२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

कोरोना त्रास: सहर जत्तिकै सचेत नार–फू

तस्बिर सौजन्यः विनोद गुरुङ

हिमालपारिको जिल्ला मनाङको दुर्गम गाउँ हुन् नार र फू। नार्पाभूमि गाउँपालिकाका यी दुई गाउँ पर्यटन र प्राकृतिक दृष्टिले निकै नै आकर्षक गन्तव्य मानिन्छन्। सन् २००३ पछि बल्ल यी ठाउँ पर्यटनका लागि खुल्ला गरिएको थियो। हिमाली सुन्दरता र उच्चभेगको वस्ती नै यहाँको मुख्य सुन्दरता हो।  

कोरोना भाईरसको संक्रमणसँगै मुलुकका अधिकाशं जिल्ला लकडाउनमा छ। जिल्लामा दिनहुँ संक्रमित थपिइरहँदा गण्डकी प्रदेशभित्रको हिमाली जिल्ला मनाङमा पनि एकजना सरकारी कर्मचारीमा असार मध्यतिर कोरोना संक्रमण देखियो। ती कर्मचारी संक्रमण मुक्त भएपछि जिल्ला संक्रमणमुक्त भयो। तर, भदौ पहिलो साता तराईबाट जिल्ला उक्लिएका दुईजना शिक्षकमा संक्रमण पुष्टि भएपछि मनाङ पुन सक्रिय संक्रमित भएको जिल्लामा गनिएको छ।  

मनाङमा यतिबेला दुईजना मात्र संक्रमित छन्। तर, संक्रमण फैलिएका की भनेर त्यहाँका बासिन्दा निकै नै चनाखो छन्। जिल्लाकै दुर्गममा पर्ने नार्पाभूमि गाउँपालिकाका बासिन्दा त कोरोनाबारे झनै बढी सचेत छन्। सहरबासी भन्दा कम चनाखो छैनन नार–फू बासी। कमै मानवीय आउजाउ हुने मनाङमा अरु क्षेत्रमा बरु क्वारेन्टिन छैनन, तर, अति दुर्गममा पर्ने नार्पाभूमिमा क्वारेन्टिन बनाएर बाहिरबाट उक्लेका जो कोहीलाई राख्ने गरिएको छ। यो बेला पनि नार्पाभूमिको क्वारेन्टिनमा दुईजना व्यक्ति बसेका छन्।  

छिमेकी गाउँपालिका मनाङ ङिस्याङबाट केहिदिन अघि नौ जना गाउँले नार्पाभूमि पुग्दा गाउँमा पहिले जस्तै दैनिकी देखिन्थ्यो। तर, कोरोनाबारे गाउँले निकै नै सचेत भने देखिएको नार– फू पुगेका पर्यटन व्यवसायी विनोद गुरुङ बताउँछन्। ‘केहीदिन अघि हामी नौजना नार र फू गाउँमा पुग्यौ। त्यहाँका बासिन्दा त कोरोनाप्रति उत्तिकै सचेत रहेछन,’ उनले भने, ‘को कहाँबाट आएको भनेर सोधखोज हुने रहेछ। जिल्ला बाहिरबाट जानेलाई त क्वारेन्टिन नबसी गाउँमा डुल्नै नदिने रहेछन्।’

अरुबेला झै खेतीपातिमा त्यहाँका गाउँले व्यस्त छन। चौरी पाल्ने त्यहाँ चलन छ। ‘नार र फू लाई साह्ै नै दुगर्म मानिन्छ। तर, अहिले भने त्यहाँ आन्तरिक विकासले गति लिएको देखियो,’ उनले भने। मोटर नपुग्दा सदरमुकाम चामे पुग्न दुईदिन लाग्छ। त्यसबाहेक संचारको पनि उत्तिसारो सुविधा त्यहाँ छैन। तर, नार र फू का बासिन्दा अहिलेको संक्रमणबारे उत्तिकै अपडेट छन्। उनका अनुसार कोरोनाको यो बेला राजधानी काठमाडौं बसेका युवायुवती गाउँ फर्किएका छन्। अन्यत्र विद्यालय बन्द भएर पठनपाठन ठप्प हुँदा राजधानीवासी ती युवायुवतीले गाउँ फर्केर बालबालिका भेला गरेर पढाईरहेका छन्। भौतिक दुरी कायम गर्न नसकेपनि उनीहरु कोरोनाप्रति सचेत भने रहेको उनले बताए। त्यसबाहेक युवायुवती मिलेर भत्किन थालेका धार्मिक क्षेत्र मर्मतसम्भार गरिरहेका छन्।  

