जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा हिमा गाउँपालिकामा बनेको आइसोलेसनमा पुगे । उनी पुग्दा संक्रमितको एउटै माग थियो,‘हामीलाई अस्पतालसम्म लैजानु पर्यो । गाउँमा सुरक्षित नहुन सक्छौँ ।’ प्रमुख जिल्ला अधिकारी थापाको जवाफ थियो । ‘अहिले कोरोना मात्र देखिएको छ । कुनै लक्षण देखिएको छैन । ढुक्कसंग गाउँकै आइसोलेसनमा बस्नुस । सामान्य लक्षण देखिने बित्तिकै अस्पताल लैजान्छौँ । औषधि उपचारको लागि कुनै कसुर बाँकी राख्ने छैनौँ । एम्बुलेन्स तयारी अवस्थामा छ । हरेक आइसोलेसनमा हाम्रो समन्वय भइराखेको छ । ’
प्रमुख जिल्ला अधिकारी थापाको यो जवाफले संक्रमित निकै खुसी भए । उनीहरु प्रमुख जिल्ला अधिकारी थापाले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको टोली लिएर आइसोलेसनमा पुगेको देख्दा दंग भए । दुर्गमका आइसोलेसनमा कसैको नजर पुग्दैन होला भन्ने सोचेका थियौँ,संक्रमितले भने,‘सिडिओ साप नै पुग्नु भयो । हामी ढुक्क भयौँ । अब हामीलाई कुनै त्रास हुनेछैन ।’
लामो समयसम्म पनि संक्रमितको व्यवस्थापन हुुन नसकेको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी थापा आफै आइसोलेसन स्थल पुगेका थिए। टोलीले कोरोना संक्रमितलाई हरेक तबरले काउन्सिलिङ गर्यो । कोरोना संक्रमणबाट बच्ने उपायका बारेमा सहजीकरण गर्यो । संक्रमित हुदैमा फरक नपर्ने बताउँदै ढुक्क भएर कोरोना जीत्न आग्रह गरेर फर्कियो । ’
हिमा गाउँपालिकाको कालिकाखेतु र जोगिबाडामा आइसोलेसन निर्माण गरिएको हो । कालिकाखेतुमा २१ जना र जोगिबाडामा १८ जना संक्रमित छन् । एक जना प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा छन् । पाँच जना अलग्गै आइसोलेसनमा बसेका छन् । टोेलीले गाउँपालिका अध्यक्ष रजबहादुर शाहीलाई समेत आइसोलेसनसम्म लिएको थियो । संक्रमितको कुनै पनि गुनासोको संबोधन गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
आइसोलेसनमा नेपाली सेना र प्रहरीको प्रत्यक्ष निगरानी रहनेछ । संक्रमितको खासै गुनासो थिएन प्रमुख जिल्ला अधिकारी थापाले भने,‘ सबैमा अस्पतालसम्म जान पाइदिएको भए भन्ने चाहना थियो । त्यो संभव भएन । बरु लक्षण देखिने बित्तिकै अस्पतालसम्म लिने गरि विश्वस्त पारिएको छ ।’
पहिले क्वारेन्टिनमा जान समेत सबै डराउने अवस्था थियो । तर अहिले आइसोलेसनसम्म सिडिओ नै पुग्दा संक्रमित अचम्म मानिरहेका थिए । प्रमुख जिल्ला अधिकारीसहितको टोली पुग्दा थप उर्जा मिलेको र कोरोनासंग लड्ने शक्ति पैदा भएको संक्रमितहरु बताउँछन् ।
भेण्टिलेटर र आइसियुका लागि केन्द्र र प्रदेश सरकारसंग माग गर्ने समेत निर्णय भएको हो । विपद् व्यवस्थापन केन्द्र जुम्लाका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी थापाका अनुुसार कोरोना संक्रमण फैलन सक्ने अवस्थालाई मध्येनजर गर्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रहेको आइसोलेसन कक्ष अपुग रहन सक्ने भएकोले प्रत्येक स्थानीय तहमा न्युनतम ५० बेडको आइसोलेसन कक्ष निर्माण गर्न आग्रह गर्ने निर्णय गरिएको थियो ।
स्वाब परीक्षणबाट कोरोना संक्रमण देखिएका तर लक्षण नदेखिएका संक्रमितलाई गाउँकै आइसोलेसनमा राखि उपचार व्यवस्था मिलाउने र लक्षण देखिएका संक्रमितलाई कर्णाली प्रतिष्ठानको आइसोलेसनमा राखेर उपचार गर्ने व्यवस्था मिलाउने निर्णय भएको हो ।
प्रमुख जिल्ला अधिकारी थापाले भने,‘प्रत्येक स्थानीय तहमा स्थापना गरिने आइसोलेसनका लागि आवश्यक पर्ने चिकित्सक परिचालनका लागि कर्णाली प्रतिष्ठानलाई आग्रह गरिएको छ । अन्य स्वास्थ्यकर्मी परिचालन स्थानीय तहले नै गर्नुपर्ने छ । ’ आइसोलेसनमा सुरक्षा व्यवस्था गर्न जिल्ला सुरक्षा समितिलाई आग्रह गर्ने निर्णय भएको हो ।
संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेको बेला कर्णाली प्रतिष्ठानमा रहेको आइसियु तथा भेण्टिलेटरको संख्या अपुग हुनसक्ने भएकोले पूर्वाधार विकास गर्न कोभिड-१९ व्यवस्थापन केन्द्र छाउनी तथा प्रदेश कोभिड-१९ व्यवस्थापन केन्द्र कर्णाली प्रदेश समक्ष माग गर्ने भएको हो । अहिले प्रतिष्ठानमा आइसियु तथा भेण्टिलेटरको संख्या ५ मात्र छ ।
अति सम्पर्क हुने स्थानहरुको स्वाब संकलन गर्ने कार्य बाँकी रहेका स्थानीय तह सिँजा, तिला, गुठिचौर गाउँपालिकामा यथासिघ्र स्वाब संकलन गर्न टोली परिचालन गर्ने प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका बारेमा प्रचारप्रसार तथा आइसोलेसन कक्षको सुरक्षा व्यवस्थापन गर्न स्थानीय सुरक्षा निकायसंग समन्वय, सहकार्य गर्ने गरि स्थानीयतहले स्वयंसेवक परिचालन गर्ने समेत निर्णय भएको हो ।
जुम्ला कालिकोटको सिमाना नाग्म बजारमा पनि कोरोना संक्रमण देखिएकाले नाग्म बजारमा निषेधाज्ञा गर्ने र कालिकोट र जुम्लाको समन्वय सहकार्य निरन्तर रुपमा गर्ने निर्णय भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र जुम्लाले जनाएको छ ।
प्रकाशित: ६ भाद्र २०७७ १२:२५ शनिबार





