२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

खुल्ला दिसामुक्त क्षेत्रका ४२ सय घरधुरी शौचालयविहीन !

कागजमा मात्र भएको घोषणाले जनप्रतिनिधिलाई गिज्याउने गाउँ

सार्वजनकि शौचालयको शिलान्यास गर्दै लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरी ।

गाउँ–नगरलाई खुला दिसामुक्त घोषणा गर्दै २०७४ चैत ९ गते सिरहा जिल्लालाई तत्कालिन सरसफाइ तथा स्वच्छता समन्वय समितिले सिरहा जिल्लालाई प्रदेशकै पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गर्‍यो।  

घोषणासभाका लागि ५० लाख रकम छुट्याइएको थियो । नाचगान, प्रमुख अतिथि, विशिष्ठ अतिथि, अतिथि सत्कारमा  रकम खर्चिएको थियो । घोषणासभामा मनोरञ्जनात्मक कार्यक्रमका लागि जनकपुरस्थित रंगदर्पणका कलाकारलाई ल्याइएको थियो ।

तामझामसहितको यो कार्यक्रममा आउने अतिथिका लागि लहानका महँगा होटल बुक गरिएका थिए । दिवा खानपानका कार्यक्रम सिरहामै आयोजन गरियो । रात्रिबास र रात्रिभोज लहानमा आयोजना गरिएको थियो ।

विपन्न जनताको जिन्दगीमा ऋणको भार थपेर अभियानका रूपमा चलाइएको खुला दिसामुक्त क्षेत्रको तडकभडकपूर्ण घोषणा भने स्वयंमा उपहासको विषय बनेको त्यो बेला पनि आलोचना नभएको होइन ।  

सिरहामा नै पनि सबै घरमा शौचालय बनिसकेको थिएन । बनेका पनि प्रयोग गरिएका थिएनन् । त्यसमाथि भड्किलो कार्यक्रम गरेर फजुल खर्च गर्नुको साटो विपन्नलाई शौचालय सहयोग गरिदिएको भए अभियानले सार्थकता पाउने धेरैको कथन थियो । तर, गाउँगाउँबाट जनता ओसारेर  कार्यक्रम गरी मुख्यमन्त्रीबाट खुला दिसामुक्त जिल्ला घोषणा गराइनुले सन्देश मात्र नराम्रो दिएन यसको प्रभावकारितामाथि नै प्रश्न तेर्सियो ।  

जिल्लालाई खुला दिसामुक्त घोषणा गर्नुअघि विपन्न बस्तीमा बनाइएका शौचालय दिसापिसाबका लागि उपयुक्त थिएन । धेरै विपन्नको घरमा शौचालय नै थिएन । खासगरी सुकुमबासीका घरमा भान्सासँगै जोडेर बनाइएका शौचालय प्रयोगविहीन थिए । सबैलाई शौचालय बनाउन अनिवार्य गरिएका कारण विपन्नलाई ऋणको भार थपेर पनि बनाए । तर, अनुपयुक्त शौचालय प्रयोग नै गरेनन् ।  

सुकुम्बासी बस्तीमा सामुदायिक शौचालय बनाइदिएका भए सजिलो हुने धेरैको धारणालाई बेवास्ता गरियो । दिनदिनै प्रहरीबाट पक्राउ परेर एकएक हजार रुपैयाँ जरिवाना बुझाउनुभन्दा ऋणै लिएर पनि शौचालय बनाउने विपन्नहरुले निधो गरेर र बनाए पनि । सुकुम्बासीहरु ऐलानीमा बनाएका छाप्रोपछाडि शौचालय बनाउन खोज्दा जग्गाधनीले चर्पीका लागि खाल्डो नै खन्न दिएनन् । उनीहरुसँग एउटै विकल्प थियो, सुत्ने छाप्रोभित्र चर्पी बनाउनु । सुत्ने ठाउँमा चर्पी कसरी बनाउने र बनाएपनि कसरी प्रयोग गर्ने अलमलबीच यो कार्यक्रम सफल भएको घोषणा त भयो तर कागजमा मात्र ।

