७ वैशाख २०८१ शुक्रबार
समाज

भारतबाट लागुऔषध ल्याउने गिरोहका चार जना पक्राउ

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदायस्तरमा फैलिएको बेला भारतबाट लागुऔषध नेपाल भित्र्याउने गिरोहमा संलग्न चार जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले हरिनगर गाउँपालिका वडा नं. ५ घुस्की बसन्तपुर सडक खण्डमा चेकजाँच गर्दा तीन जना र देवानगञ्जबाट एक जनालाई पक्राउ गरेको हो। हरिनगरको बसन्तपुरमा स्थानीय २१ वर्षे मकरम अन्सारीले चलाएको ना. १८ प ४०८४ नम्वरको होण्डा कम्पनीको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा वडा नं. ६ का साहुदिन जट र भारत अररिया जिल्ला ग्राम पञ्चायत पथराहा वडा नं. २ का मोहमद अञ्जुरको सर्टमा लुकाई छिपाई राखेको लागुऔषध प्रहरीले बरामद गरेको हो।

प्रहरीले डाइलेक्स डिसी सय एमएल लेखिएको लागुऔषध बरामद गरेको हो। पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत सुनसरीबाट लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम सात दिने म्याद थप गरी अनुसन्धान थालिएको जानकारी दिइयो।  

यस्तै, देवानगञ्ज गाउँपालिका वडा नं. २ बाट विशेष सूचनाको आधारमा सादा पोसाकका प्रहरी टोलीले देवानगञ्ज वडा नं. ६ का २२ वर्षे शिवशंकर यादवको साथबाट डाइलेक्स डिसी सय एमएल लेखिएको ९९ बोतल बरामद गरेको छ। झोलामा हालेर निर्वाध रुपमा लागुऔषध ल्याउँदै गर्दा प्रहरीले बरामद गरेको जनायो।  

कोरोना महामारीका बेला पनि भारतबाट लुकिछिपी नेपालतर्फ लागुऔषध ल्याउने क्रम बढ्दो छ। लागुऔषध प्रयोगकर्ताको हिसावले काठमाडौंपछि सुनसरी देशकै दोस्रो ठूलो जिल्लामा पर्छ। सुनसरीमा ६२ किलोमिटर खुल्ला सीमावर्ती क्षेत्रबाट पनि लागुऔषध नेपाल भित्र्याउन सहजै छ।  

मानिसको मस्तिष्क र स्नायू प्रणालीलाई प्रभावित पार्ने अथवा हाम्रो सोच्ने, सम्झने शक्तिलाई विकृत तुल्याई बानी र व्यवहारमा परिवर्तन ल्याई दिने कुनै पनि पदार्थलाई लागुऔषध भनिन्छ। यसको प्रयोगबाट सबैभन्दा पहिले मानिसको केन्द्रीय स्नायू प्रणालीमा असर पर्दछ भने अन्य भागहरु जस्तै (मृगौला, कलेजो, फोक्सो, मुटु, मांशपेशी आदिको कामलाई पनि प्रभावित पार्दै जान्छ।

लागुपदार्थको निरन्तर जथाभावी प्रयोग गर्दा गर्दै शरीरमा एक प्रकारको सहने क्षमताको विकास हुँदै जान्छ अर्थात शरीरिक तथा मानसिक रुपले लागुपदार्थमै निर्भरताको अवस्था सिर्जना हुन्छ, जसको परिणाम स्वरुप लागुपदार्थ विना दैनिक जीवन सामान्य अवस्थामा व्यतित गर्न नसक्ने हुन्छ, त्यही अवस्था नै दुर्व्यसन हो।

प्रकाशित: ९ भाद्र २०७७ ११:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App