पोखरामा अब घर/घरबाटै रक्तदान गर्न पाइने भएको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीले निषेधाज्ञालाई मध्यनजर गर्दै पोखरेली जनतालाई घरमै बसेर रक्तदान गर्न मिल्ने व्यवस्था मिलाएको हो । रेडक्रस कास्कीले आकस्मिक रक्तदान एम्वुलेन्स सञ्चालनमा ल्याउँदै घर/घर पुगेर रगत संकलन गर्न शुरु गरेको रेडक्रस कास्कीका मन्त्री धर्मराज अधिकारीले जानकारी दिए।
रक्तदाताको घरमा प्राविधिकसहितको एम्वुलेन्स पठाएर रक्तदानको व्यवस्था गरिने उनले बताए । रक्तदाताले एम्वुलेन्समा बसेर रक्तदान गर्नुपर्ने मन्त्री अधिकारीले बताए । रक्तदानअघि रक्तदाताको थर्मल गनबाट ज्वरो नाप्नुका साथै स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना गरेर रगत निकालिने उनले जानकारी दिए । एम्वुलेन्समा एकैपटक ४ जनाले रक्तदान गर्न मिल्ने उनले बताए ।
पोखरासँगै नेपालमा रगतको अभाव हुँदा आकस्मिक रक्तदान एम्वुलेन्स प्रभावकारी हुने उनले बताए । अझ अहिले निषेधाज्ञाका बेलामा झन् उपयोगी भएको छ’, उनले भने, घरमै गएर रगत निकाल्दा पनि गर्छ, यसो गर्दा निषेधाज्ञापनि उलंघन नहुने, अनि रक्तदातालेपनि बिना झञ्झट सहज रुपमा घरमै बसीबसी रक्तदान पनि गर्न पाउँछ ।’ अहिले पोखरामा मात्र रगत संकलन गरिरहेपनि चाँडै पोखरासँग जोडिएका अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े, मादी र रुपा गाउँपालिकाका विभिन्न क्षेत्रमा पुगेर रंगत संकलन गरिने उनले बताए । आवश्यक परे बागलुङ, पर्वत, तनहुँ, लमजुङ, स्याङ्जासम्मपनि पुगेर रगत संकलन गर्न सकिने उनले जानकारी दिए । त्यसका लागि आफूहरु योजना बनाइरहेको उनको भनाई छ ।
तर यसरी रक्तदानका लागि सकभर समूहमा बोलाउँदा उत्तम हुने अधिकारीले बताए । ‘रक्तदान गर्नका लागि रक्तदाताले रेडक्रसलाई खबर गर्नुपर्छ’, उनले भने, ‘त्यसका लागि सकभर २ वा त्यो भन्दा बढी रक्तदाता मिलेर बोलाउनुभयो भने राम्रो ।’ तर १ जनाले मात्रपनि रक्तदान गर्छु भन्यो भने त्यसका लागिपनि रक्तदान गर्ने ब्यबस्था घरमै मिलाइने उनले बताए । रक्तदान गर्ने चाहना भएमा रक्तदाताले ०६१–५२१०९१, ९८५६०२११३१ र ९८५६०२७४४४ मा सम्पर्क गर्न उनले आग्रह गरे ।
रेडक्रस कास्कीले नियमित रक्तदान कार्यक्रम गर्न संघसंस्थाहरुलाई आग्रह गरेको छ । निषेधाज्ञाका कारण यसअघी निर्धारित रक्तदान कार्यक्रम नरोक्न आग्रह गर्दै रेडक्रसले पुरानै सेड्यूल अनुसार रक्तदान गर्न अपिल गरेको हो । साथै व्यक्तिले चाहेमा निषेधाज्ञाको समयमा पनि रक्त सञ्चार केन्द्र गएरपनि रक्तदान गर्न पाइने र बाटोमा रक्तदानका लागि भनेर गएमा प्रहरीलेसमेत अवरोध नगर्ने रेडक्रस कास्कीका मन्त्री धर्मराज अधिकारीले बताए ।
पोखरामा हाल दैनिक ७५/८० युनिट रगत खपत हुने गरेको रेडक्रस कास्कीले जनाएको छ । लकडाउन र निषेधाज्ञाका कारण नियमित रक्तदान नहुँदा पोखरामा रगतको मौज्दात एकदमै न्यून मात्रै रहेको भन्दै रेडक्रसले रक्तदान गर्न सर्वसाधारण सबैमा अपिल गरेको छ ।
प्रकाशित: ९ भाद्र २०७७ ०९:४३ मंगलबार





