२८ वैशाख २०८३ सोमबार
image/svg+xml
धर्म/संस्कृति

४२ दिने बृहत् पाशुपत पदयात्रा सम्पन्न

आध्यात्मिक जागरण र बागमती संरक्षणको सन्देश

देशमा आध्यात्मिक जागरण फैलाउने, वाग्मती गङ्गाको शुद्धीकरणका लागि राज्यलाई दबाब दिने तथा नेपाललाई पुनः गुरुराष्ट्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित सञ्चालन गरिएको ‘बृहत् पाशुपत पदयात्रा’ सम्पन्न भएको छ।

महेश संस्कृत गुरुकुल, देवघाटधामका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिको संकल्पमा सुरु गरिएको यो यात्रा २०८२ चैत १६ गते पशुपतिक्षेत्रबाट प्रारम्भ भएको थियो। चैत १७ गते आदिलिङ्ग कुशेश्वर भगवानको पूजा आराधनापछि औपचारिक रूपमा सुरु भएको पदयात्रा २०८३ वैशाख २८ गते सिद्धलिङ्ग रुद्रगारेश्वरको पूजा तथा रुद्राभिषेकसँगै सम्पन्न भएको हो। सोही अवसरमा सोमबार पशुपति शङ्कराचार्य मठमा समापन सभा आयोजना गरिएको थियो।

आयोजकका अनुसार यात्राको मुख्य उद्देश्य पशुपतिका चतुःषष्ठी उपलिङ्ग तथा ज्योतिर्लिङ्गको प्रचारप्रसार गर्नु, वाग्मती गङ्गा संरक्षणको आवाज उठाउनु, हिन्दु, बौद्ध र किराँत धर्मबीच समन्वयको सन्देश फैलाउनु तथा नेपालमा वैदिक सनातन संस्कृति पुनःस्थापित गर्नु रहेको थियो।

समापन कार्यक्रमअन्तर्गत बिहान ७ बजेदेखि शङ्कराचार्य मठ परिसरमा रुद्री, चण्डी, हवनलगायत धार्मिक अनुष्ठान गरिएको थियो। बिहान ८ बजेदेखि ९:३० बजेसम्म वाग्मती गङ्गामाताको विशेष पूजा र क्षमायाचनाको प्रार्थना गरिएको थियो। त्यसपछि भगवान् पशुपतिनाथको विशेष आराधना, लक्ष्यवर्ती दीप प्रज्वलन तथा पाशुपत महायज्ञको पूर्णाहुति गरिएको थियो।

दिउँसो १२ बजेदेखि २ बजेसम्म आयोजित समापन समारोहमा पदयात्रामा सहभागी साधुसन्त र साधकहरूलाई स्वामी रमणानन्द गिरिले रुद्राक्ष माला र दोसल्ला ओढाएर सम्मान गरेका थिए। कार्यक्रममा आयोजक प्राध्यापक भवानीप्रसाद खतिवडाले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन आचार्य फणीन्द्रप्रसाद पौडेलले गरेका थिए।

समारोहलाई सम्बोधन गर्दै स्वामी रमणानन्द गिरिले आफ्ना गुरु ब्रह्मलीन डा. स्वामी रामानन्द गिरिबाट पाशुपत क्षेत्रको महिमा सुनेपछि आफूमा यस यात्राको अवधारणा जन्मिएको बताए। उनले गत वर्षको कालीगण्डकी पदयात्राका क्रममा पाशुपत पदयात्राको सोच विकसित भएको उल्लेख गरे।

उनका अनुसार यात्रामा प्रत्यक्ष रूपमा ६० देखि ६५ जना साधुसन्त, साधक र भक्तजन सहभागी भए पनि यसमा ३ करोड नेपालीको प्रतिनिधित्व रहेको भावना व्यक्त गरिएको थियो। देश–विदेशमा रहेका नेपाली सनातनीहरूले मानसिक रूपमा यात्रामा सहभागिता जनाएको उनको भनाइ थियो।

स्वामी रमणानन्दले वाग्मती गङ्गाको धार्मिक महत्त्वबारे चर्चा गर्दै शास्त्रमा भागीरथी गङ्गाभन्दा सयौँ गुणा बढी महिमा वाग्मतीको वर्णन गरिएको बताए। उनले वाग्मती सफाइका लागि दीर्घकालीन योजना बनाएर राज्य संयन्त्र तत्काल सक्रिय हुनुपर्ने आवश्यकता औँल्याए।

उनले पशुपति क्षेत्र आसपासका सिद्धस्थल र तीर्थस्थलहरूको संरक्षण, संवर्द्धन तथा पाशुपत क्षेत्रलाई पुनः आध्यात्मिक साधनास्थलका रूपमा स्थापित गर्न सबै नेपाली जागरुक हुनुपर्ने धारणा व्यक्त गरे।

४२ दिनसम्म सञ्चालन भएको यस पदयात्रामा भगवान् शिवको विशेष आराधना, ६४ ज्योतिर्लिङ्गको पूजा तथा रुद्राभिषेक गरिएको थियो। आयोजकले यो यात्रा धार्मिक तीर्थयात्रामात्र नभई राष्ट्रिय चेतना, संस्कार, संस्कृति र सभ्यता संरक्षणको अभियान बनेको दाबी गरेका छन्।

समापन समारोहमा सहभागीहरूले ‘बृहत् पाशुपत पदयात्रा’लाई नेपालमा आध्यात्मिक पुनर्जागरण र राष्ट्रिय एकताको सशक्त अभियानका रूपमा व्याख्या गरेका छन्।

प्रकाशित: २८ वैशाख २०८३ २०:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App