समय सोमबार दिउँसो १ बजे । स्थान नागढुंगा चोक । सुरक्षाकर्मीबाहेक कोही देखिँदैन सडकमा । हातमा ढड्डा समातेर गाडीको विवरण टिप्न व्यस्त छन् उनीहरू । ६ जना प्रहरीले कार, मोटरसाइकल, एम्बुलेन्स र मालवाहक सवारीको नम्बर टिपिरहेका थिए । यत्तिकैमा एउटा कार दायाँतर्फको खाली लेनबाट हुइँकिएर आयो । प्रहरीले हात देखाए । कारको गति हेर्दा चालकले प्रहरीलाई छल्न खोज्दै थिएझैं लाग्थ्यो ।
बा१९च ५८६४ नम्बरको उक्त कार प्रहरीले बाटो छेकेपछि मात्र घ्याच्च बे्रक लाग्यो । ‘छाड्दिनुस् न हतार छ,’ रोक्नासाथ कारका चालकले प्रहरीसँग भने । ‘केका लागि हतार ?’ ट्राफिकले सोधेपछि ती चालक बोलेनन् । कारभित्र अन्य दुईजना व्यक्ति पनि थिए । चालकले झ्यालको सिसा खोल्नसमेत अटेर गरे । प्रहरी घेरिएर औंला ठड्याएपछि मात्रै उनले झ्याल खोले । चालकले प्रहरीलाई भने, ‘मेरो मान्छेले तपाईलाई फोन गर्नुहुन्छ एकैछिनमा ।’
‘यस्ता कुरा नगर्नुस्, साइट लाग्नुस्,’ प्रहरीले भन्यो । यति भनेपछि कार फर्किएर अलि पर सडककिनारमा रोकियो । त्यही कार केहीबेरमा फेरि चेकपोस्टमा आयो । हामीले उक्त कार पछ्याइरहेका थियौं, त्यतिन्जेलसम्म प्रहरीलाई कसैको फोन आइसकेको थियो । अब भने प्रहरीले कार छाडिदियो । त्यो कार नागढुंगाबाट थानकोटतर्र्फ बतासियो । ‘यो गाडीलाई किन छाडिदिनुभयो ?’ हामीले सामुन्ने पुगेर ती प्रहरीसँग सोध्यौं । खासमा उनी पनि त्यो गाडीलाई उपत्यका प्रवेश नदिने पक्षमा थिए । तर, त्यो कारलाई फर्काइसकेपछि उनलाई फोन आएको रहेछ । ठूलाबडालाई भनसुन गरेर आएका गाडी ड्युटीमा खटिएका प्रहरीले नछाडी सुखै पाउँदा रहेनछन् । ‘कतिपय बिनाकाम आएका गाडी फर्काउँछौं, उनीहरूको काम र कागजात पनि त्यति परिपक्व हुँदैन, केही बेरमा फर्काएका गाडी र फोन एकैपल्ट आउँछन्, माथिबाट फोन आएपछि नछाडेर क्यार्नु,’ ड्युटीमा खटिएका एक प्रहरीले सुनाए । उनले पछिल्लो समय सवारीसाधनको संख्या घटे पनि भनसुन गरेर आउनेको संख्या भने बढेको बताए । आफूहरूले स्वतन्त्र दिमागले काम गर्न नपाएकाले पनि केही गाडी उपत्यका प्रवेश गरेको उनको भनाइ छ ।
सरकार र पहुँचवाला व्यक्तिका सवारीसाधन छाड्न प्रहरीलाई दबाब हुने गरेको छ । चिनजान नभएका सवारीसाधनलाई प्रहरीले फर्काउने गरे पनि पहुँच हुनेहरू फोन गरेर प्रहरीलाई अटेर गरी उपत्यका प्रवेश गरेको ड्युटीमा खटिएका एक प्रहरीले बताए ।
अहिले उपत्यकामा प्रवेश गराउँदा प्रहरीले कोरोनासँग सुरक्षित रहेको प्रमाण खोज्दैन । प्रहरीसँग ज्वरो नाप्ने थर्मलगनसमेत छैन । सुरुसुरुमा उपत्यका छिर्दा ज्वरो नाप्ने, स्यानिटाइजर प्रयोग गराउने र ‘डिसइन्फेक्ट’ गराउने गरिए पनि अहिले भने स्वास्थ्य सुरक्षालाई ख्याल गरिएको छैन । प्रहरीकै भरमा मुख्य नाकामा कडाइ गर्दा छलछाम र भनसुन गरेर आएकाले उपत्यकामा झन् भयावह गराउनसक्ने डर देखिएको छ ।
