८ वैशाख २०८१ शनिबार
समाज

संक्रमितको उपचार व्यवस्थापन गर्न निषेधाज्ञा

तीन सातादेखि विभिन्न भागमा कोरोना संक्रमण बढेपछि प्रधानमन्त्री केपी ओलीले विज्ञहरुलाई बालुवाटारमा बोलाएर सुझाव लिए। सो क्रममा धेरैजसो विज्ञले लकडाउन गर्नुभन्दा सुरक्षाका मापदण्ड पालना गराउने सुझाव दिएका थिए। यो सुझावलाई अंगीकार गर्दै सरकारले केही सातासम्म उपत्यकामा लकडाउन खुकुलो पारेको थियो।

तर तीन साता नबित्दै उपत्यकामै दैनिक २ सय हाराहारी संक्रमित देखिन थालेपछि मंगलबार बसेको कोभिड १९ संकट व्यवस्थापन समितिले स्थानीय प्रशासनमार्फत लागु हुनेगरी उपत्यकामा निषेधाज्ञा गर्ने निर्णय लियो। बिहीबारदेखि सोहीअनुसार उपत्यकाका तीनै जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंमा एक साताका लागि निषेधाज्ञा जारी भयो।

निषेधाज्ञाको अवधिमा उपत्यकामा भेटिने संक्रमितको संख्या व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गृहकार्य गरिरहेको मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीले बताए। जेठमै विज्ञहरुले भदौसम्ममा ४० हजार संक्रमित पुग्ने प्रक्षेपण गरेअनुसार सरकारले उपचारमा आवश्यक सामग्री र जनशक्ति तयारी अवस्थामा राखेको उनले दाबी गरे। कार्कीका अनुसार निषेधाज्ञा जारी नगरेको भए संक्रमण दर बढेर सात दिनमै २४ हजार पुग्ने स्थिति थियो। अहिले उपत्यकामा १२ हजारजति संक्रमित रहेको अनुमान गरिएको उनले बताए। ‘संक्रमण छिटो बढ्ने भनेको भेटघाटबाट नै हो, त्यही भएर त्यसलाई रोक्न खोजिएको हो’, डा. कार्कीले भने।

उपत्यकामै दैनिक २ सय हाराहारी संक्रमित देखिन थालेपछि मंगलबार बसेको कोभिड १९ संकट व्यवस्थापन समितिले स्थानीय प्रशासनमार्फत लागु हुनेगरी उपत्यकामा निषेधाज्ञा गर्ने निर्णय लिएको हो।

डा. कार्कीले यसअघि नै ४० हजार जना संक्रमितको उपचार गर्नेगरी तयारी भएको दाबी गरे। यसअघि नै सातै प्रदेशमा अक्सिजन पलान्ट, ५ हजार आइसोलेसन वार्ड, आइसियु, भेन्टिलेटर, परीक्षणमा आवश्यक रिएजेन्टलगायतका तयारी पूरा भइसकको छ। ‘एक महिनाका लागि मौजुदा छ, थप सामग्री ल्याउन केही दिनमै टेन्डर खोल्दैछौं’, कार्कीले भने। आवश्यक जनशक्तिका लागि एमएस पढेका तीन सय र एमबिबिएस पढेका एक हजारजनालाई परिचालन गर्ने तयारी छ। उपत्यकामा बढ्न सक्ने संक्रमितलाई लक्षित गरेर थप ७ हजार बेड तयार गरिरहेको उनले बताए।

मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले निषेधाज्ञाकै अवधिमा उपत्यकामा संक्रमण रोक्ने र सोही अवधिमा व्यवस्थापनका विभिन्न तयारी भइरहेको जानकारी दिए। जसमा जनशक्ति तयारी, उपकरण तथा सामग्री खरिद प्रक्रिया र आइसोलेसन बेड थप गर्ने छन्। यही अवधिमा मन्त्रालयले अस्थायी चिकित्सक दरबन्दी खुला गरेको छ, उपत्यकाका हब तथा सेटलाइट अस्पतालमा रहेका बेड प्रयोग गर्ने तयारी भइरहेको छ। देशभरिमा १४ हजार ४ सय ६० वटा कोभिड बेड छन् भने वाग्मती प्रदेशमा १ हजार ९ सय ९१ वटा बेड छन्।

६ को मृत्यु, ११२६ संक्रमित थपिए

थप ६ जना मृत्यु भएसँगै ज्यान गुमाउने कोरोना संक्रमितको संख्या एक सय २६ पुगेको छ। मृत्यु हुनेमा पर्साका एक महिलासहित तीनजना, काठमाडौंमा एक महिला, मकवानपुर र सप्तरीका एकएकजना पुरुष छन्।

बिहीबार देशभरिमा थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा कुल संक्रमित संख्या २९ हजार ९ सय ४५ पुगेको छ। यीमध्ये ११ हजार ५ सय ५५ जना सक्रिय संक्रमित छन्। बिहीबार नै काठमाडौं उपत्यकामा थप २ सयजनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये १ सय ७४ जना काठमाडौं, १८ जना ललितपुर र ८ जना भक्तपुरका छन्। यस्तै सर्लाहीमा ७५, पर्सामा ५५, धनुषामा ३१, अछाममा ३१, कपिलवस्तुमा ३० र मकवानपुरमा २५ जना संक्रमित थपिएका छन्। कुल संक्रमित मध्येमा १७ हजार ९ सय ६४ जनानिको भएका छन्। गत २४ घण्टामा देशभरिमा ११ हजार ६ सय २७ वटा पिसिआर नमुना परीक्षण गरिएको थियो।

प्रकाशित: ५ भाद्र २०७७ ०१:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App