८ वैशाख २०८१ शनिबार
समाज

पहिरोले पुरिएर आठको मृत्यु, पाँच बेपत्ता

रुकुममा पहिरोमा पुरिएकाको शव निकाल्दै स्थानीय र प्रहरी । तस्बिर सौजन्यः जिल्ला प्रहरी कार्यालय, रुकुम

अविरल वर्षाका कारण पश्चिम नेपालका विभिन्न ठाउँमा आएको पहिरोमा परेर मंगलबार मात्रै ८ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशको रुकुम पश्चिममा दुई जना र कालिकोटमा एक जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।  

सुदूरपश्चिमको दार्चुलामा पहिरो जाँदा एक दम्पतीको मृत्यु भएको छ । उता गण्डकी प्रदेशको बागलुङमा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । प्रदेश १ को धनकुटामा अविरल वर्षातसंगै आएको बाढीले घर बगाउँदा एकै परिवारका तीन जना घाइते भएका छन् । देशका विभिन्न ठाउँमा आएको बाढीपहिरोले लाखौंको क्षति गरेको छ ।  

पहिरोमा पुर्दा दुईको मृत्यु
सोमबार राति आएको अविरल वर्षाका कारण पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–९, झुलाका हस्तबहादुर सुनारको घर पहिरोले बगाउँदा रातिसँगै सुतेका २२ वर्षीय नवीनकुमार सुनार र १६ वर्षीय बलहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए ।

नवीन हस्तका भाई हुन भने बलबहादुर छिमेकी हुन् । प्रहरीका अनुसार हस्तबहादुरकी आमा घाइते भएकी छिन् । उपचारका लागि उनलाई जिल्ला अस्पताल पु¥याइएको भएपनि त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको डिएसपी केसीले बताए । पहिरोले घर करिब २५ मिटर तल बगाएको छ । त्यस्तै सोमबार राति आएको वर्षाका कारण बाँफिकोट गाउँपालिका–४, स्थित स्यार्पु दह जाने सडक खण्डमा भएका पाँचवटा घुम्तीहरू पहिरोले बगाएको छ ।  

कर्णाली, सुदूरपश्चिम, गण्डकी र प्रदेश १ मा आएको बाढी पहिरोमा परेर मंगलबार मात्रै आठजनाको मृत्यु, पाँचजना बेपत्ता र सातजना घाइते  भएका छन् ।  

४ नम्बर वडाका सौगात विक, डिलबहादुर परियार, विनोद शाही, शेरबहादुर विक र दलबहादुर विकको घुम्ती पहिरोले बगाएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार सौगातको तीन लाख ५० हजार, डिलबहादुरको दुई लाख, विनोदको ३० हजार, शेरबहादुरको तीन लाख र दलबहादुर एक लाख रूपैयाँ बराबरका सामान पहिरोले बगाएको छ । डिलबहादुर परियार, वुद्धि केसी र जनक विकको घर उक्त पहिरोको कारण उच्च जोखिममा रहेको छ । उनीहरूलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

बागलुङमा तीन जनाको मृत्यु
अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा तीन जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । सोमबार राति तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु भएको बागलुङका डिएसपी राजेन्द्र रेग्मीले जानकारी दिए । उनकाअनुसार जिल्लाको तमानखोला गाउँपालिका–२ का पानबहादुर विकको घर पहिरोले परेको थियो । घर पुर्दा उनका १३ वर्षीय छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रिता विकको मृत्यु भएको छ भने पत्नी होमकुमारी विक गम्भिर घाइते भएको डिएसपी रेग्मीले बताए ।  

त्यस्तै निसिखोला गाउँपालिका–१ का कमल परियारको घर पहिरोले पुर्दा उनकी ३ वर्षीय छोरा समिर परियारको मृत्यु भएको उनले बताए । जिल्लाका विभिन्न सडक समेत वर्षाका कारण अवरुद्ध भएका छन् । अवरुद्ध सडक खुलाउनका लागि काम भइरहेको स्थानीय प्रशासनले बताएको छ ।  

