७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

खस शब्दकोश प्रकाशनको अन्तिम तयारी

खस शब्दकोश प्रकाशनको अन्तिम तयारी भइरहेको छ। लामो समयदेखि खस शब्द संकलन भइरहेको थियो। खसिया आखर नामक पत्रिकाका सम्पादक रमानन्द आचार्यको नेतृत्वमा खस शब्दकोश प्रकाशन गर्न थालिएको हो।  

सम्पादक आचार्यले भने,‘अहिले आर्थिक स्रोत जुटेको छ। शब्दकोश प्रकाशनको तीव्र तयारी भइरहेको छ। यो कर्णालीको खस भाषा संरक्षणको एक बलियो आधार हुनेछ।’ पछिल्लो समयमा आधुनिक भाषा संस्कृतिको विकासले खस भाषा संकटमा परिरहेको छ। खस भाषाको शब्दकोश प्रकाशनको लागि कर्णाली प्रदेश सरकार सामाजिक मन्त्रालयले बजेटको ब्यवस्थापन गर्ने भएको सम्पादक आचार्यले बताए।  

सम्पादक आचार्यको नेतृत्वको टोलीले २०६४ सालदेखि शब्द संकलनको काम सुरु गरेको थियो। हातले लेखिएका शब्दहरु अहिले कम्प्युटर टाइपिङ भइरहेका छन्।    

बजेट व्यवस्थापनको अभावले शब्दकोश प्रकाशन अन्यौलमा थियो। तत्कालिन जिल्ला विकास समिति, अहिलेका स्थानीय सरकार सबैलाई शब्दकोश प्रकाशनको लागि सहयोग गर्न आग्रह गरिएको थियो। तर कसैले चासो नदेखाएपछि समस्या परिरहेको थियो।  

चालु आर्थिक वर्षको कर्णाली प्रदेशको बजेटमा खस शब्दकोश प्रकाशनका लागि सहयोग गर्ने उल्लेख भएपछि खर्चको परियोजना प्रस्ताव पठाइसकिएको छ। आचार्यले भने, ‘अब लामो समयदेखि मेहनतको कदर भयो। खस भाषाको संरक्षण गर्ने धोको केही हदसम्म पुरा हुने भयो। यसैमा निकै खुसी छु।’  

खसिया आखरका सदस्य प्रकाश चन्द्र खत्रीले सामाजिक विकास मन्त्रालयलाई ३२ लाख रुपैयाँ बढीको लागत परियोजना पेस गरेको बताए। उनले भने,‘ तत्कालिन खस साम्राज्यको राजधानी सिञ्जा र खस भाषाको उत्पत्ति जुम्लाबाटै भई अहिले राष्ट्रिय भाषाको रुपमा परिणत भएकाले खस शब्द जोगाई राख्न पछिल्लो महत्वपूर्ण दस्तावेज खस शब्दकोश हुने छ। शब्दकोश प्रकाशनका लागि साथ दिने कर्णाली सरकार प्रति निकै आभारी छौँ।’

जिल्लामा खस शब्दकोष प्रकाशनका लागि खसिया आखर समितिको वैठकले सामाजिक विकास मन्त्रालयलाई बजेट माग गर्न जिल्ला समन्वय समितिलाई सिफारिस गरिदिनको लागि आग्रह गर्ने निर्णय समेत गरेको थियो।  

यो समग्रका कर्णालीको ऐतिहासिक दस्तावेज हो। आचार्यले २५ हजार बढी खस शब्दकोश संकलन भइसकेको बताए। यहाँ खस साम्राज्य हुने समयमा चार वटा दरा थिए। पानसय, असी, चौधविस र सिँजा। यी चारवटै दरामा आआफ्नै अनुकलताको भाषा बोलिन्छ। सबै क्षेत्रको प्रतिनिधित्व हुने गरि शब्दकोश निर्माण गरिएको छ। अहिले अ देखी न सम्मका शब्द कम्प्यूटर टाईपिङ भईसकेको छ।  

तत्कालिन समयमा जिल्ला विसका समिति हुँदा स्थानीय विकास अधिकारी तिलक पौडेलको पहलमा खस शब्दकोष निर्माणका लागि शब्द संकलनको कार्य प्रारम्भ भएको थियो। शब्द संकलनमा जुम्लाका सबै क्षेत्रमा मानिसहरुको सहभागिता छ। शब्द संकलनको अगुवाई रमानन्द आचार्यले गरेका थिए। सदस्यहरुमा खस संस्कृतिका जानकार तुंगनाथ उपाध्याय, दयादत्त हमाल, प्रकाशचन्द्र खत्री र हरिवावु चौलागाई थिए।    

बजेट ब्यवस्थापन भएपनि शब्दकोश प्रकाशनको काम तीव्र रुपमा अघि बढेको छ। सम्पादक आचार्य हिउँद वर्ष र घरायसी काम नभनेर शब्द संकलनमा अहोरात्र खटेका थिए।

प्रकाशित: १९ मंसिर २०७७ १०:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App