२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

हिमपातले सकस

हिमाली जिल्ला मनाङको नार र फु (करिब ११ हजार फिट उचाइ) गाउँका बासिन्दा यतिबेला रातिको समयमा माइनस १५ डिग्रीको चिसो खेपिरहेका छन्। दिउँसोमा पनि माइनस ७ डिग्री हुन्छ त्यहाँको तापक्रम। घाम लाग्दा दिउँसोमा चिसो केही कम हुने भए पनि बिहानबेलुका घरबाहिर निस्कन मुस्किल पर्छ।  

कोरोना कहर नहुँदो हो त यो बेला नार र फूका अधिकांश घर रित्तै हुन्थे। केही युवा मात्र गाउँमा हुन्थे। महिला, बालबालिका, वृद्धवृद्धा सहर (पोखरा, काठमाडौं, बेंसीसहर) झरेका हुन्थे। तर कोरोनाले यो पटक ती गाउँले सहर झर्नबाट रोकिए। हिमपात भएपछि दुर्गम ती गाउँका बासिन्दा चिसोले आहत छन्।

मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्ष मिङमा छिरीङ लामा भन्छन, ‘मुटु कमाउने चिसो छ। सोमबारदेखि हिउँ पर्न थालेको छ। तापक्रम रातमा माइनस १५ र दिनमा माइनस ७ डिग्री हुन्छ।’ उनका अनुसार पोहोर–परार यो बेला धेरैजसो गाउँले जाडो छल्न सहर झरिसकेका हुन्थे। घर कुरेर बसेका सीमित व्यक्तिमात्र गाउँमा भेटिन्थे तर अहिले कोरोनाले गर्दा अधिकांश बासिन्दा गाउँमै रोकिएको उनले बताए। ‘बाहिरबाट हेर्दा त अरू समस्या केही छैन। दाउराको आगो ताप्ने, रासन खाने र बस्ने गरेको देखिन्छ। तर, हिँडडुल सकसपूर्ण छ। घरबाट बाहिर निस्कन पनि कठिन छ,’ उनले भने, ‘अहिले नै ५/६ इन्चसम्म हिउँ जमेको छ। योभन्दा बढी पर्‍यो भने त कठिन हुन्छ।’ चिसो अधिक हुँदा गाउँमा खानेपानीको अप्ठेरो परेको लामाले सुनाए। ‘सबैतिर पानी जमेको छ।  

पानी जमेपछि टाढाको खोलामा गएर मात्र पानी ल्याउन मिल्छ,’ उनले भने, ‘धारामा पानी आउन छाडेको लामो समय भइसक्यो।’ जाडो छल्न सहर झर्न नपाउँदा यो पटक सबैलाई सकसपूर्ण अवस्था आएको उनले बताए।  

पश्चिमी वायुको प्रभावले तीन दिनसम्म मौसममा बदली आउने मौसमविद्ले बताएका छन्। मौसमविदका अनुसार सोमबारदेखि चिसो पनि ह्वात्तै बढेको छ। उच्च हिमाली भेगमा हिमपात भएको छ। हिमाली भेगमा चिसोले जनजीवन प्रभावित भएको छ। हिमालपारिका जिल्ला मुस्ताङ र मनाङको माथिल्लो भेगमा ह्वात्तै चिसो बढेको त्यहाँका स्थानीयले बताए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का मनाङस्थित संरक्षण अधिकृत लेखनाथ गौतमका अनुसार सोमबार बेलुकीदेखि हिउँ पर्न थालेको छ। ‘झन्डै एकफिट हिउँ जमेको छ। रातभर र बिहानैदेखि हिमपात भइरहेको छ,’ उनले भने, ‘चिसो पनि उत्तिकै छ।’ रातमा माइनस १५ र दिनमा पनि माइनस एक डिग्रीमा तापक्रम झरेको उनले बताए। उनले यो वर्ष चिसो छल्न सहर झर्न नपाउँदा स्थानीयले पीडा खेप्नुपरेको बताए। अर्काे हिमाली जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रको जनजीवन पनि चिसोले कष्टपूर्ण बनेको छ। लोमान्थाङको तापक्रम माइनस १६ डिग्रीमा झरेको स्थानीय व्यवसायी छेवाङ गुरुङले बताए। उनका अनुसार सोमबार बिहानैदेखि चिसो बढेको छ। उनका अनुसार लोमान्थाङ क्षेत्रमा मंगलबार बिहान ४ बजेदेखि हिमपात भइरहेको छ। ‘चार इन्चजति हिउँ जमेको छ। चिसो निकै बढेको छ,’ उनले भने, ‘हिमाली भेगमा हिमपात हुनु त राम्रो हो तर यो पटक कोरोनाले गर्दा सहर जान रोकिएका गाउँले हिमपातको मारमा परेका छन्।’ उनका अनुसार लोमान्थाङ क्षेत्रमा पानी जमेर धारामा आउन छाडेको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजन (एक्याप) का जोमसोमस्थित प्रमुख तुलसी दाहालले पनि माथिल्लो क्षेत्रमा हिमपात भएको र तल्लो भेगमा चिसो बढेको बताए। ‘रातिमा तापक्रम माइनस ८ डिग्रीसम्म झर्छ। जनजीवन कष्टपूण बन्दैछ,’ उनले भने, ‘पानी जम्दा बढी समस्या भयो। ट्यांकीको धाराबाट पानी झर्दैन, खोलाको पानी संकलन गरेर पिउने हो।’ कोरोना संक्रमणका कारण यो पटक मुस्ताङ र मनाङका बासिन्दा चिसो छल्न सहर झर्न नपाएर गाउँमै रोकिएका छन्।

प्रकाशित: २२ पुस २०७७ ००:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App