११ माघ २०८२ आइतबार
image/svg+xml
समाज

सामाजिक विकास मन्त्रालयका ३ कर्मचारीमा कोरोना पुष्टि

प्रदेश २ मा सेनाका १० सहित ६१ जना संक्रमित थपिए

सप्तरीको राजबिरामा मुख्यमन्त्री लालबाबु राउत, सामाजिक विकास मन्त्री नवलकिशोरा साहसहित प्रदेशका सुरक्षा प्रमुखहरु बिना मास्क फोटो खिचाउँदै । तस्बिर : नागरिक

बु्धबार ६१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगैै प्रदेश २ मा संक्रमितको संख्या ४ हजार ५ सय ४४ पुगेको छ । थपिएका संक्रमितमा नेपाली सेनाका १० जना, समाजिक विकास मन्त्रालयका ३ जना, २ जना शिक्षकसहित कोरानाका कारण मृत्यु भएका परिवारका व्यक्ति छन् ।  

प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रवक्ता विजय झाकाअनुसार समाजिक विकास मन्त्रालयका तीन जना कर्मचारीसहित धनुषाका १२ जना, महोत्तरीका दश जना नेपाली सेनासहित १३ जना, सर्लाहीका १ जना र सप्तरीका १ जना र पर्साका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

महोत्तरीका गणका संक्रमित १० जना नेपाली सेनाहरु किसानगञ्जमा सेनाले संचालन गरेको आइसोलेसनमा पुर्‍याइसकिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । संक्रमण पुष्टि भएका नेपाली सेनाहरु गत मंगलबार धरानमा मृत्यु भएका महोत्तरी गाउँपालिका ३ मडहीका ६४ वर्षीय पुरुषको शव व्यवस्थापनमा सक्रिय रहेको प्रजिअ कटुवालले बताए ।

महोत्तरी जिल्ला स्वास्थ्य कार्यालयका प्रवतmा गीरेन्द्रकुमार झाकाअनुसार मृतकको कन्ट्याक्ट ट्रेसिङको आधारमा उनको परिवारका सदस्यसहित ४२ जनाको स्वाब परीक्षण गरिएकोमा सात जनाको रिपोर्ट पोजेटिभ आएको छ । सोही दिन नेपाली सेना महोत्तरी स्थित गणका २० जनाको स्वाब संकलन गरिएकोमा १० जनाको रिपोर्ट पोजेटिभ आएको झाले बताए ।

सिन्धुपालचोकमा कार्यरत्त महोत्तरीका एक जना शिक्षकले जागीरमा फर्किनुअघि गराएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको झाले बताए । अर्का शिक्षक श्रीमतीसहित एकसाता अघि वीरगंजका आफन्तको घरमा उत्सबमा सहभागी भएर फर्केपछि शरीर दुखेर र सुँघने क्षमता गुमाएका थिए । चिकित्सको सल्लाहमा पीसीआर परीक्षण गराएका शिक्ष दम्पती मध्ये शिक्षकको रिपोर्ट पोजेटिभ आएको झाले बताए ।  

गत मंगलबार कोरानाका कारण मृत्यु भएका परिवारका कोरोना पुष्टि भएका सात जना अझै गाउँमै छन । उनीहरु अझै आइसोलेसन केन्द्रमा आएका छैनन् । सात जना मध्ये दुई जना सदस्य गाउँ डुल्ने, मोटरसाइकलमा जनकपुर आउजाउ गरिरहेको झाले बताए । ‘गाउँदेखि उनी पुग्ने जनकपुरसम्मै संक्रमणको खतरा बढाएको छ’ झाले भने,‘संक्रमित गाउँ डुल्दा गाउँभरी त्रास फैलिएको छ ।’ मृतका संक्रमित छोरा र श्रीमती बाहेक सबै गाउँ डुलिरहेका छन । संक्रमित छोरा किरिया बसेकाका कारण घरमै छन । मृतकको श्रीमती पनि उनीसँग घरमै बसेका छन । बाँकी पाँच जनालाई आइसोलेसन केन्द्रमा आउन जती भन्दा पनि मानेका छैनन झाले भने,‘उनीहरुलाई ल्याउन प्रहरीलाई आग्रह गरेको छुँ ।

लकडाउन खुलेपछि सामाजिक दूरी, मास्कको प्रयोगमा लापरवाही व्यापक बढेको छ । सर्वसाधारणदेखि मन्त्री सम्मले मास्कको प्रयोग र भौतिक दूरी कायम गर्न हेलचक्रयाइँ गरेको पाइएको छ । दुई दिनअघि सप्तरीको राजविराज पुगेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, सामाजिक विकास मन्त्री नवलकिशोर साहसहित तीन वटै सुरक्षा निकायका प्रमुखहरु टाँसिएर मास्क बिना फोटो सेसन गराएका थिए । प्रदेशका मुख्य मन्त्री, मन्त्री, सुरक्षा प्रमुखहरु नै भौतिक दूरी कायम र मास्क नलागाई सामूहिक तस्बिर सार्वजनिक गर्छन्, सप्तरीका एक शिक्षकले भने,‘यसबाट कसरी यहाँको सामाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ ? जनतालाई मास्क लगाउन, भौतिक दूरी कायम गर्न कोरा हान्नेहरु आफै बिना मास्क फोटो खिचाउनु अव्यवहारिक भयो ।’

प्रकाशित: १४ श्रावण २०७७ १३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App