२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रहरीद्वारा हिरासतमै हत्या गरिएको भनी दलितले गरे इप्रका घेराउ

प्रहरी हिरासतमा रही बिरामी भएपछि उपचारको क्रममा मृत्यु भएको रौतहटको गरुडा नगरपालिका ८ जिंगडियाका १९ वर्षीय विजय राम चमारलाई प्रहरीले यातना दिएर हत्या गरेको आरोप लगाउँदै विहीवार इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

गत भदौ १ मा प्रहरीले सातजनालाई पक्राउ गरेकोमा एक जना विजय राम चमार पनि रहेका थिए । साउनको अन्तिमतिर जिंगडियाकै सच नर्सरीमा काम गर्ने निरन्जन रामको घाँटी रेटेर निर्ममतापूर्वक हत्या गरिएको थियो । सोही हत्याको अनुसन्धानको लागि प्रहरीले जिंगडियाकै सात जनालाई पक्राउ गरेको थियो ।

भदौ १ मा पक्राउ परेका चमारलाई प्रहरीले हिरातमै चरम यातना दिएको र पटक पटक करेन्ट लाएर हत्या गरेको बलजफ्ती स्वीकार गर्न लगाएको आरोप दलितहरूले लगाएका छन् । करेन्ट लाएको र बुट तथा लट्ठीले चरम यातना दिएको कारण दुई दिनमै गम्भीर बिरामी भएका चमारलाई भदौ ३ मा स्थानीय अनामिका अस्पतालमा उपचारको लागि भर्ना गरिएको पिसाबमा इन्फेक्सन देखिएपछि वीरगंज नेशनल कलेजमा थप उपचारको लागि रेफर गरिएको थियो । वीरगंजमा उपचारको क्रममा चमारको दुबै किडनी फेल भएको अस्पतालले जानकारी गराएकोमा उपचारकै क्रममा चमारको मृत्यु भएको प्रहरीको भनाइ छ ।

गरुडामा उपचारमा रहँदादेखि वीरगंजमा उपचारको क्रममा रहँदासम्म प्रहरीले मृतक चमारका कुनै पनि आफन्तलाई भेट्न नदिएको आरोप दलितहरूको रहेको छ । चरम यातना दिएको कारण मर्ने निश्चित भएपछि पनि प्रहरीले आफन्तलाई भेट्न नदिएको आरोप दलितहरूको रहेको छ ।  

मृतक चमार निर्दोष रहेको र दोषीलाई प्रहरीले बचाउन निर्दोषलाई पक्राउ गरी बलजफ्ती चरम यातना दिएर हत्या गरेको स्वीकार गर्न लगाएको भनी तीन दिन पहिले पनि दलितहरूले गरुडामा प्रदर्शन गरेका थिए ।

साउन ३२ गते राति घरमा सुतिरहेको अवस्थामा प्रहरीहरू घरमा प्रवेश गरेर परिवारका सदस्यहरूलाई कुटपिट गर्दै छोरा विजयलाई घिसार्दै भ्यान राखेर ल्याएको मृतकको वुवा पनिलाल राम चमारले बताए । ‘पटक पटक छोरासंग भेट्न आउदा प्रहरीले भेट्न नदिएको गुनासो पोख्दै पनिलालले कसुर नै नगरेको आरोपमा बलपूर्वक घरबाट उठाएर ल्याई विद्युतिय करेन्ट लगाएर निर्घात कुटपिट गरेर प्रहरीले छोरालाई हत्या गरेको हो ।’ उनले आरोप लगाए ।

‘जसरी घरबाट जिउदो प्रहरीले लगेको त्यसरी नै मेरो छोरा जिउदो चाहियो ।’ अन्य कुनै शर्त मेरो छैन् । कुनै पनि विरामी नभएको छोरालाई निर्घात कुटपिट एवं विद्युतिय सर्ट लगाएर प्रहरीले मारेको हो, प्रहरीको कुटाईबाट नै किडनी क्षतिग्रस्त भएर अकालमै मृत्यु भोग्नुपरेको रुदै पनिलालले भने ।

