१२ मंसिर २०७७ शुक्रबार
समाज

बौद्ध दर्शनः एक टेड टक

दर्शन र जीवन

अहिले बुद्ध धर्म र बौद्ध दर्शनमा चाख लिनेको संख्या दिनानुदिन बढिरहेको छ । रुचि लिएर भरखरै अध्ययन शुरु गर्नेको लागि अनेकन समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । कहाँबाट शुरु गर्ने, कसरी बुझ्ने इत्यादि । केही पढिहालियो भने पनि प्रसंग ठम्याउनै गाह्रो हुन्छ । त्यसैले अहिलेको इन्टरनेट पुस्तालाई लाग्नसक्छ — बुद्ध अहिलेको जमानामा भइदिएको भए आफ्नो दर्शनको टेड–टक दिन्थे होला र उनको दर्शन दश–बीस मिनेटभित्र सजिलै बुझ्न सकिन्थ्यो होला । म भन्छु, एक हिसाबले बुद्धले टेड–टक दिएका थिए ! बुद्धको पहिलो उपदेश जसलाई धर्मचक्र प्रवर्तन सूत्र भनिन्छ, एकदमै टेड–टकको शैलीमा छ — सरल, स्पष्ट र संक्षिप्त । दश–बीस मिनेटभित्रै यो पढ्न भ्याइन्छ । सोही सूत्रको आधारमा यहाँ अत्यन्तै सरल र संक्षेपमा बौद्ध दर्शनका मूल सिद्धान्तहरू प्रस्तुत गर्ने जमर्को गरेको छु ।

धर्मचक्रहरू

वास्तवमा सम्पूर्ण बौद्ध दर्शन तीन वटा चक्कामा बुझाउन भ्याइन्छ । तिनै चक्कालाई धर्मचक्र भनिन्छ । यी चक्काहरू बौद्धस्थलहरूमा यत्रतत्र देख्न पाइन्छ । पहिलो चक्का चार डाँठ भएको हो । यो बिरलै भेटिन्छ, तर यसको ऐतिहासिकता छ । यसले चार आर्य सत्यलाई बुझाउँछ । बुद्धको मुख्यदर्शन नै चार आर्य सत्य हो । यसलाई संस्कृतमा ‘चत्वारि आर्यसत्यानि’ भनिन्छ ।

धर्मचक्रहरूमा सबभन्दा लोकप्रिय आठ वटा डाँठ भएको हो । यसले आर्य अष्टांगिक मार्ग अर्थात् आठ वटा अंग भएको बाटोको प्रतिनिधित्व गर्दछ । यो विहार र गुम्बाका मूल ढोकाहरूमा जताततै देखिन्छ ।

अर्को धर्मचक्रमा चौबीस वटा डाँठ हुन्छन् । यसलाई अशोक चक्र पनि भनिन्छ । ईशापूर्व तेस्रो शताब्दीका भारतका सम्राट अशोकले आफ्ना स्मारकहरूमा प्रयोग गरेकाले यसलाई अशोक चक्र भनिएको हो । उनका यी स्मारकहरू बौद्ध तीर्थस्थलहरूमा पाइएका हुन् । भारतको राष्ट्रिय ध्वजाको मध्यमा रहेको चक्र चौबीस डाँठ भएको धर्मचक्र हो । यो चौबीस डाँठले चार आर्यसत्य, आठ अंगको बाटो (अष्टांग मार्ग) र संसार चक्रका बाह्र कारण (द्वादश निदान) लाई जनाउँछ । हुन त, राष्ट्रिय ध्वजामा रहेपछि साहसिक राष्ट्रिय भावना जगाउन यी चौबीस डाँठका अन्य अर्थ पनि प्रस्तुत गरिएका छन् तर ऐतिहासिक रूपमा यो धर्मचक्र नै हो ।

चार आर्य सत्य

गौतम बुद्धले बोधिज्ञान प्राप्त गरेपछि चार सत्य भएको बताए । उनले न त ईश्वरलाई सत्य भने, न कुनै अलौकिक तत्त्वलाई । बरु उनले दुःखलाई सत्य भने । दुःख त प्राणी मात्रले अनुभव गर्ने कुरा हो । त्यसैले उनले दुःखकै वरिपरि चार सत्य स्थापना गरे-

