१६ चैत्र २०८० शुक्रबार
समाज

चितवनमा थपिए ७ जना संक्रमित

चितवनको भरतपुरमा रहेको कोभिड–१९ परीक्षण प्रयोगशाला । तस्बिर: सूर्यप्रकाश/नागरिक

बन्दाबन्दी खुलेसँगै चितवनमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो छ। भरतपुरस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा बुधबार गरिएको दुई सय तीन वटा नमुनाको पिसिआर परीक्षणमा चितवनका सात जनाको नतिजा पोजिटिभ आएको छ।  

प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले साउन २८ गतेको पिसिआर परीक्षण नतिजामा चितवन जिल्लाका सात जनामा कोरोना संक्रमण देखिएको जानकारी दिइन्। उनका अनुसार राप्ती नगरपालिका ६ का ६ जना पुरुष र भरतपुर महानगरपालिका ७ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।  

एक सातामा थपिए ३६ जना

चितवन जिल्लामा एक सातामा ३६ जनामा कोरोेना संक्रमण पुष्टि भइसकेको छ। कोरोना भाइरसबाट संक्रमित हुनेमा चिकित्सकदेखि कर्मचारीसम्म रहेका छन्। चितवनमा कुल संक्रमित संख्या एक सय ५२ पुगेको छ। कोरोना संक्रमणबाट भरतपुर अस्पतालमा चितवनका एक जना र बाहिरी जिल्लाका एक जनाको मृत्यु भइसकेको छ।

चितवनमा साउन २७ गते सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका थिए। कोभिड–१९ परीक्षण प्रयोगशालाले सोही दिन चितवनमा सबैभन्दा बढी संक्रमित फेला परेको जनाएको छ। पिसिआर परीक्षणमा भरतपुर महानगरमा १२ जना, राप्ती नगरपालिकामा तीन जना र इच्छाकामना गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।  

भरतपुर महानगरभित्रका १२ जनामध्ये भरतपुर क्यान्सर अस्पतालमा एक जना, मौलाकालिका हस्पिटलमा एक जना, पुरानो मेडिकल कलेजमा एक जना, नेशनल सिटी हस्पिटलमा एक जना र भरतपुर अस्पतालमा उपचार गराइरहेका एक जनामा कोरोना संक्रमण देखिएको थियो।  

साउन २६ गते भरतपुर ११ र ८ का २ जनामा कोरोना संक्रमण भेटिएको थियो। साउन २५ गते कोभिड प्रयोगशालामा कोरोनाको नमुना परीक्षण नै हुन सकेन। प्रयोगशाला निर्मलीकरण गर्नु परेकाले त्यस दिन पिसिआर परीक्षण हुन सकेको थिएन। साउन २४ गते ६ वर्षका बालकसहित चितवनका ६ जनामा कोरोना पोजेटिभ देखिएको थियो।  

साउन २३ गते भरतपुर महानगरपालिका १ का २ जनामा कोरोना पोजेटिभ देखिएको थियो। साउन २२ गते भएको पिसिआर परीक्षणमा सबै नतिजा नेगेटिभ आएको थियो।

प्रकाशित: २९ श्रावण २०७७ ११:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App