पछिल्लो समयमा भने त्यो चलन कम हुँदै गएको उनले सुनाइन्। अहिले होटेलमा चिया खाएपछि गिलास मा‰नुपर्ने स्थिति छैन। पसलबाट पनि अलग्गै सामान लिनुपर्दैन। यति हुँदाहुँदै पनि छुवाछुतबाट मुक्त हुननसकेको साइलीको भनाइ छ। 'दिनभर सँगै हिँडेका साथीसंगीको घरमा अहिले पनि पस्न पाइँदैन। खै मेरो पालामा यो भेदभाव मेटिएला जस्तो लाग्दैन,' उनले भनिन् ।
ललितपुर लामाटारबाट विश्व जातिभेद उन्मूलन दिवस मनाउन आएकी रीता परियारले पनि आफू सानो छँदाभन्दा अहिले भेदभाव घटेको बताइन्। पहिले दलितलाई मन्दिरमा पूजाआजा गर्न तथा धारामा पानी भर्न जान निषेध थियो। अहिले उनी निर्धक्कसाथ धारामा पानी भर्न पाउँछिन्। मन्दिरमा पूजा गर्न दलित महिलासँगै हुल बाँधेर जान्छिन्। 'माथिल्ला जाति'को घरमा भने अहिले पनि पस्न नपाएको उनले सुनाइन्। पुराना पुस्ताले छुवाछूत गरे पनि नयाँ पुस्ता उदार हुँदै गएको उनको अनुभव छ।
गोदावरीकै ५० वर्षीया कान्छी मगरातीका अनुसार पहिले दलित गाउँको धारामा पानी लिन जाँदा माथिल्ला जातिले धारो पखाल्थे। दलितले खाएको भाँडा मा‰नु पर्थ्यो। अहिले त्यस्तो अवस्था छैन। 'पहिले खानेकुरा खाएको भाँडा माझेर, पर्खालमा सुकाएर, सुनपानी छर्केर मात्र भित्र लैजान्थे,'उनले भनिन्। छुवाछूत केही घटे पनि पूरै अन्त्य नभएको उनको ठहर छ।
बिहिबार राजधानीमा ४८ औं विश्व जातिभेद उन्मूलन दिवस मनाउन भेला भएका दलित महिलाहरूले पटक-पटक कार्यक्रम गरे पनि छूवाछूत निर्मूल हुन नसक्दा आफूहरू निरास भएको धारणा व्यक्त गरे।
नेपालमा राणाकालदेखि नै दलित आन्दोलन सुरु भए पनि पञ्चायती व्यवस्थाको अन्त्यसँगै छुवाछूतमा कमी हुँदै गएको दलित अधिकारकर्मीहरूको ठम्याइ छ। दलित महिला उत्थान संघ तथा जातीय समाज समाजकी सदस्य गौरा नेपालीका अनुसार पहिलेको तुलनामा छुवाछूतको रूप फेरिए पनि समस्या अन्त्य भएको छैन। सरकारी/गैरसरकारी संस्थाले यो क्षेत्रमा गरेको लगानीअनुसार छुवाछूत घटेको छैन। तर, पहिलेजस्तो लुकेर बस्ने अवस्थाको भने अन्त्य भएको उनले बताइन्। 'कतै छुवाछुत भएमा पहिले सहेर बस्थे, अहिले कुनै न कुनै रूपमा घटना बाहिर ल्याउने प्रवृत्ति बढ्दै गएको छ। यो परिवर्तनको एउटा रूप हो,' उनले भनिन्।
दलित अधिकारकर्मी तथा लेखक हीरा विश्वकर्मा पनि तुलनात्मक रूपमा छुवाछूत घटेको बताउँछन्। दलित आन्दोलनमै दुई दशक बिताइसकेका विश्वकर्माले आफ्नै जीवनकालमा आएको परिवर्तनको अनुभव सुनाउँदै भने, 'पंचायतकालमा जातीय उत्पीडन छ भन्न पनि पाइँदैन्थ्यो, कानुनी कारबाही पनि हुँँदैन्थ्यो। अहिले स्थिति परिवर्तन भएको छ।' अहिले सार्वजनिक स्थलमा हुने भेदभावमा कमी आएको छ। मन्दिर, पसल र धारामा हुने भेदभावमा केही कमी आएको उनले बताए।
सरकारले कानुनी व्यवस्था परिवर्तन गरे पनि कानुन पालना हुन नसक्दा छुवाछूत घट्न नसकेको विश्वकर्माको भनाइ छ। 'घटनापछि थोरै मात्र प्रहरीमा उजुरी गर्न जान्छन्। बाँकीले अहिले पनि छुवाछूतजन्य घटना आफूमै सीमित राख्ने गरेको देखिन्छ,' उनले भने।
कानुनी व्यवस्था कार्यान्वयन गर्नसके छुवाछुतको अन्त्य हुने अधिकारकर्मीको भनाइ छ। 'प्रहरी र अदालत दलितमुखी हुनुपर्योय, प्रहरीले सजिलै मुद्दा लिँदैैन, यो क्षेत्रलाई बलियो बनाउनुपर्योद,' विश्कर्माले भने। राष्ट्रिय दलित आयोग जिल्लामा शाखा गठन गरी अभियान चलाउने र घटना अनुगमन गर्न सकेमा प्रभावकारी हुने उनको सुझाव छ।
प्रकाशित: ८ चैत्र २०६९ २०:०८ बिहीबार





