गाँजालाई वैधानिकता दिँदै राजश्व संकलन र किसानलाई आयआर्जनको माध्यम बनाउनु पर्छ भन्ने विषयमा संसदमा गैरसरकारी विधेयक दर्ता भएर देशव्यापी वहस चल्न थालेका बेला उदयपुरमा भने गाँजा ओसारपसार तथा बेचविखन आरोपमा मान्छे पक्राउ परिरहेका छन्। उदयपुर प्रहरीले १५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
गाँजा ओसारपसार र बिक्री वितरण गर्ने गरेको भन्ने खवर आए अनुसार खटेको इलाका प्रहरी कार्यालय कटारीको टोलीले जिल्लाको ताप्ली गाउँपालिका ५ सल्ले (ढुंगे) बाट १५ किलो गाँजासहित स्थानीय हुपबहादुर मगरलाई पक्राउ गरेको हो। सुराकीको आधारमा मगरको घरमा खानतलासी गर्दा घरको माथिल्लो तलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
बरामद गाँजासहित मगरलाई बुधबार विहान इप्रका कटारी ल्याइएको छ। उनीमाथि गाँजा कारोबार ऐन अनुसार कारबाही गर्ने गरी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ। सातादिनभित्र उदयपुरमा गाँजासहित पक्राउ परेको यो दोस्रो घटना हो।
यसअघि जिल्लाको उदयपुरगढी गाउँपालिका ७ बाट ८४ किलो गाँजासहित ३ जना पक्राउ परेका थिए। उनीहरु पनि ताप्लीकै भएको र गाँजा ताप्लीबाटै ल्याएर स्थानीयको घरमा राखेको अवस्थामा सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित: १७ भाद्र २०७७ ०७:२९ बुधबार





