विराटनगरमा आइतबार बिहान दुर्घटनामा परेको गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ।
विराटनगर महानगरपालिका–५ स्थित पुलचोकमा आइतबार बिहान १ बजेतिर दुर्घटनामा परेको स्कारपिओ गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।
उनका अनुसार सडक छेउको खाल्डोमा परेर दुर्घटनामा परेको बा ८ च ६५०८ नम्बरको गाडीबाट ४ सय २० किलो गाँजा बरामद भएको हो। राति प्रहरीलाई छलेर गाँजा लिएर भित्री सडक खण्ड हुँदै तीव्र गतिमा गुडिरहेका गाडी अचानक अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेर दुर्घटना भएको हुनसक्ने बताउँदै एसपी कटवालले भने, ‘दुर्घटनाको प्रारम्भिक अनुसन्धानकाका क्रममा राति सुनसानमा तीव्र गतिमा गाडी चलाउँदा अनियन्त्रित भएको हुनुपर्छ। सवारी दुर्घटनाको खबर आउनासाथ सिआरभी र वडा प्रहरी कार्यालय विराटनगर (क)को टोली पुग्दा त्यहाँ गाडी मात्रै फेला परेको र चालक फरार भइसकेको थियो। गाडीमा चालक मात्रै थिए वा अन्य कोही थिए वा थिएनन् खुल्न बाँकी रहेको छ। चालक, गाडीधनीलगायतको खोजीका साथै घटनाको थप अनुसन्धान अघि बढाइएको छ।’
'दुर्घटना भएको गाडीलाई खाल्डोबाट क्रेनको मद्दतले बाहिर निकालेपछि शंकास्पद लाग्यो,' एसपी कटवालले भने, ‘गाडी नियन्त्रणमा लिएर खानतलासी गर्दा गाडीभित्र सिट तथा डिक्कीको भागमा प्लास्टिकले बेरेर लुकाइछिपाइ राखिएको अवस्थामा ४२० केजी गाँजा फेला परेको हो। यद्यपि, गाँजा कहाँबाट ल्याइएको र अन्तिम गन्तव्य कहाँ थियो भन्नेबारे यकिन हुन सकेको छैन अनुसन्धानपछि सबै कुरा प्रष्ट हुनेछ।’
प्रहरीले गाडीको दर्ता विवरण, स्वामित्व र सम्भावित नेटवर्कबारे छानबिन थालिसकेको बताएको छ। अवैध कारोबारीहरूले चुनावको मुखमा धेरै गैह्रकानुनी काम गर्छन्। उनीहरूले प्रहरीलगायत सुरक्षा निकायको ध्यान चुनावमा मात्रै केन्द्रित हुन्छ भन्ने सोच बनाउने गरेको बताउँदै एसपी कटवाल भने, ‘अन्य समयको भन्दा झन् बढी चुनावका समयमा सुरक्षामा ध्यान दिनुपर्ने हुन्छ। त्यसअनुरुप जिल्लामा सुरक्षा व्यवस्था मिलाइएको छ। सुरक्षा मजबुती भएको देखेपछि मुख्य सडकबाट आउन नसकेपछि भित्रीभित्री बाटो खोज्दै हिँड्ने क्रममा नयाँ बाटो भएको र नयाँ बाटो कहाँ कस्तो छ भन्ने यकिन नभएको हुँदा तीव्रगतिमा चलाएको बखत दुर्घटना भएको हुनसक्छ।’
एसपी कटवालले लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राखिएको बताउँदै अवैध धन्दामा सक्रिय गिरोहविरुद्ध प्रहरी निर्मम रुपमा प्रस्तुत भइरहेको बताए।
प्रहरीले केही दिनअघि मात्रै मोरङको भारतसँगको सीमावर्ती पालिका जहदाबाट गाँजा बरामद गरेको थियो। जहदा–१ का चन्दनकुमार साहले गाँजा लुकाइ रहेको छ भन्ने सूचनाका आधारमा खानतलासी गर्दा घर नजिककै रहेको खाल्डोबाट २७५ केजी गाँजा प्रहरीले बरामद गरेको थियो।
प्रकाशित: ३ फाल्गुन २०८२ १८:०६ आइतबार





