३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
समाज

श्रमदानबाटै मध्यपहाडी लोकमार्गको १० किलोमिटर सडक मर्मत

खोटाङको साकेला गाउँपालिका भित्र पर्ने मध्यपहाडी लोकमार्गअन्तर्गतको सडक मर्मतमा स्थानीयवासी श्रमदानसहित जुटेका छन्। वर्षायाम नजिकिँदै जाँदा सडक थप जोखिमपूर्ण बन्न सक्ने अवस्था देखिएपछि जनप्रतिनिधिदेखि सर्वसाधारणसम्म सामूहिक रूपमा सडक सुधार अभियानमा सहभागी भएका हुन्।

शनिबारदेखि सुरु गरिएको मर्मत अभियान साकेला गाउँपालिका–१ को सेखुवादेखि चखेवाभञ्ज्याङसम्मको करिब १० किलोमिटर सडकखण्डमा केन्द्रित छ। केही दिनसम्म निरन्तर सञ्चालन हुने अभियानमा गाउँपालिका अध्यक्ष रविप्रकाश राईले स्वयं नेतृत्व गरेर खटिएका छन्।

सडक विभागले सुरु गरेको मर्मत कार्यमा वडाध्यक्ष, जनप्रतिनिधि, गाउँपालिका कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको छ। स्थानीय तहको अगुवाइमा भएको श्रमदानले वर्षायामअघि सडक सञ्चालनलाई सहज बनाउने अपेक्षा गरिएको छ।

लामो समयदेखि मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयको बेवास्ता तथा निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीको ढिलासुस्तीका कारण उक्त सडकले पूर्णता पाउन सकेको छैन। निर्माण गरिएका कतिपय संरचना वर्षायाममा भत्किने गरेका छन् भने सडकका धेरै भाग हिलो, धुलो र पहिरोका कारण जोखिमपूर्ण बन्दै आएका छन्।

स्थानीयवासीका अनुसार हिउँदमा धुलो र वर्षायाममा हिलो तथा पहिरोको सास्ती खेप्न बाध्य यात्रु र चालकहरू यस सडकबाट दैनिक रूपमा प्रभावित हुने गरेका छन्। यस वर्ष भने वर्षा सुरु हुनुअघि नै सडक मर्मत थालिएकाले केही राहत मिल्ने आशा गरिएको छ।

गाउँपालिका अध्यक्ष राईले समयमै मर्मत नगर्ने हो भने वर्षायाममा यातायात अवरुद्ध हुने र दुर्घटनाको जोखिम बढ्ने भएकाले श्रमदानमार्फत भए पनि सडक सुधार सुरु गरिएको बताए।

“स्थानीयवासी, जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीको सामूहिक सहभागितामा सडक मर्मत सुरु गरेका छौँ,” उनले भने, “सडक व्यवस्थित नभएसम्म श्रमदान अभियान जारी राख्छौँ।”

अध्यक्ष राईले गाउँपालिकाभित्रका सडक तथा सार्वजनिक संरचनाको संरक्षणमा नागरिक सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै सामूहिक श्रम र सहकार्यको अभ्यासलाई प्राथमिकता दिँदै आएको बताए।

उनले मध्यपहाडी लोकमार्ग राष्ट्रको गौरवको आयोजना भए पनि निर्माण व्यवसायी, सम्बन्धित निकाय, सांसद, भौतिक पूर्वाधार मन्त्रालय तथा संघीय सरकारले जिम्मेवारीपूर्वक काम नगर्दा स्थानीयले दुःख पाउनुपरेको टिप्पणी गरे।

“दैनिक हजारौँ सवारीसाधन सञ्चालन हुने सडक भएकाले यात्रुको सहजताका लागि जनश्रमदानमार्फत भए पनि मर्मत गर्न तयार भएका हौँ,” अध्यक्ष राईले भने।

उनले सडकलाई केवल यात्रा गर्ने माध्यम नभई विकासको मेरुदण्डका रूपमा व्याख्या गर्दै यस्ता पूर्वाधारप्रति राज्य अझ जिम्मेवार बन्नुपर्ने बताए। स्रोतसाधन सीमित भए पनि जनसहभागिताबाट ठूलो परिवर्तन सम्भव हुने विश्वासका साथ श्रमदान अभियानलाई निरन्तरता दिइएको उनको भनाइ छ।

स्थानीयवासीका अनुसार उक्त सडक साकेलाबासीका लागि “लाइफलाइन” सरह हो। सडक वर्षैभरि सञ्चालन हुन सके गाउँसँग नियमित आवतजावत सहज हुने, व्यापार व्यवसाय चलायमान हुने, कृषि उपज ढुवानीमा सुविधा पुग्ने तथा विद्यालय जाने बालबालिका, बिरामी र आकस्मिक सेवामा समेत प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाका सूचना अधिकारी डीएम चाम्लिङ राईले मर्मत अभियानमा स्थानीयको उत्साहजनक सहभागिता रहेको बताए।

उनका अनुसार सडकका हिलाम्मे तथा क्षतिग्रस्त भाग सुधार गर्नुका साथै पानी निकास व्यवस्थापनका लागि नाला मर्मत गरेर सवारी सञ्चालन सहज बनाइनेछ।

 

प्रकाशित: ३ जेष्ठ २०८३ १८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App