१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ठेकेदारको ढिलाइले नउठेको गोरखा दरबार

पुनःनिर्माण हुँदै गरेको गोरखा दरबार । तस्विर ः नरहरि सापकोटा÷नागरिक

गोरखाको इतिहास झल्काउने पु्रातात्विक, ऐतिहासिक गोरखा दरबार पुनः निर्माण अझै सकिएको छैन । निर्माण व्यवसायीका कारण काममा ढिलाई भएपछि स्थानीय आक्रोशित बनेका छन् ।

पचली सिवाको जेभी कन्स्ट्रक्सनले २०७४ कात्तिकमा २४ महिना भित्रै दरबार निर्माण गर्ने सम्झौता पुरातत्व विभागसँग गरेको थियो । पहिलोपटक भएको सम्झौता भित्र निर्माण पुरा नभएपछि छ महिना म्याद थप भयो । मंसिर मसान्त भित्र दोस्रो पटक थपिएको म्याद सकिएपनि अहिले म्याद थप भएको छैन । चारकरोड ३७ लाख रुपैयाँमा भईरहेको पुन निर्माणको कामप्रति सर्वसाधारण, सरोकारावाला, भक्तजन सबै असन्तुष्ट छन् ।  

कोरोना भाइरस संक्रमणको प्रभाव नभएको भए अहिले शैक्षिक भ्रमणको मुख्य सिजन थियो । यो बेला यहाँ विद्यार्थी खचाखच हुन्थे । तर, कोरोनाले गर्दा विद्यार्थी भित्रिन पाएका छैनन् । नेपालको इतिहास बुझन, हेर्न अघिल्ला वर्ष यो बेला दैनिक हजारौं विद्यार्थी गोरखा आउँथे । पुरानो कला कौशल, शाह वंशको इतिहास, गोरखाको धार्मिक, साँस्कृतीक परम्परा झल्कने गरि निर्माण भएको गोरखा दरबार तत्कालीन राजा राम शाहको कार्यकालमा निर्माण भएको मानिन्छ । दरबारमा कलात्मक शैलीका झ्याल ढोका प्रयोग भएका छन् ।  

अहिले गोरखा दरबारको दोस्रो तला निर्माणको काम भईरहेको छ । दरबारमा पुराना झ्याल–ढोका प्रयोग भएका छन् । नयाँ र पुराना निर्माण सामाग्रीका कारण निर्माणाधिन दरवार पहिले भन्दा पनि सुन्दरतामा कमि देखिन थालेको स्थानीयको भनाई छ ।  

दरबार पुनःनिर्माणबारे सरोकारवाला के भन्छन् ?  

निर्माण व्यवसायीको लापरवाहिको सीमा नाघ्यो ः मिलन रानामगर, स्थानीय  

गोरखा दरबार पुनः निर्माण अलपत्र छ । भूकम्पमा भत्किएको दरवार अहिलेसम्म बनेको छैन । ऐतिहासिक धार्मिक धरोहर निर्माणमा ढिलाई गर्ने व्यवसायीलाई कारवाहि पनि भएको छैन । कोरोनालाई कारण देखाउँदै ठेकेदारले झनै काम ढिलो गरेका छन् । गोरखा दरबार बनेको छैन अरे भन्ने हल्लाले भक्तजन, पर्यटक आउने क्रम घटेको छ । जसका कारण स्थानीयको  होटल व्यवसाय, फूल प्रसादको ब्यापार, गोरखाको प्रचार प्रसार समेत राम्रो हुन सकेको छैन । सिंगो जिल्लाको पहिचान रहेको गोरखा दरबार पुनःनिर्माणमा ढिलो हुँदा सरोकारवाला सबैले चासो दिनुपथ्र्यो । त्यो पनि हुन सकेको छैन । ठेकेदारको चरम लापरवाहिले दरबार अलपत्र छ ।  

दरबार देख्दा हामीलाई नै पीडा भयो ः बुद्धी जोगी, भक्तजन  

हामी आफ्नो दुःख पीडा बिर्साउन मठ मन्दिर, दरबार आउँछौं । भगवानलाई पुकार्छौ । तर गोरखकाली मन्दिरमा आएर हेर्दा आफ्नो भन्दा झनै पीडा दरवारको देखियो । यहाँको पुन निर्माण सुस्त छ । धेरै पहिले देखि दरबार पुनः निर्माण पुरा नहुँदा वरपर निर्माण सामग्री यत्रतत्र छरिएका अलपत्र छन् । पैदल हिड्न पनि समस्या छ । यसरी काम नगर्नेलाई सबै पक्षले दबाव दिने र कारवाहिको दायरामा ल्याउने हो भने काम छिटो हुन्थ्यो कि !

ठेकेदारलाई राजनीतिक संरक्षण हुँदा काम भएन ः आनन्द गुरुङ, वडा सदस्य, गोरखा नगरपालिका– ६

हामीले दरबार पुनः निर्माणमा ढिलाई गरेको प्रति पटकपटक सरोकारवालासमक्ष गुनासो ग¥यौं । स्थानीयले वडामा, नगरपालिकामा पनि धेरै गुनासो गर्नुभयो । पुनः निर्माणको काम पुरातत्व बिभागबाट सोझै भएकाले व्यवसायीलाई हाम्रो तर्फबाट दवाव दिन सकिएन । ठुला निर्माण व्यवसायीलाई राजनीतिक दलको संरक्षण हुने रहेछ । कार्यालयका कर्मचारीसँगको मिलेमतोले कारवाहि पनि नहुने रहेछ । जति पटक पनि म्याद थप्न पाईने कस्तो नियम ? त्यही कारण आज गोरखा दरबारको पुनः निर्माण ढिलो भईरहेको छ ।  

निर्माण व्यवसायी उदासिन भए ः हरि भुसाल, प्रमुख, गोरखा दरबार हेरचाह अड्डा

निर्माण व्यवसायी उदासिन हुँदा गोरखा दरबार पुनः निर्माणमा ढिलाई भएको छ । अहिले करिब ६५ प्रतिशत काम सकियो । पुरातत्व बिभागले दोस्रो पटक थपेको म्याद पनि सकियो । पुन म्याद थप गर्ने वा निर्माण व्यवसायीलाई नै कारवाही गर्ने भन्ने यकिन भएको छैन । तर काम भईरहेको छ । दु्रत गतिमा काम भयो भने पनि अझै तीनमहिना लाग्छ । यस अघि जस्तै ढिलाई हुने हो भने कहिले दरबार पुन निर्माण हुन्छ भन्न सकिन्न ।  जगमा प्राविधिक समस्या देखिएपछि छ महिना थप समय लाग्यो । त्यसयता निर्माण व्यवसायीकै कारण मात्र ढिलाई भएको छ । हामीले पटक–पटक ताकेता गरेका छौँ ।  

चैतसम्म सक्ने लक्ष्य छ ः अक्सर अलि मियाँ, ओभरसियर, निर्माण कम्पनी  

अहिले छ जना काठको काम गर्नेहरु छन् । बीचमा काठको समस्याले कामले गती लिन सकेन । पुस मसान्तसम्म दोस्रो तलाको गाह्रो  लगाउन थाल्छौ । चैतसम्म सबै काम सक्ने लक्ष्य छ । दोस्रो तलाको पाखा, दलिन राख्ने काम भईरहेको छ । अब काम धेरै छैन । अन्य पुनः निर्माण जस्तौ छिटो र सहज नहुने रहेछ । 

प्रकाशित: १० पुस २०७७ ०९:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App