१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

बौद्धमा सीमित व्यक्तिका बीच मनाइयो रोपाइँ जात्रा

वर्षभर बौद्ध क्षेत्रबाट दिवंगत भएकाको मोक्ष एवं शान्ति प्राप्तिको कामना गर्दै बौद्ध चैत्यमा सीमित मानिसका बीच रोपाइँ जात्रा मनाइएको छ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयाका दिन विश्वसम्पदा सूचीमा सूचिकृत बौद्ध क्षेत्रमा मनाइने ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको जात्रा विधि मात्र पूरा गरेर समापन गरिएको हो ।

बौद्धनाथ क्षेत्र विकास समितिको संयोजनमा बौद्धमा रहेका सङ्घसंस्थाले सक्रिय रुपमा मनाउने सांस्कृतिक महत्वको रोपाइँ जात्रा यस वर्ष कोरोना फैलनसक्ने भयले सीमित मानिसकाबीच मनाइएको हो । आज दिउँसो ३ बजेपछि बौद्ध चैत्य परिसरमा एक वर्षअघिदेखि दिवङ्गत भएका परिवारका सीमित सदस्यलाई मात्र छिराएर सांस्कृतिक जात्रा सम्पन्न गरिएको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए ।

यस वर्ष बौद्ध क्षेत्रमा २० जनाको निधन भएको तथ्याङ्क प्राप्त भएको समितिले जनाएको छ । बीस परिवारका सीमित सदस्य, एउटा हलो, थोरै सङ्ख्यामा बाउसे र रोपाहारका बीच रोपाइँ जात्रा गरिएको हो । जात्राका समयमा सर्वसाधारणलाई बौद्ध चैत्य परिसरमा प्रवेशमा समेत रोक लगाइएको अध्यक्ष लामाले बताए ।

जात्राको विधिअनुसार बौद्ध चैत्य एकपटक घुमाएर जात्रा सम्पन्न गरिएको छ । विगतमा वर्षमा यो जात्राका क्रममा सांस्कृतिक झाँकीसहित बौद्ध–चुच्चेपाटी–चाबहिल–महाङ्काल–तीनचुले–जोरपाटी हुँदै पुनःबौद्धमै आएर सकिन्थ्यो । यस वर्ष भने सीमित लाठे र रोपाहारका बीच लाखे नाच नचाएर जात्रा सम्पन्न गरिएको छ । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट रोपाइँ जात्रा गरेपछि यस क्षेत्रबाट वर्षभर निधन भएकाले मोक्ष एवं शान्ति पाउँछन् भन्ने धार्मिक विश्वास छ ।

प्रकाशित: २१ श्रावण २०७७ १२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App