नागरिककर्मी सोमबार उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगा पुग्दा सवारीसाधनको चहलपहल भने कम थियो । तापनि प्रहरीलाई भने चेकजाँचमा हम्मेहम्मे थियो । अधिकांश चालक प्रहरीसँग फुत्किन अनुनय गर्दै थिए । पैदल यात्रासमेत रोकिएको थियो । त्यसकारण पनि प्रहरीको ध्यान बाहिरिने र भित्रिने सवारीसाधनमा थियो । तर, बेकामले आएका कतिपय सवारी प्रहरीले फर्काएको तर तिनै सवारीसाधन केही बेरमा फर्किएर आएको दृश्य देखियो । नाकामा काम गर्ने प्रहरीलाई पनि माथिल्लो तप्काबाट आउने फोन घुमाइरहेको छ भन्ने प्रस्ट त्यहीँबाट भयो । ड्युटीमा रहेका प्रहरीका अनुसार थानकोट आएका गाडीमध्ये अधिकतर भैरहवा हुँदै आउँछन् । यसबाहेक पोखरा, बुटबल, नेपालगन्ज, दाङलगायत सुदूरपश्चिमसम्मका मानिस थानकोट हुँदै उपत्यका छिर्छन् ।
प्रहरीले केहीलाई भने कडाइ गरेको थियो । मोटरसाइकल चालक राकेश तामाङलाई प्रहरीले उभ्याइरहेको थियो । उनी दिदीलाई छाड्न धादिङबाट काठमाडौं आएका थिए । उनी थानकोट प्रहरीको कारबाहीमा परेका थिए । ‘अत्यावश्यक कामले आएको थिएँ, मेरै आँखाअघि कतिलाई फोनको भरमा प्रहरीले छाड्यो मलाई भने दुई घण्टादेखि रोकेको छ,’ उनले सुनाए ।
सरकारले उपत्यकामा सात दिनका लागि निषेधाज्ञा जारी गरिरहेको अवस्थामा ओहोरदोहोर गर्नेले प्रहरीकै टाउको दुखाइरहेका छन् । बिरामी, मृत्यु संस्कार, विवाह, अत्यावश्यक ढुवानी सेवाबाहेक सबैजसो सवारीसाधन रोक्ने गरी पाँच दिनअघि मन्त्रिपरिषद् बैठकले निषेधाज्ञा जारी गरेको थियो । तर, सरकार र पहुँचवाला व्यक्तिका सवारीसाधन छाड्न प्रहरीलाई दबाब हुने गरेको छ । चिनजान नभएका सवारीसाधनलाई प्रहरीले फर्काउने गरे पनि पहुँच हुनेहरू फोन गरेर प्रहरीलाई अटेर गरी उपत्यका प्रवेश गरेको ड्युटीमा खटिएका एक प्रहरीले बताए । ‘अहिले त्यति धेरै सवारीसाधन ओहोरदोहोर गरेका त छैनन् तर कतिपय सवारीसाधन छोड्न भन्दै फोन आएपछि त्यसले हामीलाई समेत असहज हुने गरेको छ,’ ती प्रहरीले भने । उनले ज्वरो नाप्ने, स्यानिटाइजर प्रयोग गर्ने र डिसइन्फेक्ट गर्नका लागि अन्य निकायले समन्वय नगरेकाले प्रहरीलाई मात्रै असहज भएको जानकारी दिए ।
