द

चितवन - मूल्य अभिवृद्धि कर (भ्याट) छलेको अभियोगमा राजश्व अनुसन्धान विभागले नारायणगढको एक कपडा पसललाई कारबाही गरेको विरोधमा आज चितवन उद्योग वाणिज्य संघले बजार बन्द गराएको छ। बजार बन्दको आह्वान गर्दै संघले हिजो साँझ माइकिङ गरेको थियो। राजश्व विभागले कारबाहीको निर्णय फिर्ता नलिए थप आन्दोलन चर्काउने संघले चेतावनी दिएको छ।नारायणगढ शहीद चोकको लक्ष्मीनारायण बस्त्रालयले चार करोड ५८ लाख आठ हजार ८२३ रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) छलेको ठहर गर्दै विभागले असुल्न निर्देशन दिएको छ। विभागले प्रतिशोध साँध्न त्यस्तो निर्णय गरेको आरोप लगाउँदै उवा संघले आन्दोलन सुरु गरेको हो। विभागको निर्णय चित्त नबुझे कानुनी तबरमा प्रतिवाद गर्ने आधार भए पनि संघ आन्दोलनमा उत्रेको हो। 

पसल सञ्चालकलाई भदौ १४ गते पत्र पठाएर विभागले १५ दिनभित्र ठहर भएको रकम बुझाउन निर्देशन दिएको हो। विभागको सो निर्णय विरुद्ध कानुनी उपचार खोज्न अझै एक महिनाभन्दा बढी म्याद बाँकी रहेको पसल सञ्चालक लक्ष्मीनारायण श्रेष्ठ बताउँछन्। शुक्रबारको बन्द सांकेतिक मात्रै भएको र सोमबार सर्वपक्षीय बैठक बसेर थप आन्दोलनका कार्यक्रम ल्याउने चितवन उद्योग वाणिज्य संघका अध्यक्ष डा.तिलचन्द्र भट्टराईले बताए।

पसल सञ्चलकले आन्तरिक राजश्व कार्यालयमा बुझाएको विवरण र ऋण निकाल्नका लागि राष्ट्रिय वाणिज्य बैंकमा बुझाएको कारोबार विवरण फरक परेपछि विभागले बैंकको विवरणलाई आधार मानेर कर छलेको निर्क्यौल गरेको हो। ऋण प्रयोजनका लागि बैंकमा बुझाएको विवरणका आधारमा राजश्व छली भयो भन्नु न्यायसंगत नहुने उद्योग वाणिज्य संघको तर्क छ।

ललितपुर पुल्चोकबाट गत वर्षको जेठ २४ मा राजश्व अनुसन्धान विभागका उपसचिव भरतराज सुवेदीको नेतृत्वमा आएको टोलीले लक्ष्मीनारायण बस्तालयमा छापामारेको थियो। छापा मार्दा व्यवसायीले प्रतिकार गरेका थिए। प्रदर्शनमा उत्रेका व्यवसायीहरुले अनुसन्धान टोली चढेर आएको सरकारी जीप समेत जलाएका थिए।

'सोही घटनाको प्रतिशोध राखेर विभागले अन्यायपूर्ण तरिकाले कर निर्धारण गरेको पाइयो,' चितवन उद्योग वाणिज्य संघका अध्यक्ष डा.तिलचन्द्र भट्टराईले भने। आज काठमाडौं गएर मन्त्रिपरिषद अध्यक्ष र राजश्व अनुसन्धान विभागका महानिर्देशकलाई भेट्ने कार्यक्रम संघले तय गरेको छ। सकारात्मक जवाफ नआए दशैंको बेलामा बन्दका कडा कार्यक्रम ल्याउने संघको तयारी छ।

प्रकाशित: ३ आश्विन २०७० २१:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App