५ वैशाख २०८१ बुधबार
समाज

भरियामार्फत अवैध रकम ओसारपसार

स्रोत नखुलेको करिब २२ लाख रूपैयाँसहित रौतहट प्रहरीले सोमबार एकजनालाई पक्राउ गरेको छ। गौर नगरपालिका–४ बसपार्क नजिकबाट नम्बर नभएको रातो रङको स्कुटरमा सवारलाई शंका लागेर चेकजाँच गर्दा २१ लाख ९० हजार रूपैयाँसहित रौतहटको परोहा नगरपालिका–१ का महम्मद दिलसाद आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

प्रहरीले सोधपुछ गर्दा रकमको स्रोतबारे बताउन नसकेपछि आलमलाई सम्पत्ति शुद्धीकरण विभागमा आवश्यक कारबाहीका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। चेकजाँचका क्रममा दिलसादबाट ३१ लाख १६ हजार रूपैयाँको पाँचवटा चेक पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी गराएका छन्।

पछिल्लो समय प्रदेश २ का सीमावर्ती नाकाबाट स्रोत नखुलेको रकम ओसारपसार बढेको पाइएको छ। साउनयता नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रदेश २ अन्तर्गत पर्ने सीमावर्ती नाका आसपासबाट स्रोत नखुलेको तीन करोडभन्दा बढी रूपैयाँ बरामद गरेको छ। यस धन्दामा नेपाली र भारतीयको संलग्नता पाइएको छ।

बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रूपैयाँसहित पक्राउ परेका दुई भारतीयलाई आइतबार मात्रै सार्वजनिक गरेको थियो। सार्वजनिक गरिएकामा भारत बिहार मोतिहारी जिल्ला हरपुर–१० घोडासहनका अरबिन्द महतो र अर्का एक नाबालक रहेको बारा प्रहरी प्रमुख एसपी दीपेन्द्र शाहीले बताए। सीमावर्ती जोतपुर अस्थायी प्रहरी पोस्ट हुँदै नेपालतर्फ आउँदै गरेको बिआर ०५–६४१७ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा उक्त रकम बरामद भएको एसपी शाहीले जानकारी दिए। ‘सीमापारिबाट आउने सवारीसाधनको जाँच कडा पारेका थियौं,’ एसपी शाहीले भने, ‘जाँचका क्रममा ०५–६४१७ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुईजनाबाट स्रोत नखुलेको ४९ लाख नेपाली रूपैयाँ बरामद भयो। उनीहरूले बोकेको झोलामा पैसा थियो।’ बरामद रकममध्ये एक हजार दरका १९ सय २३, पाँच सय दरका ५७ सय चार, सय दरका १२ सय र ५० दरका सय थान रहेको उनले बताए। ‘उक्त रकम आगुऔषध कारोबार, हातहतियार खरिद वा आपराधिक कार्यमा प्रयोग गर्ने उद्देश्यले नेपाल भित्र्याइएको हुन सक्छ’, उनले भने, ‘अनुसन्धानबाट रकम भित्र्याउनुको उद्देश्य प्रस्ट हुन्छ।’

पक्राउ परेका भारतीयले शंकास्पद बयान दिएको प्रहरी स्रोतले बतायो। नेपालमा बसेर भारतबाट नेपाली रूपैयाँ भित्र्याउने व्यक्तिहरूको पनि खोजतलास सुरु गरिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए। यसअघि स्रोत नखुलेको रकम बरामद गरिए पनि कारोबारी उम्कन सफल हुँदै आएका थिए। यसपटक रंगेहात पक्राउ गरिएकाले स्रोत नखुलेको रकम ओसारपसारका मुख्य कारोबारी पहिचानमा सहज हुने डिएसपी मिश्रले बताए। स्रोत नखुलेको रकमसहित पक्राउ परेका दुवैजनालाई थप कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पठाइएको छ।

पुस दोस्रो साता पनि रौतहटको मौलापुरबाट खटिएको प्रहरी टोलीले सीमापारिबाट आउने सवारीसाधन जाँच गर्दा प्रदेश १–०२०४२ प २००० नम्बरको मोटरसाइकलमा रहेका सिम्रोनगढ नगरपालिका–१ का धीरेन्द्र साहको साथबाट स्रोत नखुलेको आठ लाख रूपैयाँ बरामद गरेको थियो।

त्यस्तै पुस ११ गते रौतहट सदरमुकाम गौर नगरपालिका–२ महादेवपट्टीबाट स्रोत नखुलेको १२ लाख नेपाली रूपैयाँसहित भारतको पूर्वी चम्पारण थाना ढाका, ग्राम पञ्चायत फुलबरिया–१० का ललनकुमार र रोहितकुमार जैसवाललाई प्रहरीले पक्राउ गरेको थियो। भदौ ३ गते गौर नगरपालिका–२ महादेवपट्टीबाटै भारत सीतामढी बैरगानियाँ–१ सुन्दरिया बस्ने ४५ वर्षीया शान्ति देवी र ४४ वर्षीया मीना देवीलाई नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको ६ लाख ४० हजार नेपाली रूपैयाँसहित सशस्त्र प्रहरी बल नेपाल बिओपी गौरबाट खटिएको टोलीले पक्राउ गरेको थियो।

त्यस्तै सिरहा प्रहरीले पुस दोस्रो साता स्रोत नखुलेको ३१ लाख ८९ हजार रूपैयाँसहित सिरहा नगरपालिका–२२ हकपाडाका ३९ वर्षीय शिवनाथ यादवलाई पक्राउ गरेको थियो। प्रहरी चौकी लकडीगोठबाट खटिएको टोलीले सीमापारिबाट आइरहेका यादवलाई जाँच गर्ने क्रममा उनका साथमा रहेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरेको जानकारी सिरहा प्रहरीका प्रवक्ता डिएसपी शालिग्राम शर्माले दिए। यादवलाई बरामद रकमसहित आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग ललितपुर पठाइएको उनले बताए।

पुस तेस्रो साता सिरहाको सीमावर्ती बरियारपट्टी गाउँपालिका–१ कचनारीबाट प्रहरीले स्रोत नखुलेको नौ लाख रूपैयाँसहित बरियारपट्टी गाउँपालिका–२ खोक्सीका ४० वर्षीय मोहमद सगिर मियाँ र २४ वर्षीय मेहदी मन्सुरलाई प्रहरीले पक्राउ गरेको थियो। सीमापारिबाट आएका उनीहरूका साथमा रहेको झोला जाँच गर्दा स्रोत नखुलेको उक्त रकम बरामद भएको जानकारी डिएसपी शर्माले दिए।

सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको रकमसहित पक्राउ परेकामा भरिया मात्र भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। मुख्य कारोबारीसम्म प्रहरी अझै पुग्न सकेको छैन। पछिल्लो समय हुन्डी कारोबारीमाथि निगरानी र कारबाही कडा पारिएपछि भरियामार्फत स्रोत नखुलेको रकम ओसारपसार सुरु भएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले बताए। उनले भने, ‘ननबैंकिङ प्रणालीबाट हुने कारोबारको लेनदेनमा भरिया प्रयोग हुन थालेका छन्। भरियालाई पक्राउ गर्न प्रहरी सफल भैरहेको छ। यो कारोबारका मुख्य व्यक्तिसम्म पुग्न हामी प्रयासरत छौं।’

प्रकाशित: २७ माघ २०७७ ००:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App