१४ माघ २०८२ बुधबार
image/svg+xml
समाज

लोमान्थाङमा विजुलीको तार अण्डरग्राउण्ड

शहर बजारमा विजुलीको पोलमा तारको लठ्ठा देखिन्छ। विजुलीको तारसँगै अन्य व्यावसायीक प्रयोजनका तारहरुको गुजुल्टोले कुरुप बनाएको छ। पोखरा महानगरपालिकाले पोलबाट तारको गुजुल्टो हटाउने काम पनि शु्रु गरेको थियो। तर त्यो औचित्यहीन हुन पुग्यो। काम लठापत्रै छोडियो।  

बजारमा विजुलीको तारलाई जमिनमुनि विछ्याउन सकिएको छैन्। तर हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा भने अण्डरग्राउण्ड गरिएको हो। दुर्गम क्षेत्र मानिएको लोमान्थाङमा तारलाई अण्डरग्राउण्ड गरिएपछि बस्ती नजिक विजुलीको पोलमा तारको गुजुल्टो देखिन्न। सफा र स्वस्च्छ देखिएको छ।  

तार जमिनमुनि विछ्याउन दुईदशक अघि शुरु गरिएको थियो। बीचमा प्रभावकारी नदेखिएपछि रोकिएको थियो। १४४ घर धुरीलाई लक्षित गरी फेरी गतवर्षदेखि विजुलीको तार अण्डरग्राउण्ड गरिएको हो। ‘अमेरिकन हिमालयन फाउण्डेशनको सहयोगमा अण्डरग्राउण्ड गर्ने काम गरियो’ गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्टले भने–‘लो ग्याल्पो झिग्मे फउण्डेशन र लोमान्थाङ गाँउपालिका वडा नं ५ को संयुक्त सहकार्यमा सम्भव गरिएको हो।’ उनले तार जमिनमुनि विछ्याउने कामको लागि ५५ लाख रुपैयाँ खर्च भएको जानकारी दिए।  

अमेरिकन हिमालयन फाउण्डेशनकै सहयोगमा २०५७ सालमा लघु जलविद्युत निर्माण गरिएको थियो। त्यतिबेला नै तार अण्डर ग्राउण्ड गरिएको थियो। लघु जलविद्युतले माग धान्न नसकेपछि नेपाल विद्युत प्राधिकरणको प्रशारण लाईन विस्तार गरिएपछि फेरी अण्डरग्राउण्ड गर्नेकाम शुरु गरिएको थियो। गण्डकी प्रदेश सरकारको मुख्य कार्यक्रम ‘उज्यालो प्रदेश मेरो निर्वाचन क्षेत्र’ भन्ने नारासहित विद्युतीकरण समेत शुरु गरिएको छ।  

गण्डकी प्रदेशले लोमान्थाङको विद्युत प्रशारण लाईन नपुगेको ठाँउहरुमा पोल गाड्ने र तार तान्ने अभियानलाई अगाडि बढाएको छ। प्रदेश सदस्य विष्टले आफनो निर्वाचन क्षेत्र लोमान्थाङ गाँउपालिकालाई उज्यालो बनाउने अभियान अन्तर्गत मेनलाईन विस्तारको लागि प्रदेश सरकारबाट ३९६ विद्युत पोल उपलब्ध गराइएको जनाए। ‘मेन लाईन तान्नको लागि ३ सय ९६ पोल उपलब्ध गराइएको छ’ उज्यालो अभियानको लागि सक्रिय भएका स्थानीयबासी एवं प्रदेश सदस्य विष्टले भने–‘शाखा लाईनको लागि १८० वटा पोल गाड्ने तयारी भईरहेको छ।’ उनका अनुसार विद्युत पोलसँग आवश्यक अन्य सामान समेत उपलब्ध भईसकेको छ।  

नेपाल विद्युत प्राधिकरण मार्फत गण्डकी प्रदेश सरकारले पोल उपलब्ध गराएको हो। लोमान्थाङ गाँउपालिकासँग जोडिएको लोघेकर–दामोदरकुण्ड गाउँपालिकामा समेत विद्युतीकरण गर्न मेन लाईन विस्तारको लागि १९६ पोल सम्बन्धीत गाँउपालिकासम्म पठाईसकिएको छ। ‘शाखा लाईन विस्तारको लागि ७० पोल दिइएको छ।’ उनको भनाई थियो। पोल खरीद एवं घराबदानासम्मको ढुवानी प्रदेश सरकारले उपलब्ध गराएको सदस्य विष्टले सुनाए। घराब दानादेखि गाउँपालिकासम्मको ढुवानी भने सम्बन्धीत गाउँपालिकाले नै गरेको उनको भनाई थियो।  

प्रदेश सरकार र स्थानीयको सहकार्यतामा मुस्ताङमा ७ वटा वडाहरुमा सौर्य उर्जा (सोलार) वितरण समेत गरिने तयारी छ। ७५ प्रतिशत प्रदेश सरकारको लगानी र २५ प्रतिशत स्थानीयको सहभागिता सोलार जडान शुरु गरिने समेत उनले बताए।  

 

 

 

 

प्रकाशित: ९ भाद्र २०७७ ०७:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App