महानगरीय प्रहरी प्रभाग थानकोटका अनुसार एक दिनमा सबैखाले सवारीसाधन गरेर २ हजारभन्दा बढी उपत्यका प्रवेश गर्छन् । ती गाडीको रेकर्ड प्रहरी थानकोट वृत्तले प्रहरी परिसर काठमाडौं, प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय रानीपोखरी र ट्राफिक प्रहरी महाशाखामा पठाउने गरेको छ । सोमबार ४३ वटा कार, २६ वटा एम्बुलेन्स, ३८ वटा खाद्यान्न बोकेका ट्रक र ६० भन्दा बढी मोटरसाइकल उपत्यका प्रवेश गरेका थिए । महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले पछिल्लो समय दबाब आए पनि कडाइ गरिएको दाबी गरे । उनले कहिलेकाहीँ प्रहरीले हलुका चेकजाँच गर्दा वा भनसुनका आधारमा गाडी छाड्दा ठूला अपराध पनि हुने भएपछि कडाइ गरिएको बताए । यसअघि १५ केजी सुन प्रकरणका अभियुक्त पनि थानकोटबाट उपत्यका बाहिरिएका थिए । प्रहरीले कडाइ नगरेको आरोप आएपछि झन् कडाइ गरिएको डिएसपी श्रेष्ठले बताए । उनले भने, ‘हामीले अनावश्यक गाडी रोकेका छौं, फोनको भरमा कसैलाई छाडेका छैनौं ।’
सरकारले पासको आधारमा उपत्यकाभित्र र बाहिर ओहोरदोहोर बढेपछि भित्रिने र बाहिरिनेका लागि दिइने पास बन्द गरेको थियो । अहिले प्रहरीले कुनै निकायले दिएको पासको आधारमा छाड्न मिल्दैन । अत्यावश्यकबाहेक सबै सवारीसाधनमाथि कारबाही गर्ने जिम्मा प्रहरीकै छ । तर, प्रहरीले निषेधाज्ञा पालना गराउन कठिन हुने भएकाले सर्वसाधारणले पनि साथ दिनुपर्ने प्रहरी प्रधान कार्यालयका प्रवक्ता कुवेर कडायतले जानकारी दिए । उनका अनुसार पछिल्लो समय प्रधान कार्यालयले मातहतका सबै कार्यालयलाई कडाइ गर्न निर्देशन दिएको छ । ‘हामीले सबैतिर कडाइ गरेका छौं, यति गर्दा पनि प्रहरीलाई अटेर गर्ने, चोर बाटोबाट प्रवेश गर्ने र नियम नमान्ने हो भने कस्को के लाग्छ र ?’ उनले भने ।
प्रहरीले फर्काएपछि चोर बाटो हुँदै उपत्यका
प्रहरी एउटै नाकामा बढी केन्द्रित हुँदा चोर बाटो हुँदै उपत्यका छिर्नेको संख्या बढेको छ । लामो दुरीको यात्रा गरेर काठमाडौं प्रवेश गर्नै लाग्दा प्रहरीले फर्काएपछि कतिपयले चोर बाटो अपनाउने गरेका छन् । नागढुंगाबाट प्रहरीले प्रवेश नदिएपछि सवारीचालकले वैकल्पिक बाटो खोज्छन् । त्यस्ता बाटा सहजै भेटिन्छन् । नागढुंगाबाट करिब एक किमि फर्किएपछि चिसापानी भन्ने ठाउँ आउँछ । हाइवेदेखि केही माथि घना बस्ती छ । त्यो बस्ती हुँदै सितापाइला निस्कने भित्री बाटो छ । नागढुंगाबाट प्रहरीले फर्काएका अधिकांश सवारीसाधन चिसापानी–भिमढुंगा हुँदै सितापाइला निस्कने गरेको चिसापानीका स्थानीयले बताए । प्रहरीले थानकोट र नागढुंगामा मात्र कडाइ गरेको छ तर भित्री बाटोमा प्रहरीको उपस्थिति छैन, यही बाटो हुँदै अधिकतर कार र मोटरसाइकल गुड्छन्,’ चिसापानीकी स्थानीय रमा ढकालले भनिन् । उनले दैनिक ८ सयभन्दा बढी गाडी यो बाटो हुँदै उपत्यका प्रवेश गरेको बताइन् । यसबाहेक लुकीछिपी उपत्यका प्रवेश गर्न रामकोट, साँखु, ललितपुरको कान्तिलोकपथलगायत सडक प्रयोग हुने गरेका छन् ।
प्रकाशित: १० भाद्र २०७७ ०१:४६ बुधबार





