मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि आज मतदान भइरहेको छ। मधेशबाट राष्ट्रिय सभामा रहेका चार सदस्यको आगामी फागुन २० गते कार्यकाल सकिँदैछ।
सोही सिटका लागि जनकपुरधाम उपमहानगरपालिका-४ महेन्द्रनारायण मिथिला संस्कृति केन्द्रमा बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुनेछ।
महिला, दलित, अन्य र अल्पसंख्यक समुदाय समूह गरी चार जना सदस्य चुनिँदैछ। चार सदस्यका लागि भइरहेको निर्वाचनमा ११ जनाको उम्मेदवारी परेको छ। नेपाली कांग्रेस र नेकपा एमालेसँग (जसपा) नेपालले अन्य एक सिटमा चुनावी तालमेल गरे पनि बाँकी तीन समूहमा छुट्टै उम्मेदवारी दर्ता गराएका छन्। तर अन्तिम समयमा जसपाले अन्य तीन सिटमा पनि कांग्रेस एमालेको उम्मेदवारलाई मतदान गर्ने सहमति भएपछि आफ्ना उम्मेदवारलाई निष्क्रिय बनाएको छ।
दलित समूहमा नेपाली कांग्रेसका धर्मेन्द्र पासवान र नेपाली कम्युनिष्ट पार्टीका शम्भु पासवान र जसपा नेपालकी चमेली दास उम्मेदवार रहेका छन्।
महिलातर्फबाट नेकपा एमालेकी रेखाकुमारी, नेकपाकी शनीकुमारी अग्रवाल र जसपा नेपालकी चन्द्रकला देवी साह उम्मेदवार रहेकी छन्। अल्पसंख्यक समुदायबाट कांग्रेसका रन्जित कर्ण, नेकपाका रामानन्द प्रसाद र जसपाका शैलेन्द्र चौधरी उम्मेदवार रहेका छन्।
अन्य समूहमा कांग्रेस एमालेको तर्फबाट जसपा नेपालका महन्त ठाकुर र नेकपा लक्ष्मण पौडेल उम्मेदवार रहेका छन्। प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार फरक भएकाले छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था मिलाइएको छ।
मधेश प्रदेशमा १०७ जना प्रदेशसभा सदस्य रहेका छन्। हाल प्रदेश सदस्यको संख्या १०० कायम रहेको छ। त्यस्तै प्रदेशमा १३६ स्थानीय तह रहेका छन्। प्रदेश सदस्य १०० र स्थानीय तह प्रमुख र उपप्रमुख २६४ गरी जम्मा ३६४ मतदाता रहेका छन्।
प्रकाशित: ११ माघ २०८२ १२:३० आइतबार