१. दुःख छ (दुःख सत्य)

२. दुःखको कारण छ (समुदय सत्य)

३. दुःखको निवारण छ  (निरोध सत्य)

४. दुःख निवारणको बाटो छ (मार्ग सत्य)

यदि यसलाई चिकित्साशास्त्रको भाषामाभन्ने हो भने ‘दुःख छ’ भन्नु रोगको ‘लक्षण’ हो ।‘दुःखको कारण छ’ भन्नु ‘निदान’हो ।‘निवारण छ’ भन्नु ‘उपचार पहिल्याउनु’हो । ‘दुःख निवारणको बाटो छ’ भन्नु ‘औषधीको पुर्जी’ हो ।

वास्तवमा बुद्धको मूलदर्शन यत्ति नै हो । द्वादशनिदान अर्थात् दुःखका बाह्र कारण आर्यसत्यको दोस्रो सत्यको विस्तार हो । त्यस्तै अष्टांग मार्ग अर्थात आठ अंगको बाटो चौथो सत्यको विस्तार हो । यसरी चार सत्य, बाह्रनिदान र आठअंगको बाटोको समग्र प्रतिनिधि प्रतीक बन्छ, चौबीस डाँठको धर्मचक्र ।

अष्टांग मार्ग

अब आठ वटा डाँठ भएको चक्रको कुरा गरौं । यसले बुद्ध धर्मको मूलशिक्षा अष्टांग मार्ग जनाउँछ । आर्य सत्य मूलदर्शन हो भने द्वादशनिदान अन्तरदृष्टि हो । अष्टांग मार्ग चाहिँ हिँड्ने बाटो हो वा भनौं व्यवहारमा उपयोग गर्ने विधि हो ।  

अष्टांग मार्ग वा आठ अंग भएको बाटो हो :

१. सम्यक दृष्टि (ठीक बुझाइ)

२. सम्यक संकल्प (प्रतिवद्धता)

३. सम्यक वचन (सञ्चार सीप)

४. सम्यक कर्म (सही कृयाशीलता)

५. सम्यक आजीविका (सही व्यवसाय)

६. सम्यक व्यायाम (मानसिकअभ्यास)

७. सम्यक स्मृति (सजगता)

८. सम्यक समाधि (ध्यानबाट समाधि)

यिनलाई पनि विवेक, शरीर र मनले गर्नुपर्ने गरी तीन भागमा छुट्याइएका छन् । पहिलो दुई अर्थात् सम्यक दृष्टि र संकल्प विवेकद्वारा सम्पादन गरिने हुन् । बीचको तीन वटा सम्यक वचन, कर्म र आजीविका शरीरबाट गरिने हुन् । त्यस्तै अन्तिम तीन, सम्यक व्यायाम, स्मृति र समाधि मनद्वारा अभ्यास गरिने हुन् । अहिलेका उत्प्रेरणात्मक साहित्यमा बडि, माइन्ड, स्पिरिट भनिन्छ– त्यो त उहिल्यैदेखि थियो ।

वास्तवमा यी आठ अंगलाई चक्रमा किन राखिएको छ भने यी पहिलो, दोस्रो गरी क्रमैसित भन्दा पनि सबैसँगै समग्रमा अभ्यास गर्नुपर्ने हुन् । जस्तो कि सम्यक दृष्टिको आध्यात्मिक अर्थ हो, ‘म’ भन्ने छैन भन्ने बुझ्नु वा देख्नु । तर अनात्म साक्षात्कार त सम्यक समाधिको अभ्यासबाट हुने हो । त्यसै गरी सम्यक वचन, कर्म, आजीविका आदि सबै एकैसाथ अभ्यास गर्दै गहिर्‍याउँदै लानुपर्ने हुन् ।

