७ वैशाख २०८१ शुक्रबार
समाज

जब संक्रमित रिपोर्ट माग्दै महानगर पुगे...

प्रदेश र स्थानीय सरकारको लापरवाहीका कारण प्रदेश १ मा कोरोना संक्रमण समुदायसम्मै विस्तार भएको छ । प्रदेश राजधानी विराटनगरमा दिनहुँ संक्रमितको संख्या उकालो लाग्दै गर्दा संक्रमितहरु निष्फिक्री बजार डुलिरहेको समेत भेटिएको छ । अवस्था भयावह बन्दै गए पनि आफ्नो कमजोरी छोप्ने अनेक बहाना खोजिरहेका दुवै तहका सरकार 'समुदायसम्म संक्रमण विस्तार नभएको' झुटो दाबी गरेर समय कटाइरहेका छन् । यतिमात्रै होइन, आपसमा आरोप–प्रत्यारोपमा उत्रिएर विपदमा अकर्मण्य बनेको उदाहरण व्यवहारतः देखाइ पनि रहेका छन् ।

केही दिनयता संक्रमण दर ह्वात्तै बढेपछि सामाजिक विकास मन्त्रालयले मंगलबार सर्वपक्षीय छलफल आयोजना गरेको थियो । मन्त्री र सचिवहरुको समेत उपस्थिति रहेको कार्यक्रममा विराटनगर महानगरका स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले कडा भाषा मात्रै प्रयोग गरेनन्, सरकारलाई चुनौति नै दिए ।  'प्रदेश सरकारको कामप्रति मेरो आपत्ति छ', उनले भने, 'कोशी अस्पतालमा शुल्क लिएर (प्रदेशको पहलमा) पिसिआर जाँच शुरु भएछ । तर, त्यहाँ जँचाउने कोही पनि क्वारेन्टिनमा छैनन्, स्थानीय र प्रदेश सरकारको सम्पर्कमै छैनन् ।' यसले समुदायमा संक्रमण विस्तार गरेको आरोप लगाउँदै उनले सरकारले स्थानीय तहसँग समन्वय नगरेको बताउँदै थपे 'तपाइँलाई संक्रमण रहेछ, अस्पताल जानुस् भनेपछि मात्रै थाहा पाइरहेका छन् । यसलाई व्यवस्थित गरौं ।'

उद्योग संगठनको सभाहलमा उनले यसो भन्दै गर्दा त्यहाँबाट नजिकै रहेको महानगर कार्यालयमा भने एक जना कोरोना संक्रमित आफ्नो रिपोर्ट माग्न आइपुगेका थिए । विराटनगर महानगरपालिका–३ का ती   संक्रमित सोझै महानगरको स्वास्थ्य महाशाखा पुगे र सोधे 'मेरो रिपोर्ट आयो कि आएन होला हेरिदिनुस् न ?' कर्मचारीहरुले रिपोर्ट हेरे, उनलाई संक्रमण पुष्टि भएको थियो ।

महानगरका जनस्वास्थ्य निरीक्षक हैदर अलीका अनुसार रिपोर्ट खोज्दै कार्यालयमै आइपुगेका ती व्यक्ति क्वारेन्टिन बस्नै पर्ने प्रावधान मिचेर आएका थिए । उनले संक्रमितलाई र उनका प्रमुखले प्रदेश सरकारलाई दोष थोपर्ने प्रयास गरे पनि महानगरले लापरवाही गरेको यहाँ प्रष्ट हुन्छ । 'स्वाब लिएपछि क्वारेन्टिनमा बस्नै पर्ने हो', स्वास्थ्य निरीक्षक अलीले भने, 'यसले त ज्यादै जोखिम बढायो ।' स्वाब लिएपछि महानगरले उनलाई सुरक्षित रुपमा राख्नुपर्ने हुन्थ्यो । तर, स्वाब लिने, व्यवस्थापनमा ध्यान नदिने महानगरको शैलीले आतंक बढाएको छ । संक्रमित व्यक्ति महानगर कार्यालय आउँदा परिसरमा भीडभाड नै थियो । कर्मचारीले तत्कालै एम्बुलेन्स बोलाएर उनलाई अस्पताल पठाएका थिए ।

स्थानीय तहले यो हदको लापरबाही देखाइरहँदा प्रदेश सरकारको ताल पनि उस्तै छ । प्रदेश १ को राजधानी सहर विराटनगरमा केही दिनयता 'ट्राभल हिस्ट्री' नै नभएकाहरुलाई पनि धमाधम संक्रमण पुष्टि भइरहेको छ । प्रदेश १ का अन्य जिल्लाहरुमा पनि संक्रमित संख्या लगातार बढिरहेको छ । मंगलबार मात्रै प्रदेश १ मा २१ जना संक्रमित थपिएका छन् । जसमध्ये १७ जना मोरङका मात्रै छन् ।

तीन ठाउँबाट भइरहेको निशुल्क परीक्षणभन्दा बेग्लै कोशी अस्पतालमा शुल्क लिएर जाँच गर्न पाइने प्रबन्ध प्रदेशले गरेको छ । तर, त्यहाँ जाँच गर्न आउनेहरु न प्रदेशको सम्पर्कमा छन्, न महानगरको । 'यहाँ आउनेहरुका कारण पनि जोखिम उच्च भएको छ,' कोशी अस्पतालका एक चिकित्सकले भने, 'परिवारसहित स्वाब दिन आउँछन् अनि परिवारसहित घरतिर लाग्छन् । नेगेटिभ आए त ठीकै छ, पोजिटिभ रिपोर्ट आयो भने के हुन्छ अवस्था ?' उनका अनुसार केहीको रिपोर्ट पोजिटिभ पनि आएको छ । ती उपचारमा छन् कि कता छन् कुनै टुंगो छैन ।

विराटनगरमा अस्पताल र प्रहरी कार्यालयहरूमा कोरोनाको संक्रमण तीव्र भएको छ ।  विराटनगरको विराटनगर अपतालका डाक्टरमा कोरोना पुष्टि भएसंगै विराटनगर अस्पताल र कोसी अञ्चल अस्पतालमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीहरूमा कोरोना संक्रमण फैलिएको पत्ता लागेको थियो । विराटनगर अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरू नै कोसी अञ्चल अस्पतालमा पनि काम गर्ने भएकाले दुवै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोनाको संक्रमण फैलिएको हो । 

अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरूमा कोरोना संक्रमण फैलिएपछि उपचारका लागि आएका विरामीहरू पनि जोखिममा परेका छन् । अस्पतालमा उपचारका लागि आएका विरामीहरूका कारण कोरोनाको संक्रमण गाउँगाउँमा पुगेको आँकलन हुन थालेको छ । तर, समुदाय स्तरमै कोरोनाको परीक्षण गर्ने व्यवस्था भने अझैसम्म हुन सकेको छैन ।

प्रकाशित: १३ श्रावण २०७७ १३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App