२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

किसानलाई प्रोत्साहन गर्दै सिदिङ्वा

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले जग्गा भाडामा लिएर खेति गर्न खोज्ने किसानलाई जग्गा भाडा वापत बार्षिक १ लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने भएको छ ।  

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार जग्गा भाडामा लिएर नगदेबाली,फलफूल र तरकारी खेति गर्न इच्छुक किसानलाई जग्गा भाडा वापत पालिकाले अधिकतम् १ लाख रुपैयाँसम्म अनुदान दिने तयारी गरेको जानकारी दिए । किसानलाई खेतिप्रति आर्कषण बढाउन तथा व्यवसायिक खेति प्रणालीमा आवद्ध गराई आर्थिक सुधारको अभियानमा केन्द्रित गर्न पालिकाले यस्तो अभियान चालेको अधिकारीले जानकारी दिए ।  

पालिकाले चालु आर्थिक बर्ष २०८२।८३ को बजेटमार्फत यो व्यवस्था गरी बार्षिक स्वीकृत कार्यक्रम अनुसार जग्गा भाडामा लिएर खेति गर्ने किसानलाई अनुदान उपलब्ध गराउने तयारी गरेको छ ।  

पालिकाका लेखा प्रमुख भूपेन्द्र बुढाक्षेत्रीका अनुसार पालिकाका प्रत्येक वडाबाट १ जना कृषक उद्यमी वा एक कृषक सहकारी संस्थाले यस्तो अनुदान पाउने छन् । अनुदान प्राप्त गर्न इच्छुक किसानले मंसिर २५ गते भित्रमा पालिकाका आबेदन गरिसक्नुपर्ने समेत निमित्त प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए ।  

अहिलेसम्म वडा नं ४ साब्लाखु र वडा नं ६ मेहेलेबाट मात्र सिफारिससहितको आबेदन आएको पालिकाले जनाएको छ । बजारको अधिक माग र बजार मूल्य उच्च रहेका बाली लगाउने गरी प्रस्ताव पेश गर्ने वा सामूहित खेति गर्ने गरी प्रस्ताव पेश गर्ने वा बैदेशिक रोजगारीबाट फर्किएर त्यहाँको सीप समेत स्थानीय रुपमै प्रयोग गर्नेगरी प्रस्ताव पेश गर्नेहरु प्राथमिकतामा पर्ने पालिकाले जनाएको छ । 

जग्गा भाडा वापतको अनुदान पेश गर्नेले न्यूनतम् १५ रोपनीमा खेति गर्नुपर्ने,खेति गर्न योजना तय गरिएको जग्गाको जग्गा धनीपूर्जाको प्रतिलिपि पेश गर्नुपर्ने,बार्षिक जग्गा भाडा १ लाख कायम हुनेगरीको प्रस्ताव तयार गर्नुपर्ने,कम्तिमा ३ बर्षसम्म उक्त जग्गामा उल्लेखित खेति गर्ने प्रतिबद्धता सहितको योजना पेश गर्नुपर्ने र प्रस्तावक सिदिङ्वा गाउँपालिकाको सम्वन्धित वडाको स्थायी बासिन्दा भएको हुनुपर्ने पालिकाको सर्त रहेको छ ।  

प्रकाशित: २० मंसिर २०८२ १४:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App