३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

बाढीपहिरोमा परी कर्णालीमा ३४ जनाको मृत्यु

कर्णालीमा मनसुन सुरु भएयता यस वर्ष बाढी पहिरोमा परेर ३४ जनाको मृत्यु भएको छ भने आठजना बेपत्ता छन् । यस वर्ष वर्षामा दुई करोड ९१ लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

बाढी पहिरोमा परेर सुर्खेत, सल्यान र दैलेखमा एक÷एक, जाजरकोटमा १५, कालीकोटमा १२ र रुकुम पश्चिममा चारजनाको मृत्यु भएको छ । त्यस्तै दैलेखमा ६, जाजरकोटमा सात, कालीकोटमा दुई र रुकुम पश्चिममा पाँचजना घाइते भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार जाजरकोटमा दुई र कालीकोटमा ६ जना बेपत्ता भएका छन् बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । यस वर्ष वर्षाको समयमा ६१ घरमा क्षति पुगेको छ ।

बिहीबार मात्रै कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–६, बुढागाउँका ६० वर्षीय पर्शुराम सन्ज्याल र उनकी बुहारी २९ वर्षीया ताराको मृत्यु भएको छ । पर्शुराम पानी लिन गएका थिए भने तारा नजिकैको जंगलमा स्याउला लिन जाँदा माथिबाट पहिरोले बगाएको थियो । कर्णाली पहाडी र हिमाली क्षेत्र भएकाले यहाँ धेरै बाढी पहिरो जाने गर्छ । पछिल्लो समय जथाभावी सडक निर्माण गर्दा पनि गाउँबस्तीहरू पहिराको जोखिममा छन् । कर्णालीका एक हजारभन्दा बढी घर अहिले पहिरोको जोखिममा रहेको यहाँका प्रमुख जिल्ला अधिकारीहरूको भनाइ छ ।

पुस्तौँदेखिनै बस्ती विकासमा ध्यान नदिँदा बाढी पहिरोको मारमा सर्वसाधारण परिरहेका छन् । कमजोर धरातलदेखि खोला किनारसम्म बस्ती छन् । ‘त्यतिबेला सुरक्षित स्थानको खोजी गरिएन,’ कालीकोटकी पवित्रा सिंहले भनिन्, ‘जोखिमयुक्त ठाउँमा बस्ती भएकाहरू यो समयमा आनन्दले बस्न पाउँदैनन् । रातदिन जाग्राम (अनिधो) भएर बर्खाको समय बिताउँछन् ।’ पहिरो जाने डर भए पनि अर्को ठाउँ ओत लाग्ने ठाउँ नहुँदा ज्यानलाई बाजीमा राखेर बर्खा कटाउन बाध्य भएको उनको भनाइ छ । कतिखेर पहिरो आउँछ वा झर्छ भन्ने चिन्तामै जोखिमयुक्त क्षेत्रका बासिन्दाको दैनिक कट्ने गरेको छ ।

प्रकाशित: १५ श्रावण २०७७ ११:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App