कोरोना भाईरस संक्रमण बढ्दै गएपछि पोखरा महानगरपालिकाले तीनदिन अघि सार्वजनिक सूचना जारी गर्दै कोरोना संक्रमितलाई राख्नका लागि आइसोलेसन सेन्टर बनाउनुपर्ने भन्दै होटल, पार्टी प्यालेस, अस्पताल भवनसँग प्रस्ताव माग्यो। कम्तिमा एकसय बेड क्षमताको आइसोलेसन बनाउनका लागि प्रस्ताव आव्हान गरेपनि पोखराका ठूला आकारका होटल त्यसमा इच्छुक देखिएनन्।
तीन दिन अवधि राखेर प्रस्ताव आव्हान गरेपनि पोखराका दुइवटा होटलले मात्र आफ्नो भवनलाई आइसोलेसन सेन्टर बनाउन सक्ने भन्दै प्रस्ताव दर्ता गराए। प्रयाप्त प्रस्ताव नआएपछि महानगरले शुक्रबार दोश्रोपटक सार्वजनिक सूचना जारी गरेर आइसोलेसन सेन्टर बनाउन इच्छुक होटललाई प्रस्ताव पेश गर्न पुनः अनुरोध गरेको छ। दोश्रोपटक पनि तीनदिन अवधि तोकेर सूचना प्रकाशित गरिएको छ।
पोखरामा झन्डै आठसयको संख्यामा होटल छन्। एकसय बेड भएका होटल प्रयाप्त छन्। एउटै कोठामा ३–४ बेड राखेपछि २५–३० कोठे होटलले पनि महानगरको मापदण्ड अनुसार एकसय बेड पुर्या उन सक्छन्। तरपनि पोखराका ती होटलले आफ्ना भवनलाई आइसोलेसन सेन्टर बनाउन रुची देखाएनन। किन त ? पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन भन्छन, ‘कोरोना संक्रमित पाहुनालाई राख्नेगरि आइसोलेसन सेन्टर बनाउन होटल तयार भएनन। संक्रमित ती पाहुना राख्दा अनेक झन्झट बेहोर्नुपर्ने उनीहरुले बुझिसकेका छन्।’
आइसोलेसन सेन्टर बनाउन महानगरले प्रस्ताव माग्दा दुईवटा होटलले मात्र रुची देखाए। अरु होटलले प्रस्तावै हालेनन्।
अध्यक्ष तुलाचनका अनुसार यसअघि क्वारेन्टिन बनाएका केही होटलले झन्झट बेहोरेका थिए। त्यसबाहेक महानगरले भनेजस्ता सबै मापदण्ड पुरा गर्न उत्ति सहज होटललाई छैन्। किनकी होटलमा संक्रमित राख्दा आसपासका छिमेकीको पनि विरोध आउने उत्तिकै सम्भावना छ। त्यसबाहेक पाहुना राख्दा होटलका कर्मचारीलाई पनि संक्रमणको त्रास हुने भएकोले होटलहरु आइसोलेसन बनाउन इच्छुक नभएका हुन्। ‘होटललाई आइसोलेसन सेन्टर बनाउँदा झन्झटै झन्झट छ। संक्रमित पाहुना राख्दा झनै जोखिम पनि हुनसक्छ,’ उनले भने, ‘सबैभन्दा त्रास त छिमेकीको खप्कीको हुनसक्छ।’
महानगरले सूचना जारी गदै एकसय बेड क्षमता हुनुपर्ने, प्रयाप्त मात्रामा शौचालय र स्नानगृह हुनुपर्ने, स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीका लागि भिन्दै भवन वा कक्ष हुनुपर्ने, प्रयाप्त खुलाठाउँ र कम्पाउण्ड हुनुपर्ने, छरछिमेकबाट बाधाविरोध नहुने सुनिश्चित हुनुपर्ने मापदण्ड तोकेको छ। त्यस्तै सम्झौताको चरणमा प्रस्ताव अस्वीकार गरेमा त्यस्तो संस्थासँग महानगरपालिकाले दुई आर्थिक वर्षसम्म कुनै कारोबार नगर्नेगरि कालो सूचीमा राख्नेगरि महानगरपालिकाले सर्त तोकेको छ। ‘अहिले व्यवासायी तयार हुनसक्छन्। तर बीचमा केही अप्ठेरो आएर महानगरसँग सम्झौता गर्न नसके त्यो बेला कालोसूचीमा राख्ने भनेपछि व्यवसायी डराए,’ अध्यक्ष तुलाचनले भने।
यसअघि संक्रमण नदेखिएका व्यक्तिलाई क्वारेन्टिनमा राख्न समेत पोखराका ठूला आकारका होटलले रुची देखाएका थिएनन। तर, अहिले लक्षण नदेखिएका संक्रमितलाई राख्दा अप्ठेरो हुनसक्ने उनीहरुको आँकलन छ। ‘सस्तो दरमा बिरामी राख्नुपर्ने, त्यसबाहेक कर्मचारी पनि जोखिममा पर्ने भएकोले ठूला होटल इच्छुक नभएका हुन्,’ लेकसाइडका एक होटल व्यवसायीले भने, ‘कर्मचारीलाई केही भईहाल्यो भने त्यसले झनै बढी नोक्सान पुर्याइउँछ। व्यवासायीले ६ महिना घाटा बेहोरे, अरु ६ महिना घाटा खान तयार छन्। तर, होटललाई आइसोलेसन बनाउन चाहेनन।’ आम्दानी भन्दा खर्च बढी हुने र संक्रमणको त्रास भएकोले पनि व्यवसायी तयार नभएको ती व्यवसायीले बताए।