पहिरो खस्दा दम्पतीको मृत्यु  
पहिरोले घर बगाउँदा दार्चुलामा एक दम्पतीको मृत्यु भएको छ । दार्चुलाको दुहुँ गाउँपालिका–३ सल्लेखेतीमा मंगलबार बिहान ५ बजेतिर पहिरो खस्दा दम्पतीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घरमाथि बनाइएको सडकबाट पहिरो खस्दा ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया पत्नी इन्द्रा जोशी बेपत्ता भएका थिए । बेपत्ता उनीहरूको मंगलबार दिउँसो शव फेला परेको थियो ।  

एक छोरा र एक छोरीसहित जोशी दम्पती घरमा बस्दै आएका थिए । उनकी छोरी नजिकै काकाको घरमा गएको र छोरा सुनिल जोशीसँग जोशी दम्पती मंगलबार बिहान घरमा थिए । पहिरो खस्दै गरेको थाहा पाउने वित्तिकै बाहिर निस्किएका उनीहरू पुनः घरमा राखेको पैसा निकाल्न घरभित्र गएका थिए । घरभित्र पसेका बेला माथिबाट एक्कासी पहिरो आएर बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदमबहादुर बिष्टले बताए । बुबा र आमा पैसा लिन पुनः घरभित्र पसेका बेला पहिरो आएर घरै बगाएको र पहिरोले घरसँगै जोशी दम्पतीको १ भैँसी र ४ बाख्रा बगाएको छोरा सुनिलले बताए ।  

घर बगाउँदा एकको मत्यु, पाँच बेपत्ता
कालिकोटको राष्टकोट नगरपालिका–१ को गंगेखोलामा सोमबार राति आएको पहिरोले घर बगाउँदा एकको मृत्यु हुनुका साथै पाँच जना बेपत्ता भएका छन् । स्थानीय टेक टमट्टाको घर पहिरोले बगाउँदा पाहुना आएकी सान्नी त्रिवेणी गाउँपालिकाकी १४ वर्षीया कोशीला शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए । यस्तै स्थानीय जयबहादुर शाहीको घर बगाउँदा पाँच जना बेपत्ता छन् ।  

तीन किलोमिटर माथिबाट आएको पहिरोले घर बगाउँदा जयबहादुरकी पत्नी र छोराछोरी बेपत्ता भएको डिएसपी आलियाले बताए । निरन्तरको वर्षाका कारण पहिरोमा बेपत्ता भएकाहरूको खोजीमा कठिनाइ भएको बताइएको छ । निरन्तरको वर्षाका कारण उक्त नगरपालिका र पचालझरना गाउँपालिका जोड्ने फुगाडखोला माथिको मोटरेवल पुल पनि बगाएको छ । कर्णाली करिडोर अन्र्तगत पर्ने फुगाड खोलाको मोटरेवल पुल बगाएको डिएसपी ओलियाले जानकारी दिए ।  

बाढीले बगाउँदा तीन जना घाइते  
अविरल वर्षातसंगै आएको बाढीले घर बगाउँदा एकै परिवारका तीन जना घाइते भएका छन् । बाढीले षडानन्द नगरपालिका–४, मुलपानी घर भई वडा नम्बर २, कुदाककाउलेको कुदामपछारमा बस्दै आएका अमृत घले, उनकी पत्नी अनिषा घले र १८ महिने छोरीलाई बगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी कृष्ण चन्दले जानकारी दिए ।  

मंगलबार बिहान करिब ६ बजेतिर स्थानीय चिर्खुवा खोलामा आएको बाढीले खोला नजिकै रहेको अमृत घलेको पसलसहित घर बगाएको थियो । बाढीले अमृतका पत्नी र छोरीलाई बगाएको प्रहरीको भनाइ छ । घाइते तीनै जनालाई उपचारका लागि दिङला ल्याइएको प्रहरीले जनाएको छ । निरन्तरको वर्षातले विभिन्न स्थानमा पहिरो खस्दा यातायात सेवा बन्द भएको छ । पहिरोले पौवादुङमा गाउँपालिका–२, तिवारीभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्गमा अवरोध पु¥याएको छ ।  
गणेश विशु/वीरेन्द्रनगर,हरिकृष्ण गौतम/म्याग्दी, पुष्पराज जोशी/कैलाली, नगेन्द्र उपाध्याय/सुर्खेत, मालाती मोक्तान/धनकुटा

प्रकाशित: १४ श्रावण २०७७ ०३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App