सबै मानिसलाई अहिल्यै अध्यात्ममा रुचि हुन्छ भन्ने छैन तर तिनले पनि अष्टांग मार्गको अभ्यास गरे त्यसबाट सुख, समृद्धि, उन्नति नै लाभ हुन्छ । जस्तो कि सम्यक दृष्टि भन्नाले ठीक दूरदृष्टि (भिजन) भनेर पनि बुझ्न सकिन्छ । व्यवस्थापनमा पनि पहिला दूरदृष्टि बनाउनुपर्छ नै भनिन्छ । त्यसपछि त्यो दूरदृष्टिप्रति अठोट जनाउनुपर्छ भनिन्छ । त्यो सम्यक संकल्प भयो ।

त्यसैगरी सफलताको लागि सञ्चार सीप (सम्यक वचन), क्रियाशीलता (सम्यक कर्म), ठीक व्यवसायिकता (सम्यक आजीविका) को महत्त्व त भनिरहनै पर्दैन । अहिले पश्चिममा माइन्डफुलनेसको नामबाट सम्यक स्मृतिको अभ्यास त व्यावसायिक कार्यालयका उच्च पदस्थ कर्मचारीहरूमै व्यापक छ । वास्तवमा अष्टांग मार्गको पहिलो दुईले सुख दिन्छ भने बीचको तीनले सफलता र अन्तिम तीनले शान्ति ।

दुःखको कारण

बुद्धको अर्को ठम्याइ हो, कुनै कुरा पनि बिना कारण हुँदैन । त्यसैले बुद्धको दर्शनलाई कारणवादी वा हेतुवादी पनि भनिन्छ । त्यसमा पनि एउटै मात्र कारणले पनि कुनै कार्य हुँदैन भन्ने पनि बुद्धको दर्शन हो । त्यसैले बुद्धको दर्शन कारणवादी मात्रै नभई ‘बहुकारणवादी’ हो । ईश्वरवादी दर्शनमा जस्तो एउटै ईश्वरले सृष्टि गर्ने वा प्रलय गर्ने भन्ने कुरा यस दर्शनमा आउँदैन ।

जस्तो कि एउटा रूख उम्रनलाई बिउ चाहिन्छ तर बिउले मात्रै पनि हुँदैन, त्यहाँ माटो पनि चाहिन्छ, पानी पनि चाहिन्छ, घाम पनि चाहिन्छ, हावा पनि चाहिन्छ । यी सबै कुरा एकै ठाउँमा, उचित मात्रामा जुट्यो भने रूख स्वतः उम्रिन्छ । कारणहरू जुटेमा कार्य स्वतः हुने र नजुटेमा नहुने भनिएकोले बौद्ध दर्शनको ब्रम्हाण्डशास्त्र (कस्मोलोजी) विज्ञानको जस्तै भौतिकवादी छ ।  

बौद्ध दर्शनअनुसार दुःखको मुख्यकारण हो— अज्ञान (अविद्या) । अज्ञानले संस्कारलाई जन्म दिन्छ, संस्कारले विज्ञान । यसै गरी क्रमैसित एकअर्कोलाई जन्मदिँदै नामरूप, षदायतन (६ इन्द्रिय), स्पर्श, वेदना, तृष्णा, उपादान (आसक्ति), भव, जाति, जरामरणको संसार चक्र चलिरहन्छ । यसैलाई प्रतीत्यसमुत्पादको दर्शन पनि भनिन्छ । किनभने यी बाह्र कारण सिक्रीजस्तै एउटाको कारण अर्कोसित गाँसिएको हुन्छ । यसलाई थाङ्का चित्रहरूमा राम्ररी चित्रित गरिएको हुन्छ ।

यस लेखको शुरुमै सरल प्रस्तुति गर्छु भनेको भए तापनि प्रतीत्यसमुत्पादलाई सरल भाषामा बुझाउन सम्भव छैन । किनभने द्वादश निदान आध्यात्मिक अन्तरदृष्टिबाट साक्षात्कार हुने कुरा हो, न कि शाब्दिक वा सैद्धान्तिक ज्ञानबाट । गौतम बुद्धले बोधिवृक्षमुनि गहिरो समाधिमा अन्तरदृष्टिद्वारा यही द्वादश निदानबाट संसार–चक्र चलिरहेको साक्षात्कार गरेका थिए । त्यही चक्रलाई तोडेर उनले बुद्धत्व प्राप्त गरेका थिए ।

प्रकाशित: २३ श्रावण २०७७ १३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App