महानगरले बनाएको कोरोना संक्रमण मुल समितिका सदस्य सचिव किरण कोइरालाका अनुसार होटललाई आइसोलेसन बनाएर संक्रमित व्यक्ति राख्ने योजना महानगरले बनाएको हो। संक्रमित पुष्टि भएपनि लक्षण नभएका व्यक्तिलाई मात्र होटलको आइसोलेसनमा राख्ने योजना रहेको कोइरालाले बताए। ‘संक्रमण डरलाग्दो भएर बिरामी थपिए भने सबैलाई अस्पतालको आइसोलेसनमा सम्भव हुँदैन। लक्षण नभएका संक्रमितलाई होटलमा राख्दा पनि उचित नै हुन्छ,’ कोइरालाले भने, ‘लक्षण नदेखिएका तर, संक्रमण पुष्टि भएका व्यक्तिलाई १४ दिनसम्म होटलमा राखेर घर पठाउन सकिने सरकारी प्रोटोकल छ। त्यही अनुसार होटलको व्यवस्थापन गर्न खोजेका हौ।’ होटलमा बसेका व्यक्तिले तिर्नुपर्ने प्रतिरात शुल्कबारे सम्झौता चरणमै यकिने हुने पनि उनले बताए।
सबै संक्रमितलाई घरमा बस्न असुविधा हुँदा उनीहरुलाई होटलमा राख्न खोजिएको उनले बताए। ‘लक्षण नदेखिएको अवस्थामा मात्र होटलमा राख्ने हो। तर, कोही संक्रमितलाई त्यो अवधिमा स्वास्थ्यमा कुनै समस्या देखिएमा अस्पताल लैजाने व्यवस्था हुन्छ,’ उनले भने, ‘संक्रमित सबैको पोखरामा घर नहुन सक्छ। घर भएपनि सुरक्षित बसाई नहुनसक्छ।’ महानगरले होटलमा सकेसम्म विदेशबाट फर्केका व्यक्तिलाई राख्न खोजेको उनले बताए। ‘होटलको आइसोलेसनमा पहिलो प्राथमिकता विदेशबाट फर्केका व्यक्ति पर्नेछन्। त्यसपछि रकम तिर्न सक्ने जो कोही संक्रमित पनि पर्न सक्छन,’ कोइरालाले भने, ‘पैसा तिर्नै नसक्ने व्यक्तिका लागि त महानगरले भएपनि तिरिदिन्छ।’
महानगरका मेयर मानबहादुर जिसीले सामाजिक त्रासका कारण सबै होटलले आइसोलेसन सेन्टर बनाउन इच्छा नजनाएको हुनसक्ने बताए। ‘चिकित्सकलाई दुव्र्यवहार भएको छ। त्यसबाहेक संक्रमण सर्ने त्रास समुदायमा भएकोले पनि होटलले चाहना नदेखाएका हुनसक्छन,’ जिसीले भने, ‘तर हामीले होटल संघमार्फत पहल गरिरहेका छौ। संक्रमण नभएका व्यक्तिलाई क्वारेन्टिनमा राख्दा त समस्या आएको हो। आइसोलेसनमा त झनै संक्रमित नै बस्ने हुन।’ पहिलो चरणमा दुईवटा होटलले आइसोलेसन बनाउन रुची देखाएको र त्यसले अपुग हुने ठानेर अरु होटलका लागि आव्हान गरिएको मेयर जिसीले बताए।
‘थाम्नै सकस हुनेगरि महामारी भएमा त महानगरले होटल नै भाडामा लिएर भएपनि आइसोलेसन सेन्टर चलाउँछ। तर, अहिले त्यो अवस्था छैन,’ उनले भने, ‘सकेसम्म व्यवसायी नै तयार हुन् भनेर हो।’ उनका अनुसार महानगरले होटलको आइसोलेसनमा सकेसम्म विदेशबाट फर्कने र पैसा तिर्न सक्ने क्षमता भएका व्यक्तिलाई राख्नेछ। ‘लक्षणबिनाका संक्रमितलाई होटलमा राख्ने योजना हो। तर संक्रमितको संख्या बढेमा अरुलाई पनि होटलमा राख्न सकिन्छ,’ उनले भने, ‘पैसा तिर्नै नसक्ने संक्रमितलाई त महानगरले खर्च दिलाएर भएपनि होटलमा राख्छ।’ होटलमा बसेका कोही संक्रमितको स्वास्थ्यमा जटिलता आए तत्काल अस्पतालमा लैजाने व्यवस्था पनि हुने उनले बताए।
उनका अनुसार महानगरपालिकाले यहाँस्थित मालेपाटनको कृषिकेन्द्रमा ४५ बेडको आइसोलेसन बनाएको मेयर जिसीले बताए। त्यस्तै एकसाताभित्र पोखरा–३३ को महिला सुरक्षित घरमा पनि ५० बेडको आइसोलेसन बनाउने योजना छ। त्यसबाहेक पोखरा सिर्जचोकस्थित जाल्पारोडको युनिटी अस्पताल, नदीपुरको बुद्ध अस्पताललाई पनि आइसोलेसन सेन्टर बनाउने तयारी भएको छ। बुद्ध अस्पतालमा महिला संक्रमितका लागि मात्र आइसोलेसन सेन्टर बनाउने योजना रहेको मेयर जिसीले जानकारी दिए।
प्रकाशित: १२ भाद्र २०७७ १०:३७ शुक्रबार