नार र फू क्षेत्रका बासिन्दाको मुख्य पेसा कृषि हो। पशुपालन पनि उत्तिकै फस्टाएको छ। प्रत्येक वर्ष नारबाट बिक्रीका लागि याक तल झारिन्छ। त्यसबाहेक गाउँका बासिन्दाको आयको श्रोत यार्सागुम्बा संकलन हो। वर्षमा ४–५ लाख रुपैयाँ एउटै परिवारले यार्सागुम्बाबाट कमाउँछन्। त्यसबाहेक पर्यटन पनि त्यहाँको मुख्य आधार हो। ‘नार–फू पुग्दा भिन्दै संसारमा गएको अनुभव हुन्छ। मनाङभित्र पनि भिन्दै सुन्दरता ती गाउँमा छ,’ उनले भने, ‘तर, अहिलेको अवस्थाबारे पनि उनीहरु सजग छन्।’ गुरुङ सहितको यो समुह मनाङ ङिस्याङ गाउँपालिकाबाट ५३२० मिटरको काङला पास पार गरेर नार्पाभूमि गाउँपालिका नार र फू पुगेको थियो। मनाङको नार ४३८५ मिटर उचाईमा छ। फू ४१०० मिटर हाराहारीमा छ।  

त्यही घुमघाम समुहका अर्का सहभागि थिए कर्मछिरिङ गुरुङ। उनी पनि नार्पा भूमिबासीको कोरोनाप्रतिको सजगता देखेर अचम्मिच छन्। ‘बाहिरबाट गाउँ उक्लेको जो कोहीलाई क्वारेन्टिनमा राख्ने गरिएको छ,’ उनले भने, ‘गाउँमा पुगने भनेको त्यहाँका कार्यालयमा कार्यरत कर्मचारी र कामका लागि पुगेका मजदुर मात्र हुन्। तर, उनीहरुले क्वारेन्टिन अवधि कडाईका साथ पालना गर्नैपर्ने रहेछ।’  

स्थानीयसले गाउँपालिकालाई कोरोनामुक्त बनाउन सकेसम्मको प्रयास गरिरहेको उनले बताए। ‘नार र फू का बस्ती आफैमा क्वारेन्टिनमा झै छन्। एक अर्का बस्ती एकअर्कासँग टाढाको दुरीमा छन्। तर, बस्तीका घर भने गुजुमुज्जु परेका छन्,’ उनले भने, ‘बस्तीमा धेरै घर भएकोले पनि संक्रमण भित्रिए बढी जोखिम निम्त्याउँछ। त्यही भएर पनि सचेत भएर बसेका छन्।’ फू मा ३६ घरधुरीमा बसोबास छ। नारमा ८६ घरमा मान्छेको बसाई छ। केही घर रित्ता छन्। ‘गाउँ मात्र टाढा हुन्। तर, बस्ती बाक्लो छन्। एकअर्कालाई टाँसेर घर बनाएका छन्,’ उनले भने। नार र फू मा सबैगरि ६ सयको हाराहारीमा जनसंख्या छ।  

गाउँपालिका अध्यक्ष मिङमा छिरिङ लामा पनि कोरोनाप्रति गाउँले अति नै सचेत रहेको बताउँछन्। ‘अति दुर्गममा बसोबास भएकोले पनि सचेत हुनुपरेको हो। यहाँँ संक्रमण भित्रियो भने त उपचारै पाइदैन,’ लामाले भने, ‘त्यसैले पनि हेलचेक्रयाँइ गर्न दिएका छैनौ।’ उनका अनुसार अहिले पनि गाउँको क्वारेन्टिनमा दुईजना बसेका छन्। ती कामका लागि तलबाट उक्लिएका व्यक्ति हुन्। ‘जिल्लाभित्रकै मान्छेलाई आउजाउमा उत्तिसारो कडाई छैन। तर, मनाङ भन्दा बाहिरबाट भित्रिएका जो कोही सिधै घरमा बस्न पाउँदैनन,’ उनले भने, ‘सरकारले भने झै गाउँका बासिन्दाले मास्क लगाउँदैनन, तर, पहिले झै बढी भेटघाट भने गर्दैनन।’

उनका अनुसार जिल्ला बन्द हुँदा गाउँपालिका आफै सिल हुन्छ। लम्जुङबाट उक्लिने बाहेक मनाङमा पुग्ने अर्काे चल्तीको बाटो प्रयोगमा छैन। त्यसैले अघिल्लो पटकको लकडाउनमा नार फू का बासिन्दा बढी ढुक्क थिए। ‘सरकारले लकडाउन खोलेपछि बाहिरी मान्छे भित्रिए। उनीहरुबाट गाउँमा त्रास भयो,’ अध्यक्ष लामाले भने, ‘लकडाउन खुकुलो भएपनि जो कोही भित्रिन सक्ने भएकोले गाउँले त्रसित छन्।’ दुर्गम भेग भएकोले कठिनका साथ बसेका नागरिक पछिल्लो समय अलि डराएको उनले बताए। उनका अनुसार यो बेला गाउँमा सरकारी कार्यालय भवन, बाटोघाटो बनाउन बाहिरी जिल्लाबाट पनि कामदार उक्लेका छन्। उनै कामदारबाट गाउँमा संक्रमण फैलले त्रासमा गाउँले रहेको उनले सुनाए। ‘अहिलेसम्म त हामी सुरक्षित छौ,’ उनले भने, ‘गाउँपालिकाका बासिन्दालाई सुरक्षित राख्न हामी हरदम प्रयासरत छौ।’ 

प्रकाशित: ९ भाद्र २०७७ ११:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App