coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भारत र तेश्रो मुलुकबाट आएकालाई न क्वारेन्टिन न परीक्षण

जनस्वास्थ्यविद भन्छन् : समुदायमा खतराको घण्टी बजीसक्यो

बुटवल १३ बेलबासका २७ वर्षे युवक साउन २ गते साउदी अरवबाट नेपाल आए । १४ दिन क्वारेन्टिनमा बसेर पिसीआर गरेपछि घर जाने योजना सहित आएका उनलाई बुटवल उपमहानगरले क्वारेन्टिनमा राख्न मानेन । पिसीआर वा आरडिटि टेष्ट पनि गरिदिएन । त्यसपछि उनी सरासर घर गए । होम क्वारेन्टिनमा बसेको केही दिन पछि स्कुटर हाँकेर प्रादेशिक अस्पतालमा स्वाब संकलन गर्न गए । ५ हजार ५ सय रुपैँया तिरेर टेष्ट गराए । 

रिपोर्ट पोजेटिभ आयो । सावधानी अपनाएर सुरक्षित बस्नुको साटो ती युवा स्कुटर चढेर रिपोर्ट लिन जाँदै गर्दा स्थानीयले रोके । वडाध्यक्षको समन्वयमा उनलार्ई एन्फा एकेडेमीको आइसोलेसनमा लगीयो । नगरपालिकाले कन्ट्रयाक्ट ट्रेसिङमा परिवारका तीन जनाको मात्रै स्वाब लियो । एउटै घरमा बसेकी आमाको स्वाब लिइएन ।

भारतको नौतनवाबाट साउन ७ गते बुटवल आएका तीन जना भारतीय नागरिकलार्ई कोरोना देखियो । बुटवलको एक पसलमा कार्यरत दम्पती १३ वर्षका छोरा सहित बिना रोकतोक बेलहिया नाकाबाट पसेका हुन्। उनीहरूलाई न नाकामा रोकियो न बुटवल उपमहानगरले क्वारेन्टिनमा राखियो । नगरपालिकाले नमानेपछि साहुले उनीहरूलाई बुटवलकै एउटा होटलमा राखे । लुम्बिनी प्रादेशिक अस्पतालको ल्याबमा सशुल्क पिसीआर गराए । 

शुक्रबार तीनै जनाको रिपोर्ट पोजेटिभ आयो । नगरपालिका र प्रदेश सरकारले रिपोर्ट नै गुपचुप राखे । व्यापारीहरूबाट कुरा बाहिरीएपछि आइतबार बल्ल संक्रमणको पुष्टि गर्दै होटलबाट आइसोलेसन अस्पताल पठाइयो । लक्षण सहितका संक्रमित भएकाले उनीहरूलाई कोरोना अस्पतालमा राखिएको लुम्बिनी प्रादेशिक अस्पतालका डाक्टर सुदर्शन थापाले बताए ।  

प्रदेश सरकारलले पछिल्लो समय पिसीआर टेष्ट नै न्युन गरेर कोरोना नियन्त्रणमा सफलता हात पारेको देखाउन खाजेको छ । स्वास्थ्य गाइडलाईनको बहाना बनाउँदै क्वारेन्टिनमा बसेका र लक्षण सहितका बिरामीलाइ मात्रै पिसीआर टेष्ट गर्न निर्देशन दिइएको एक जना जनस्वास्थ्य अधिकारीले बताए ।  

‘विदेश वा भारतबाट आएका हुन वा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी या समुदाय । लक्षण नदेखिएकाको टेष्ट नगर्नु भन्ने आदेश छ,’ रुपन्देहीकै एक पालिकाका स्वास्थ्य संयोजकले भने । यो प्रदेशमा भारत तथा तेश्रो मुलुकबाटै आएकाहरूको आरडिटि समेत गरिएको छैन । जोखीमयुक्त क्षेत्रबाट आएकाहरूले पैसा तिरेरपनि पिसीआर गर्न पाएका छैनन । न त उनीहरूलाई क्वारेन्टिनमा राखिएको छ ।

तिलोत्तमा नगरपालिका–९ मा डेरा गरी बस्ने गुनबहादुर साउन ३ गते बहराइनबाट काठमाडाै‌ ओर्लीए । ४ गते बुटवल आएका उनलाई तिलोत्तमा नगरपालिकाले क्वारेन्टिनमा राख्न मानेन । टेष्ट पनि गरिदिएन । ‘मेयर वाशुदेव घिमिरेले नै क्वारेन्टिनहरू हटाउँदैछांै । नयाँ मान्छे लिन्नौ होम क्वारेन्टिनमा बस्नुस भनेपछि उहाँलाई कोठामा ल्यायौं,’ गुनकी श्रीमती बिष्णुले भनिन्। आफ्ना घरधनीले भनसुन गरेपछि  गौतमबुद्ध मुटु अस्पतालमा ११ सय रुपैयाँ तिरेर आरडिटि गराएको उनले बताइन् ।  