अहिले आएर त्यो बेलाको अनियमितता छताछुल्ल भइरहेको छ । अहिले वाटर एड नामक दातृ संस्थाले लहानस्थित दलित जनकल्याण युवा क्लव र लहान नगरपालिकासँगको सहकार्यमा नगरलाई खुल्ला दिसामुक्त बनाउन बुधबारदेखि पुनः अभियान सञ्चालन गरेको छ । यो दातृ निकायले नगरभित्र गरेको सर्वेक्षणअनुसार नगरका ४२ सय घरधुरी शौचालय प्रयोग गर्दैनन् । अर्थात खुल्लामा सौच गर्छन् । जसमध्ये ३ हजार ८ सय घरधुरीमा त शौचालय नै छैन। चार सय घरधुरीमा भएपनि शौचालयमा दिसा गर्दैनन् । नगरपालिकाको पछिल्लो सर्वेक्षणअनुसार २४ हजार सात सय घरधुरीमध्ये झण्डै १७ प्रतिशत घरधुरीमा आजसम्म पनि शौचालय छैन ।  

यो सार्वेक्षण प्रतिवेदनले त्यो बेलाको खुल्ला दिसामुक्त घोषणालाई गिज्याएको छ । त्यतिमात्र नभई त्यो बेलाको अनियमिततालाई पनि छताछुल्ला पारिदिएको छ ।  

०७४ सालमा जिल्ला खुल्ला दिसामुक्त घोषणा गर्दा ९९.६९ प्रतिशत घरधुरीमा शौचालय भएको तथ्यांक सार्वजनिक गरिएको थियो ।

अहिले वाटर एड नामक दातृ संस्थाले लहानमा गैरसरकारी संस्था र नगरपालिकासँगको सहकार्यमा दिगो सरसफाइ प्रवर्द्धनका लागि ‘घर–घरको शान, स्वच्छता अभियान–२०८२’ सुरु गरेको छ ।  

नगर प्रमुख महेश प्रसाद चौधरीले भने ‘सन २०१७ अर्थात् २०७४ मै खुल्ला दिसामुक्त घोषणा भइसकेको नगरमा आज पनि यति धेरै घरपरिवार शौचालयविहीन हुनु चिन्ताजनक अवस्था हो । अब घर–घर पुगेर वास्तविक अवस्था परिवर्तन गर्नेछौं ।’

दलित, भूमिहीन, गरिब तथा बाढी–जोखिमयुक्त बस्तीमा समस्या बढी देखिएको छ । दिसाजन्य लेदो प्रशोधन केन्द्रको अभाव, सुरक्षित पानीको कमी तथा मर्मत–सम्भार कमजोरीले स्वच्छतास्तर कमजोर बनेको नगरपालिकाको प्रारम्भिक विश्लेषणले देखाउँछ । नगरप्रमुख चौधरीले भूमिहीन सुकुम्बासीका लागि उपयुक्त स्थान पहिचान गरी स्थानान्तरण प्रक्रिया अघि बढाइने पनि बताए ।

नगरपालिकाले जनप्रतिनिधि, सामाजिक परिचालक, समुदायका संस्था, विद्यालय तथा युवा समूहको सहकार्यमा तीन महिनासम्म घर–घरमै पुगेर प्रत्यक्ष अनुगमन गर्ने तयारी गरेको छ ।

नगरप्रमुख चौधरीले सबै नागरिकलाई अभियानमा सहभागी हुन आग्रह गर्दै भने,‘शौचालय हुनु केवल सुविधा मात्र होइन, स्वास्थ्य र सम्मान दुवै हो । स्वच्छता सुधार नगरवासीकै सक्रिय सहभागिताबाट सम्भव हुन्छ ।’

यसैबीच लहान नगरपालिकाका प्रमुख चौधरीले पूर्वपश्चिम राजमार्गको हुलाक नजिक सुविधासम्पन्न सार्वजनिक शौचालयको सिलान्यास गरेका छन् । ५० लाखको लागतमा तल शौचालय र माथि कफिसप लगायतको सुविधासम्पन्न भवन बनेपछि राजमार्ग क्षेत्र भएर आउजाउ गर्नेलाई उत्तम विश्रामस्थल हुनेछ । 

प्रकाशित: ३ मंसिर २०८२ १७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App