१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

मानवअधिकार उल्लंघन र ज्यादतीमा महिला बढी पीडित

मानवअधिकार उल्लंघन र ज्यादतीका गम्भीर घटनामा पुरुषभन्दा बढी संख्यामा महिला पीडित देखिएका छन्। इन्सेकले शुक्रबार सार्वजनिक गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२१ मा मानवअधिकार उल्लंघनका घटनामा महिला बढी पीडित भएको उल्लेख गरिएको हो।

इन्सेकले काठमाडौंलगायत सबै प्रदेशमा सन् २०२० मा भएका मानवअधिकार उल्लंघनका घटना समावेश भएको वर्ष पुस्तक सार्वजनिक गरेको हो। ६ सय ४८ बलत्कारका घटना भएको पुस्तकमा उल्लेख गरिएको इन्सेकका सुदूरपश्चिम प्रदेश प्रमुख खडकराज जोशीले बताएका छन्। यसैगरी १ सय ५२ बलात्कार प्रयासका घटना भएका छन् भने बोक्सी आरोपमा ५८ र घरेलु हिंसामा १ सय ४६ जना महिला पीडित रहेको उनले बताए। बेचबिखनमा २५ र यौन दुव्र्यवहारको घटनामा ६२ जना पीडित भएका छन्। यसैगरी परिवारजनबाट १ सय २ महिलाको हत्या भएको छ। एक वर्षमा हत्या भएका महिलाको संख्या १ सय ५८ रहेको छ। हत्या भएका पुरुषको संख्या भने बढी छ। हत्या भएका पुरुषको संख्या १ सय ८४ रहेको छ। यीमध्ये ७ जनाको हत्या राज्यपक्षले गरेको पुस्तकमा उल्लेख छ। यसैगरी बालअधिकार उल्लंघनका घटनामा १ हजार ४ सय ६१ जना पीडित भएका छन्। जसमध्ये बलात्कारका घटनामा ९ सय ८९, यौन दुव्र्यवहारका घटनामा ३ सय ५६ र विद्यालयमा शारीरिक यातना पाएकोमा १९ जना रहेका छन्।

सन् २०२० मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा ५ हजार ५ सय ४३ जना पीडित छन्। तीमध्ये ४ हजार ३ सय २९ महिला पीडित छन्। यसैगरी देशभरका कारागारको क्षमता करिब ११ हजार रहेकामा दोब्बरभन्दा बढी २३ हजार बढी कैदी राखिएको पुस्तकमा उल्लेख गरेको छ। क्षमताभन्दा बढी राखिएका कैदीलाई सुत्न, बस्न, खान, पकाउन, हिँडडुल गर्न, नुहाउन, शौचालय जान समस्याका साथै विभिन्न रोगको संक्रमण देखिएको उल्लेख छ।

सशस्त्र द्वन्द्वको लामो समय बितिसक्दा पनि संक्रमणकालीन न्यायका सवाल जस्ताको त्यस्तै रहेको पनि पुस्तकमा उल्लेख गरिएको जोशीले बताए। सुदूरपश्चिममा मानवअधिकार उल्लंघन र ज्यादतीका ५ सय १७ घटना भएका छन्। तीमध्ये ४ सय १९ महिला पीडित छन्।

प्रकाशित: ९ फाल्गुन २०७७ ०२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App