वन अतिक्रमण गरी बनाइएकोे अवैध जमिन बिक्री वितरण गरेको आरोपमा उदयपुर प्रहरीले आधादर्जन बढीलाई रंगेहात पक्राउ गरेको छ। जिल्लाको बेलका नगरपालिका ३ सिरिया टप्पुस्थित वनक्षेत्रको जग्गा अतिक्रमण गरी प्लटिङ गरेर किनबेच गरिरहेको अवस्थामा १२ लाखबढी नगद तथा झण्डै ७ लाख बराबरको चेकसहित उदयपुर, सुनसरी, भोजपुर र खोटाङका ७ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रहरीका अनुसार स्थानीयबाट अतिक्रमण गरेको वन क्षेत्रको जमिन प्लटिङ गरेर किनबेच भईरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटेको टोलीले उनीहरुलाई घट्नास्थलबाटै पक्राउ गरेको हो। पक्राउ पर्नेमा बेलका ३ का प्रदिप भन्ने ५४ वर्षीय दलबहादुर थापा, भोजपुर टेम्केमैयुङ गाउँपालिका ६ का ४३ वर्षीय देवराज राई, सोही ठाउँका ३८ वर्षीय मणिराज राई र खोटाङ साकेला गाउँपालिका २ का ४७ वर्षीय धनकुमार राई रहेका छन्।
त्यस्तै साकेला २ खोटाङ पुख्र्यौली घर भई सुनसरीको इटहरी उपमहानगरपालिका २० बस्दै आएका ३० वर्षीय मनकुमार राई, बेलका ६ का २६ वर्षीय प्रकाश चन्द्रवंशी र भोजपुर नगरपालिका ३ बोखिमका ३७ वर्षीय सन्तोषकुमार राई पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए। दाहालका अनुसार उनीहरुको साथबाट १२ लाख १८ हजार नगद, ३ लाख २० हजार र ३ लाख ७० हजारबराबरको सेन्चुरी बैंक इटहरी शाखाको दुईवटा चेक पनि बरामद भएको छ।
डिभिजन वन कार्यालयले वनक्षेत्रको जमिन अतिक्रमण गरी किनबेच भईरहेको सुनिदै आएकोमा यो घट्नाले पुष्टि गरेको जनाएको छ। डिभिजन वन कार्यालयका सूचना अधिकारी सहायक वन अधिकृत जागेश्वर साहले ३ बिगाहा ४ कठ्ठा जमिन किनबेच भईरहेको अवस्थामा रंगेहात पक्राउ पर्नुले वनक्षेत्रको जमिन अतिक्रमण र किनबेच भईरहेको पुष्टि भएको बताए।
‘धेरै पहिलेदेखि त्यहाँ अवैध जमिन किनबेच हुन्छ भन्ने सुनिएको हो तर, प्रमाण थिएन’ साहले भने ‘यो घट्नामा १२ लाख १८ हजार नगद र ७ लाख ९० हजारको चेकसहित मान्छे पक्राउ परेपछि अवैध जमिन किनबेच हुने गरेको प्रष्ट भयो।’
अतिक्रमित जमिन कोसी टप्पु आरक्षण केन्द्र मातहतमा रहेको राष्ट्रिय वनक्षेत्रमा पर्ने डिभिजन वनले जनाएको छ। उदयपुरको बेलका, सप्तरी र सुनसरीको त्रिजिल्लाको सीमानाले छोएको कोसी टप्पु क्षेत्रमा पर्ने श्रीलंका टापु, चिलिया टप्पु र सिरिया टप्पुमा पर्ने हजारौं हेक्टर जमिनमा वर्षौंदेखि स्थानीयको बसोबास हुँदै आएको छ। सप्तकोसीको बाढी यता र उता गर्दा छुट्ने भँगालोमा काँसघारी हुने गरेको र त्यही घारी फाँडेर बसोबास गर्नेहरुले बेलाबेलामा जमिन किनबेच गर्ने गरेको स्थानीयको भनाई छ।
स्थानीयतह पुनर्संरचनापछि बनेको बेलका नगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने खाली जमिनमा विगत दुईवर्षदेखि चक्लाबन्दी खेती र सामुहिक कृषि उत्पादन गर्न सुरु गरेको थियो। नगरपालिकाले कृषि बाली लगाउन थालेपछि वन कार्यालय र कोसी टप्पु आरक्षण केन्द्रले पनि आफ्नो दावी गर्दै संरक्षण गर्न थालेपछि तीनपक्षबीच बिबादसमेत हुने गरेको छ।
प्रकाशित: १२ भाद्र २०७७ ०७:०९ शुक्रबार





