बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीपछि गोरखाको धार्चे गाउँपालिका हुँदै चुमनुब्री गाउँपालिकाको जगत गाउँ जाने सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा स्थानीयको आवतजावत ठप्प भएको छ भने प्रभावित बस्तीमा राहत तथा उद्धारको चुनौती देखिएको छ।
धार्चे गाउँपालिका–३ का वडाध्यक्ष लक्ष्मण गुरुङका अनुसार धार्चेको फलामबेसीदेखि माथि बाँसिकसम्म जाने सडक पूर्ण रूपमा अवरुद्ध छ। सडकमा पैदल हिँड्नसमेत नसकिने अवस्था रहेकाले सवारीसाधन सञ्चालनको सम्भावना छैन।
‘फलामबेसीदेखि माथि जगततर्फ जाने बाटो बन्द छ। मानिस हिँड्न सक्ने बाटोसमेत छैन, गाडीको त कुरै छाडौँ,’ गुरुङले भने।
उनका अनुसार धार्चे गाउँपालिका–३ अन्तर्गत हर्स्याङ खोलानजिकको सडकमा ठूलो क्षति पुगेको छ। उक्त स्थानमा सडक मर्मत गर्नुपर्ने भएकाले आवागमन तत्काल सहज हुने अवस्था छैन। केही खण्डमा मर्मतको काम भए पनि फलामबेसीदेखि माथिको सडक सञ्चालनमा आउन सकेको छैन।
जगत गाउँ धार्चे गाउँपालिकाभन्दा माथि चुमनुब्री गाउँपालिकामा पर्छ। धार्चेतर्फकै सडक अवरुद्ध भएपछि जगत गाउँसम्म पुग्ने बाटो पनि बन्द भएको हो।
बाढी प्रभावित स्थानीयलाई अहिले आफन्त तथा गाउँका घरमा राखिएको गुरुङले बताए। धार्चे क्षेत्रका प्रभावित केही परिवार आफन्तको घरमा बसेका छन् भने दोभान क्षेत्रका प्रभावितलाई पनि नजिकका गाउँमा आश्रय दिइएको बताए।
प्रभावितलाई राख्न होल्डिङ सेन्टर निर्माण नभएको बताउँदै होल्डिङ सेन्टर सञ्चालन गर्न खानेपानी, शौचालय, बत्ती, भान्सालगायत आधारभूत सुविधाको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।
प्रकाशित: २७ आश्विन २०८३ १६:२२ मंगलबार



-600x400.jpg)