निरञ्जन राम मेरै आफन्त रहेको उसलाई मार्न लगाउनेलाई प्रहरीले संरक्षण दिएको र आर्थिक चलखेलमा निर्दोषलाई समातेर यातना दिएर कारबाही चलाएकोमा मानव अधिकारको रौतहट प्रहरीद्धारा घोर उल्लंघन गरिदा यसको निष्पक्ष रुपमा छानविन गरी डिएसपी ज्ञानकुमार महतोलाई कडाभन्दा कडा कारवाहीको माग मृतकको वुवा पनिलाल रामले गरे ।

इलाका प्रहरी कार्यालय गरुडालाई घेराउ गर्दै दलितहरू उग्र प्रदर्शन गरिरहदा रौतहट प्रहरीका एसपी रवीराज खड्काको रोहवरमा दलित प्रतिनिधिहरूलाई राखेर तिन घण्टासम्म छलफल गर्दा मौखिक रुपमा तिन बुंदे सहमती भएपछि घेराउ कार्यक्रम फिर्ता भएको छ । दलित प्रतिनिधि, दक्ष चिकित्सक र प्रहरीको रोहवरमा मृतकको पोष्टमार्टम गर्नुपर्ने, डिएसपी ज्ञानकुमार महतोलाई निलम्बन गरेर कारबाही गर्नुपर्ने र निरञ्जन रामको सत्य निष्पक्ष रुपमा अनुसन्धान गर्न अर्को अनुसन्धान अधिकारी नियुक्त गर्नेलगायतका सहमतीपछि दलितहरूको आक्रोश शान्त भएको छ ।

मधेशी दलित विकास महासंघको महासचिव धर्मेन्द्र पासवानले प्रहरीको चरम ज्यादतीको शिकार विजय राम भएको छ । पाँचचोटी मानवअधिकारको साथीहरूसंग भेट्न जाँदा प्रहरीले भेट्न नदिदा विजय चरम यातनाको शिकार बनेकोमा कुनै शंका नै नभएको बताउदै २१ औं शताब्दीमा दिनको २ चोटी करेन्ट लगाएर यातना दिएको हुँदा युवकको मृत्यु भएको दाबी गरे । 

रौतहट प्रहरीका एसपी, गरुडाको डिएसपीसहितका पदाधिकारीहरूलाई कारवाहीको दायरामा ल्याउन मागसमेत उनले गरेका छन् । मृतक युवकलाई विरगंजबाट काठमाण्डौको महाराजगंजस्थित टिचिंग अस्पतालमा पोष्टमार्टम गराउनको लागि दलित प्रतिनिधिहरू काठमाण्डौको लागि प्रस्थान गरिसकेको स्पष्ट पारे ।

रौतहट प्रहरीका एसपी रबीराज खड्काले हिरासतमा रहेका युवक विरामी पर्न थालेपछि प्रहरीकै रोहवरमा उपचारकै क्रममा दुखद निधन भएको छ । मृतकको पोष्टमार्टम गर्न काठमाण्डौ लैजाने र त्यसबाट आएको रिपोर्टका आधारमा अन्य कारबाही प्रक्रिया अघि बढ्ने संक्षिप्त प्रतिक्रिया दिए ।

यसैविच विभिन्न पार्टीले विज्ञप्ती मार्फत हिरासतमा रहेका युवक विजय रामको मृत्युबाट जिल्लामा थप संकट खडा गरेको प्रतिक्रियाहरू जनाएको छ । जनता समाजवादी पार्टी नेपालका जिल्ला इन्चार्ज एवं मधेश प्रदेश सदस्य वृजकिशोर यादवले घटनाको प्रवृति हेर्दा सच नर्सरीका संचालकद्धय लखन साह र राजाराम साहलाई बचाउने नियतबस अनुसन्धानको बहानामा विजय रामलाई मरनासन्न हुने गरी थर्ड डिग्री टर्चर दिई शरिर भरी निल डाम, चोट र घाउको कारण मृत्यु भएको हुँदा टर्चर गर्नमा संलग्न प्रहरीलाई अविलम्ब निलम्बन गरी कारवाही अगाडी बढाउन मागको साथै फरार रहेका अभियुक्तहरूलाई तत्काल समाती निरञ्जन राम र विजय रामको परिवारलाई क्षतिपुर्ती दिन माग गरेका छन् ।

प्रकाशित: ११ भाद्र २०७७ १५:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App