लकडाउन खुलेपछि भारत तथा तेश्रो मुलुकबाट आउनेहरूको संख्या उल्लेख्य छ । बेलहिया नाकाबाट मात्रै दैनिक दुई सयको हाराहारीमा नेपालीहरू फर्केको तथ्यांक छ । त्यसरी आएकालाई बिना परीक्षणण घर पठाइएको छ । बुटवल उपमहानगरका स्वास्थ्य संयोजक कुन्दनकुमार सिंहले सामुदायिक क्वारेन्टिनमा बस्नेहरूका लागि मात्रै भिटिएम उपलब्ध गराइएकाले अन्यको टेष्ट गर्न नसकिएको बताए ।

जनस्वास्थ्यबिद भन्छन् : समुदायमा पसेको संक्रमण फैलिन बेर लाग्दैन

भारत तथा तेश्रो मुलुकबाट आउनेलाई बिना टेष्ट सिधै घरमा पठाउँदा संक्रमण समुदायमा फैलिएको भन्दै जनस्वास्थ्य विदहरूले चिन्ता व्यक्त गरेका छन्। डब्लुएचओकै एक जना प्रतिनिधिले प्रदेशका बाँके, कपिलवस्तु, रुपन्देहीमा संक्रमण समुदायमा पसेको बताए । कपिलवस्तु र बाँकेमा समुदायमै फेला परिसक्यो । रुपन्देही, दाङ र बर्दियामा पनि टेष्ट बढाउनु अति जरुरी छ,’ ती अधिकारीले भने । बाँकेमा बिहिबार २७ जना र कपिलवस्तुमा सोमबार संक्रमण पुष्टि भएका मध्ये १३ जना कुनै ट्राभल हिष्ट्रि छैन।

यो प्रदेशमा पछिल्लो समय भारत तथा तेश्रो मुलुकबाट आएका संगै स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकर्मी, बोर्डिङका प्रिन्सिपल, एनजिओकर्मी तथा ट्राभल हिष्ट्रि नै नभएकालाई संक्रमण देखिएको छ । भारतमा कोरोनाका बिरामी बढेकाले त्यहाँबाट आउनेलाई सिधै घर पठाइनु घातक हुने प्रदेश प्रयोगशालाका प्रमुख डाक्टर राजेन्द्र गिरीले बताए । ‘भारत वा तेश्रो मुलुकबाट आउनेलाई क्वारेन्टिन राखौं । पिसिआर अनिवार्य गरौं । होइन भने समुदायमा पसेको संक्रमण फैलिन बेर लाग्दैन,’ डा. गिरीले भने ।  यो प्रदेशमा अहिले तीन सय १५ संक्रमित उपचारत छन्। दुई जना आइसीयुमा छन्। केही दिन यता बाँके, कपिलवस्तु, रुपन्देही, दाङमा संक्रमित थपिएका छन्। बुधबार सम्म ३ हजार ९०४ जना निको भएर फर्किएका छन्।  

कम्युनिटि टेष्टिङ सुरु

प्रदेश सरकारले अहिले सम्म समुदायका संक्रमण फैली नसकेको दाबी गर्दै त्यसको यकिन गर्न कम्युनिटि टेष्टिङ सुरु गरिएको जनाइएको छ । पहिलो चरणमा समुदाय, व्यापारीक समुह तथा बैंकिङ क्षेत्रमा स्वाब संकलनको योजना प्रदेश सरकारले बनाएको हो । त्यस अनुरुप बुधबार रुपन्देहीको सैनामैनामा र बिहिबार लुम्बिनी नगरपालिकामा ५०/५० जनाका दरले समुदायको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख समेत रहेका डाक्टर गिरीले बताए ।  

भित्रिदै भारतीय नागरिक

रुपन्देहीको बेलहिया नाका तथा सहायक नाकाबाट अहिले धमाधाम भारतीय कामदारहरू पनि आउन थालेका छन्। ती नाकामा तस्करी उत्तीकै मौलाएको छ । मल तथा किराना सामान किन्न नेपालीहरू पारी जाने र भारतीयहरू मदिरा सेवनकालागि वारी आउने क्रम बढेको छ । बेलहियामा त भैरहवा भन्सारको एजेन्टको नक्कली कार्ड बनाएरै भारतीयहरू घुमफिर, मदिरापान तथा तस्करीका सामान छुटाउन वारी आएको स्थानीयको गुनासो छ । 

जनगुनासो बढेपछि प्रहरीले बुधबार ३५ वटा भन्सार एजेन्टका नक्कली कार्ड जफत गरेको छ । रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले सिमाबाट भारतीय नागरिकलाई पस्न नदिएको दाबी गरे । नक्कली कार्ड प्रयोग गर्नेहरूलाई पनि निगरानीमा राखेर कार्ड जफत गरिएको एसपी थापाले बताए ।

प्रकाशित: १५ श्रावण २०७७ १४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App